विश्व स्वास्थ्य

पार्किन्सन्सबाट पीडित अमेरिकी पूर्वराष्ट्रपति बुसको स्वास्थ्यमा सुधार


वासिङटन– आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी परेका छन्।

रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा परेका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ। 

सचिवालयद्वारा जारी वक्तव्यका अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको थियो।

पूर्वराष्ट्रपति बुसलाई हातखुट्टा काँप्ने रोग (पार्किन्सन्स)ले सताएको छ। उनलाई बेला–बेलामा निमोनिया पनि हुनेगरेको थियो। 

'अहिले उहाँको उपचारको प्रतिफल सकारात्मक देखिएको र स्वास्थ्यमा सुधार भएको छ,' अधिकारीले भनेका छन् । 

उनकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिबार अन्त्येष्टि गरिएको थियो। उनको गत मंगलबार ९२ वर्षको उमेरमा निधन भएको थियो। 

उनको अन्तिम बिदाइ समारोहमा ४ जना पूर्वराष्ट्रपति सहभागी भएका थिए। बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उनका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुन्।

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उनका छोरा जर्ज डब्लु बुस २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए।

बारबाराको निधनपछि उनका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताएका थिए। अन्त्येष्टिमा हजारौँको सहभागीता थियो। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने