अन्तर्वार्ता

बिपी प्रतिष्ठानलाई विवादमा ल्याउन गिरोह सक्रिय : उपकुलपति डा रौनियार


काठमाडौं–  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकरण, भवन, पठनपाठन, परीक्षा लगायतका विषयमा सधैंजसो विवाद आइरहन्छ। प्रतिष्ठानका विषयमा पछिल्लो समयमा आइरहेका विवाद, समस्या, प्रतिष्ठानका सम्भावना लगायतका विषयमा प्रतिष्ठानका डा राजकुमार रौनियारसँग स्वास्थ्य खबरपत्रिकाका कार्यकारी स‌म्पादक प्रवीण ढकालले गरेकोे कुराकानीः

प्रतिष्ठानमा कहिले आन्दोलन त कहिले विवाद भइनै रहन्छ? किन यस्तो अस्थिरता?

प्रतिष्ठानको विकासमा अवरोध गर्ने केही समूह छन्। उनीहरु प्रतिष्ठानको विकासभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न खोज्छन्। अनि केही यस्ता समूह पनि छन्, जो छिटो उपकुलपति हुन खोज्ने र काम गरिरहेकालाई हटाउने खेलमा लागिरहेका छन्। उनीहरु काठमाडौंमा बसेर नेताको घरमा पनि चाहरिरहेका छन्। उपकुलपति हुने खेलमा लाग्नेहरु अरुलाई बदनाम गराउने, चरित्र हत्या गर्ने, संस्थालाई धरासायी बनाउनेतिर लाग्दा प्रतिष्ठानमा सधैं केही न केही कुराको विवाद निक्लिने रहेछ।

अर्को कुरा, राजनीतिक अस्थिरतका कारण पनि समस्या पर्दै आइरहेको थियो। सरकार परिर्वनसँगै उपकुलपति फर्ने कुरा राम्रो पनि होइन। सानो समूहले यति ठूलो संस्थालाई अस्थिर र बदनाम गराइरहेका हुन्। अब सरकारले संस्थाको विकासका लागि सहयोग गर्नुपर्छ। 

प्रतिष्ठानले निर्माण गरिरहेका भवनको विवाद चाँहि के हो?

प्रतिष्ठानमा हामी आउनुभन्दा अघिदेखि नै भवन निर्माणको कम अगाडि बढेको थियो। ४ सय शय्या क्षमताको मातृशिशु अस्पताल, क्यान्सर र कार्डियाक भवनमा विवाद आइरहेको छ। कार्डियाक र क्यान्सर पनि २–२ सयका गरी ४ सय शय्याका हुन्। तत्कालीन उपकुलपति डा बलिभद्र दासले ती भवनहरु सिनेटबाट पास नै नगरी बनाउन लगाउनु भएको रहेछ। म आउँदा त भवन अढाई तले बनिसकेको थियो। 

सिनेटबाट पास नै नभई त्यत्रो लगानीको भवन बनाउनु पहिलेको व्यवस्थापकको त्रुटिपूर्ण काम हो। यो विषयमा विवाद आएपछि पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराले छानबिन समिति बनाउनु भएको थियो। सचिवको अध्यक्षतमा बनेको तीन सदस्यीय उक्त समितिले छानबिन प्रतिवेदन अहिलेसम्म बुझाएको छैन। छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ। अनि निर्माणको कामलाई पनि अगाडि बढाउनुपर्छ। 

एमआरआइको वषियमा पनि विवाद आइरहेको छ नि?

एमआरआई खरिदको निर्णय पूर्व उपकुलपतिको पालामै भएको थियो। त्यही अनुसार एमआरआई मेसिन ल्याउन पनि लागिएको हो। म उपकुलपति भएर आएपछि बिरामीको चाप र चिकित्सकको माग अनुसार अत्याधुनिक क्षमताको एमआरआई ल्याउन खोजिएको हो। अस्पतालमा धेरै पुरानो एमआरआई भएकाले त्यसलाई परिवर्तन गर्दा अत्याधुनिक ल्याउन खोजिएको छ। तत्कालीन उपकुलपति डा दासकै पालामा पनि १ दशमलव ५ टेस्लाको एमआरआई खरिद गर्ने टेन्डर भएको थियो। तर, त्यो टेन्डरमा अस्पतालको माग अनुसार नपरेपछि रद्द भयो। म उपकुलपति भएर आएपछि फेरि एमआरआई खरिद गर्न टेन्डर गरिएको हो। तर, हाल खरिद गर्न लागेको एमआरआई १ दशमलव ५ टेस्लाकै भए पनि त्यसमा धेरै फिचर छ। एउटै एमआरआईबाट धेरै जाँच गर्ने मेसिन पक्कै पनि साधारण भन्दा महँगो पर्न जान्छ। 

अस्पतालमा अस्थिरता चाहने र आधुनिक उपकरण भित्रन नदिने एउटा समूहले १ दशमलव ५ टेस्लाको एमअमरआई महँगोमा खरिद गर्न लागे भनेर गलत हल्ला फैलाए। उनीहरुले मिडियालाई पनि गलत सूचना दिएका छन्। 

अस्पताल आधुनिक हुनुपर्छ भन्ने मान्यता हो। हामीले निजी मेडिकल कलेज र अस्पतालहरुसँग प्रतिस्पर्धा गर्नु छ। अर्को कुरा, यहाँ पोस्ट ग्राजुएट अध्यापन हुने भएकाले आधुनिक उपकरण राख्दा आधुनिक शिक्षा पनि दिन सकिन्छ। हरेक खरिदमा अनियमितता भयो भन्ने नजरले मात्र हेर्दा अस्पतालमा आधुनिक उपकरण कसरी आउन सक्छ? त्यसैले हरेक विषयमा गहन अध्ययन गरी प्रतिक्रिया दिनु संस्था विकाशका लागि राम्रो मानिन्छ। आफूलाई टेन्डर परेन भने उजरी गर्ने, संस्था बदनाम गर्न खोज्ने समूह पनि नभएको होइन। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआईको विषय छानबिन गरिरहेका कारण यो विषयमा अहिलेलाई यति मात्र बोलुँ। छानबिनमा हाम्रो सहयोग छ र रहन्छ पनि।

तपाईं त कार्ययोजना प्रस्तुत गरेर उपकुलपति हुनुभएको हो। कार्ययोजना अनुसार अहिलेसम्म के–के काम गर्नुभयो त?

उपकुलपतिको जिम्मेवारी पाएको १ वर्षको अवधिमा प्रतिष्ठानमा सुधारका काम गरिरहेको छु। मेरो कार्ययोजना अनुसार नै विकास र विस्तारका काम अगाडि बढिरहेका हुन्। तर, काम गर्ने क्रममा खुट्टा तान्नेहरु धेरै रहेछन्। चुनौतीलाई चिर्दै काम अगाडि बढाइरहेको छु। 

प्रतिष्ठानको अस्पताल बिरामीको चाप अनुसार सानो छ। यहाँ हरेक दिन २५ सयदेखि ३ हजार बिरामी ओपिडीमा आउने गर्छन्। त्यसलाई पहिला सही रुपमा व्यवस्थापन गर्न सकिएको थिएन। त्यसको व्यवस्थापन निकै चुनौती पूर्ण नै छ। हामीले हेर्दा सानो लाग्ने तर सुधार देखिने गरी टोकन सिस्टम लागू गर्यौं। डिजिटल दर्ता प्रक्रियाले गर्दा बिरामीले सहज रुपमा सेवा पाउन सकिरहेका छन्।

आकस्मिक कक्षमा अत्यधिक चाप छ। बिरामीलाई अन्य विभागमा ‘ट्रान्सफर’ गर्न सकिएको थिएन। हामी आएपछि हाडजोर्नीका लागि छुट्टै २० शय्याको अर्थो इमरजेन्सी  बनायौं। यसले आकस्मिक कक्षको चापमा धेरै सुधार गर्यो। अर्को कुरा, आकस्मिक कक्षमा बिरामीका आफन्तको भिड हुन्थ्यो। उनीहरुका लागि आकस्मिक कक्षबाहिर छुट्टै बस्ने ठाउँ र शौचालयको व्यवस्था पनि गरियो। त्यसले निकै सहज बनाइदिएको छ।

हामीसँग जम्मा २० आइसियू छन्। बिरामीले आइसियू पाउनु भनेको चिट्ठा परेजस्तै हो। त्यसलाई समाधान गर्न आन्तरिक स्रोतबाट १० वटा आइसियू थप्ने काम अगाडि बढेको छ। यस्तै, १० बेडको डायलाइसिस पनि थप्न लागेका छौं। स्वास्थ्य जाँचका लागि बेसिक र एड्भान्स हेल्थ चेकअप प्याकेज पनि सुरु भएको छ। एउटै कोठामा बसेर चेक गर्न सकिन्छ। 

बिजुलीको बिलमा अस्पताललाई ठूलो आर्थिक क्षति भइरहेको थियो। प्रति युनिट २३ रुपैयाँ तिर्नुपरेको थियो। त्यसले संस्थालाई ठूलो घाटा भइरहेको थियो। हामीले सरकारसँग आग्रह गरेर त्यसलाई ११ रुपैयाँमा झरेका छौं। यसले आर्थिक भार कम गरेको छ। 

प्रतिष्ठानको परीक्षामा पनि सुधार गर्न सकिएको छ। विगतमा परीक्षाका विषयमा निकै गुनासा आउने गरेका थिए। परीक्षामा धाँधली भयो भनिन्थ्यो। तर, हामीले अहिले परीक्षालाई व्यवस्थित गरेका छौं। परीक्षामा गुनासो आउने ठाउँ दिएका छैनौं। यो हाम्रो टिमको सफलता हो। तर, हामीसँग भवन नभएका कारण सेवा विस्तारमा भने समस्या छ।

अस्पताल विस्तारको काम के–के हुँदै छ?

मातृशिशु, क्यान्सर र कार्डियाक भवन निर्माणको विवाद समाधान भएर काम अगाडि बढ्ने हो भने धेरै कुरा विस्तार गर्न सहज हुन्थ्यो। बिरामीको चाप अनुसार अस्पतालको क्षमता विस्तार नगरी हुँदैन। त्यसकारण सरकारले भवनको विवादलाई तत्कालै सल्टाउनुपर्ने देखिन्छ। दोषीलाई कारबाही गर्दै विकास निर्माणको बाटो खोलिदिनुपर्छ। 

सिमित क्षेत्रमा पनि हामीले बिरामीलाई गुणस्तरीय सेवा दिनका लागि नयाँ इआरसिपी, इन्डोस्कोपी, कोलोनोस्कोपीको उपकरण ल्याएर सेवा दिइरहेका छौं। यो २५ वर्षे पुरानो अस्पताल हो। यसलाई सरकारको ठूलो सहयोग चाहिन्छ। 

यहाँको सेन्ट्रल अक्सिजन प्लान्ट नै परिवर्तन गर्नुपर्ने देखिएको छ। १८–२० वर्ष पुराना डेन्टल चेयर तथा अन्य उपकरण फेर्नुपर्नेछ। हामीसँग लिमिटेड स्रोत छ। तर, सुधार पनि आवश्यक छ। हामीले स्वास्थ्य मन्त्रालयलाई सुधारका लागि आवश्यक पर्ने कुरा र बजेटसहितको प्रस्ताव पठाएका छौं। स्वास्थ्यले १ अर्ब २१ करोडको उपकरण बिपी प्रतिष्ठानमा चाहिने भनेर अर्थ मन्त्रालयमा पनि पठाइसकेको छ। अर्थमा पुगेर पनि हामी भनिरहेका छौं। पूर्वाञ्चलको आस्थाको केन्द्र हो, बिपी प्रतिष्ठान। हिमालदेखि तराईसम्मका बिरामीको चाप हुने गर्छ। त्यो चाप खेप्न विस्तार नै प्रमुख उपाय हो। 

नयाँ भवन बन्नुअघि बिरामीलाई कसरी सहज सेवा दिने त?

बिरामीको सन्तुष्टिलाई नै केन्द्रमा राखेर काम भइरहेको छ। बिरामीको चापलाई मध्यनजर गरेर नै हामीले ओपिडीको समय बिहान ८ देखि बेलुका ५ बजेसम्म पुर्याएका छौं। पेइङलाई व्यवस्थित बनाएका छौं। बिहान उपचारका लागि आएका बिरामीले त्यही दिन ल्याब रिपोर्ट पाउने र दिउँसो २ बजेपछि आएकाले भोलिपल्ट पाउने व्यवस्था सुरु गर्न लागेका छौं। यसो हुँदा टाढाबाट आएका बिरामी सोही दिन रिपोर्ट देखाएर घर फर्कन सक्नेछन्।

हामीसँग अहिले ७ सय ७० शय्या मात्र छ। बिरामीको चाप धेरै भएकाले उनीहरुलाई सिटी क्लिनिकमा सेवा दिन धरानकै छाता चोकमा रहेको जग्गा र भवन सरकारको सहयोगमा हाम्रो नाममा आइसकेको छ। अब त्यहाँ ओपिडी, ल्याब लगायतका आकस्मिक अवस्थाका सेवा दिन सकिन्छ। त्यहाँ दैनिक ५–६ सय बिरामी रोक्न सकियो भने प्रतिष्ठानमा जटिल र गहन उपचार सेवालाई थप विस्तार गर्न सकिन्छ। 

तपाईंको कार्यकालमा प्रतिष्ठानमा के–के गर्ने योजना छ?

यो प्रतिष्ठान पूर्वाञ्चलका सबै जिल्ला र प्रदेश १ कै गहना हो। यहाँका जनताको भरोसाको केन्द्र भएका कारण यो प्रतिष्ठानको अस्पताललाई सुपरस्पेसियालिटी अस्पतालका रुपमा विकास गर्नुपर्छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि पनि बढाइएको छ। केही विभाग थप्दै सेवा विस्तार हुँदैछ। यसका लागि हामीलाई अन्ततः सरकारकै सहयोग चाहिन्छ। यो अस्पताललाई कम्पिल्ट र जिरो रेफर अस्पतालका रुपमा विकास गर्ने मेरो योजना हो। उपचारका लागि प्रतिष्ठानमा आएका कोही पनि बिरामी सेवा छैन भनेर फर्कनु हुँदैन। उपचार नपाई बिरामी फर्कने अवस्थाको अन्त्य गर्नेगरी नै काम अगाडि बढाएको छु।

साथै, यो ड्रिम्ड युनिभर्सिटी भएका कारण यसलाई पूर्णकालीन विश्वविद्यालय बनाउनुपर्छ। प्रदेश १ को सेन्टर अफ एस्किलेन्स बनाउनुपर्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने