भैरहवा– रुपन्देहीमा औलो (मलेरिया) स्थानीय भन्दा पनि आयातित रोगीबाट बढी सर्ने गरेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भैरहवाले सार्वजनिक गरेको तथ्यांक अनुसार स्थानीयभन्दा भारतबाट आउने बिरामीले नेपालमा बढी मात्रामा औलो सार्ने गरेको पाइएको छ।
कार्यालयका फोकल पर्सन केदारनाथ साहका अनुसार गत आर्थिक वर्षमा रुपन्देहीमा देखिएका ६६ जना औलोका बिरामीमध्ये ३४ जना आयातित बिरामी थिए भने स्थानीय बिरामी ३२ मात्र थिए।
नोपल–भारतबीचको खुला सीमानाका, बिना कुनै रोकटोक आवातजावत तथा परीक्षणको उचित प्रवन्ध नहुदाँ आयातित बिरामीको संख्या बढ्दो क्रममा रहेको साहले बताए। भारतका विभिन्न स्थानमा काम गर्ने कामदार, पर्वहरु मनाउन नेपाल फर्किने नेपाली तथा नेपाल आउने अन्य व्यक्तिले आफुसँगै औलोको परजीवी लिएर आउने गरेका कारण नोपलीमा यो रोग सर्ने गरेको साहको भनाइ छ।
विशेष गरी १ महिनासम्म कहीँ कतै नगई नेपालमै बसेको औलोको बिरामीलाई स्थानीय बिरामीका रुपमा लिएको साहले जानकारी दिए। आयातित बिरामीको संख्या बढ्दो रहे पनि रुपन्देहीमा भने औलो रोग घट्दो क्रममा रहेको साहले जनाए। रुपन्देहीमा आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ९ जना औलो रोगका बिरामी फेला परेकोमा आर्थिक वर्ष २०७३÷०७४ मा ६६ जनामा यो रोग पाइएको थियो।
चालू आर्थिक वर्षमा भने यो संख्या ४५ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। नेपालमा बर्सेनि करिब १ हजार जति प्रयोगशालाबाट प्रमाणित औलो बिरामी पत्ता लाग्ने गरेको छ।
औलोबाट विशेषगरी गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन्। औलो रोकथामका लागि सरकारले निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गरेको छ।
अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाइँदै आएको छ। स्वास्थ्य मन्त्रालयले यस वर्ष ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी नेपालमा पनि विश्वऔलो दिवस मनाइरहेको। 11 संगठनले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो।
औलो दिवसका अवसरमा रुपन्देहीका सबै स्थानीय तह तथा कलेजको सहकार्यमा जिल्ला जनस्वाथ्य कार्यालयले औलो सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।