डक्टर्स आर्टिकल

‘आयातित औलो’ नेपालका लागि नयाँ चुनौती

 डा शेरबहादुर पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

गत वर्ष, ठिक यसै समयतिर एक ३० वर्षीय युवा अस्पतालमा आफूलाई लागेको औलोको उपचार बारेमा जानकारी लिन आइपुगेको थिए। त्यो युवक केहि समय अगाडी अफ्रिकी महादेशको कंगो देशमा रोजगारको लागि गएका थिए।

उसको भनाइअनुसार रोजगारीको सिलसिलामा त्यहाँ जाँदा उसलाई कडा खालको औलो लागेको थियो। कडा खालको ‘पलाज्मोडियम फालसीफारम’ प्रकारको औलोले संक्रमण गरेको र त्यहिअनुसार उनको उपचार भैसकेको थियो। औषधी उपचार सकेपनि पूर्णरुपमा निको भए–नभएको निश्चित गर्न ती व्यक्ति शुक्रराज ट्रोपिकल सरुवा रोग अस्पताल आइपुगेका थिए।

त्यस्तै मलेसियाबाट पनि औलोका बिरामी कहिलेकाँही आउने गरेका छन्। छिमेकी देश भारतबाट त झन् खुल्ला सिमानाको कारणले धेरै दाजुभाइहरु औलो संक्रमित भएर नेपाल फर्कने गरेको पाउँदछौ। 

हालसम्म आयातित औलोको सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ। त्यसैले हामीले आयातित औलो भन्ने बितिकै भारतबाट भएको हुनेसक्ने अड्कलबाजी पनि गर्दछौं र त्यो स्वाभाविक पनि मानिन्छ। तर अब परिस्थिति त्यस्तो रहेन। नेपाली युवाहरुको रोजगारको गन्तव्य नयाँ–नयाँ स्थान हुँदैगर्दा औलो संक्रमितहरु आउने देशहरुको संख्या पनि बढ्दै गएको पाइन्छ।

चुनौति किन?

झट्ट हेर्दा खासै समस्या जस्तो नदेखिएता पनि विभिन्न स्थान विशेषमा भिन्न प्रकृतिका औलोहरु देखिने गर्दछन्। अझ प्रष्ट भन्नु पर्दा ठाउँ विशेष अनुसारको औलोले हाल उपलब्ध ‘एन्टीमलेरिअल औषधी’ विरुद्ध फरक प्रतिक्रियाहरु देखाउने गरेको अनुसन्धानहरुबाट खुलेको छ। 

जस्तै अफ्रिकी महादेशका धेरै जसो देशहरुमा बढी प्रचलनमा हुने ‘क्लोरोकुइन’ नामक औषधिलाई त्यहाँको औलोले पचाइसकेको अनुसन्धानका नातिजाहरुले देखाउँदछ तर नेपालमा हाल पनि यो औषधी व्यापक रुपमा खासगरी ‘पलाज्मोडियम भाइबेक्स’ विरुद्ध प्रयोग गर्ने गरिन्छ। अफ्रिकी औलोलाई नेपालमा प्रयोग हुने ‘क्लोरोकुइन’ नामक औषधी प्रभावहिन हुन सक्दछ। हाल नेपाली युवाहरु अफ्रिकी महादेशका देशहरुलाई नयाँ रोजगारका गन्तव्य बनाइरहेको अवस्थामा र यसबारे नेपालका स्वास्थकर्मीहरुलाई न्यून जानकारी हुनु सहि र प्रभावकारी उपचारको लागि नयाँ चुनौति मान्न सकिन्छ। 

दैनिकजसो ‘यल्लो फिभर’ खोप लगाइ अफ्रीका जाने उनीहरुको भनाइले पनि अफ्रिकी मलेरिया नेपाल प्रवेश गर्नसक्ने प्रबल र बलियो आधार देखिन्छ। त्यस्तै केहि समय अगाडी मात्र बिबिसीले कडा खालको औलोको प्रजाति ‘पलाज्मोडियम फालसीफारम’ विरुद्ध नेपालमा प्रयोग हुने ‘कोर्टिम’ नामक औषधी प्रभावहिन भएको अक्सफोर्ड विश्वविद्यालयको ‘ल्यान्सेट इन्फेकसियास जर्नल’मा प्रकाशित अनुसन्धानको नतिजालाई उदृत गर्दै प्रशारण गरेको थियो जसले विश्वमा ठुलो तरंग नै फैलिएको थियो। 

किनभने यो औषधी हाल विश्वमा व्यापक प्रयोग भैरहेको र हाल सबैभन्दा भरपर्दो औषधीको रुपमा लिने गरिएको थियो र छ पनि। यस्तो खालको औलो हाम्रै महादेशको दक्षिणपूर्वी एशियाली देशहरुमा देखिएको थियो। यी देशहरु मध्य लाखौं नेपालीहरु रोजगारीको अवसर खोज्दै मलेसियामा पुग्ने गरेका छन्। तसर्थ उनीहरु औषधी पचाउने त्यस्ता शक्तिशाली औलोका उच्च जोखिममा पर्ने पर्दछन्। यसलाई ‘सुपर मलेरिया’ को नामले पनि चिन्ने गरिन्छ।

के गर्नुपर्ला?

नेपालमा हाल आयातित मात्र भनेर औलोको तथ्यांक राख्ने र प्रकाशित गर्ने गरेको भएता पनि कुन–कुन गन्तव्यहरुबाट औलो भित्रिरहेको छ भनेर पनि जानकारी उपलब्ध हुनु जरुरी देखिन्छ।

संख्या मात्र होइन, यस्ता विदेशी औलो नेपालमा प्रचलनमा आहिरहेकोमा औषधीले कति प्रभावकारी रुपमा काम गरिरहेको छ भनेर चिकित्साकर्मीहरुलाई पनि जानकारी गराउन जरुरी हुन्छ। र यस्ता जानकारी नेपाल सरकारले वार्षिक स्वस्थ प्रतिवेदनमा उल्लेख गर्दा उपचारमा अझै सहजता आउन सक्दछ। 

वास्तवमा भन्नुपर्दा नेपाल सरकारले विदेशी आयातित औलोको लागि देश वा क्षेत्रको आधारमा एउटा छुट्टै उपचार निर्देशिका विकाश गर्न जरुरी देखिन्छ। यसबाट बिरामी लाभान्वित हुनेछन् भने चिकित्सकहरुलाई उपचार गर्न सहज हुनेछ।

अन्त्यमा,
‘विश्व औलो दिवस’ २०१८ मनाउँदै गर्दा नेपाल सरकारले सन् २०२५ सम्ममा औलोविहिन नेपालको परिकल्पना गरेको छ र औलो उल्मूलनतर्फ धेरै हदसम्म सफलताहरु पनि पाउँदै आइरहेको छ। तर आयातित औलो, यो लक्ष्यको लागि प्रमुख बाधक बन्नसक्ने प्रवल सम्भावना देखिन्छ। 

त्यस्तै औलोको जोखिम तराईबाट पहाडतिर सर्दै जानु पनि अर्को चुनौती हो। तर यसको लागि सम्बन्धित निकायले विश्व स्वास्थ्य सङ्गठनको सहायतामा छुट्टै उपचार निर्देशिका बनाउन जरुरी देखिन्छ र हुनु पनि पर्छ। यसको लागि हाल बनाइएका योजनाहरुलाई पनि समय सान्दर्भिक परिस्कृत गर्दै लगे सन् २०२५ सम्ममा औलोविहिन नेपालको परिकल्पना वास्तवमै साकार हुनसक्दछ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने