रुपन्देही– बुटवल उपमहानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ। खोपको सुरक्षित भण्डार गर्दै उपमहानगरपालिकामा रहेका स्वास्थ केन्द्रमा वितरण गरिनेछ। यो केन्द्र सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा० मा राखिएको छ।
यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो। केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख शिवराज सुवेदीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्राइँ नगर्न आग्रह गरे। प्रमुख सुवेदीले खोप भण्डारण केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको बताए।
उपमहानगरमा रहेका ५ वटा नगर स्वास्थ केन्द्रमा रहेका स्वास्थकर्मीलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए।
अस्पतालका निर्देशक विनोद पराजुलीले खोप भण्डारण केन्द्रका लागि आवश्यक पर्ने सहयोग र सहकार्यका लागि आफूहरु तयार रहेको बताए।
केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मी खटिनेछन्। उनीहरुले त्यहीँबाट निःशुल्क औषधिबारे पनि पैरवी र सहयोगका काम गर्नेछन्। उनीहरुले सेवा प्रवाहबारे नगर प्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन्।
केन्द्रमा हाल दुई वटा खोप राख्ने फ्रिज जडान गरिएको छ भने अर्को फ्रिज ल्याउने तयारी भइरहेको छ। बुटवलमा हाल वर्षभरिमा ५ सय ५२ खोप सेसन सञ्चालन हुँदै आएका छन्। यस क्षेत्रमा बिसिजी खोप ११ हजार ४०, डिपिटी हेप वि हिव १२ हजार ३ सय ८०, एमआर ११ हजार ६ सय ७० तथा टिटी १० हजार ५० र जेई ३ हजार ५ सय ११ जनाले वार्षिक रुपमा लगाउने गरेका छन्।