जुम्ला- तिला गाउँपालिका सदस्य बाटु बुढा स्वास्थ्य बिमाबारे जानकार थिइनन्। गाउँघरमा स्वास्थ्य बिमाको सामान्य चर्चा सुन्ने गरेकी उनलाई यसबारे जान्ने उत्सुकता थियो। 'तपाईंको स्वास्थ्य हाम्रो अठोट' मान्यताका साथ जनप्रतिनिधिका लागि स्वास्थ्य बिमा कक्ष सञ्चालन भएपछि मात्र उनले उनी स्पष्ट भइन्।
'बिमा गरे स्वास्थ्य सेवा सुरक्षित हुने रहेछ,' उनले भनिन्, 'स्वास्थ्य बिमा गराउन म आम मतदातालाई सघाउँछु।'
स्वास्थ्य शाखा तिला गाउँपालिकाले जनप्रतिनिधिलाई भेला गराएर स्वास्थ्य बिमाबारे सहजीकरण गरेपछि सबै प्रकारका अन्योल हटेको छ। तर बिमा गरेका परिवारका सदस्य उपचारका लागि आफूले रोजेको प्रथम बिन्दुको स्वास्थ्य संस्थामा पुग्दा औषधि नहुने गरेको पाइएको गुनासो आएको थियो। जिल्लामा स्वास्थ्य बिमा गर्नेको लहर चलेको छ, तर बिमा कार्यक्रमले तोकेको औषधि उपलब्ध नहुँदा खरिद गरेको औषधि प्रयोग गर्नुपरेको जनप्रतिनिधिहरुले बताए।
उनीहरुले बिमा गरेको परिवारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सबै प्रकारका औषधिको प्रबन्ध मिलाउन माग गरेका छन्। स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य, सहभागिताका लागि दर्ता प्रक्रिया, सदस्यता दर्ता र सेवा सुरु हुने समय, कार्यक्रमको सुविधा योजना सम्बन्धी व्यवस्था, बिमाले उपलब्ध नभएका सेवासुविधा, स्वास्थ्य सेवाको उपभोग, प्रेषणको व्यवस्था र सोधपुछ तथा गुनासोको व्यवस्था लगायताका विषयमा सहजीकरण गरिएको थियो।
स्वास्थ्य बिमाको तरिका र फाइदा
कुनै पनि परिवार कार्यक्रमको सदस्य बन्न चाहेमा ५ जना सम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति थप सदस्यको ४ सय २५ रुपैयाँ तिर्नुपर्छ। बिमा गरेपछि कस्मेटिक सर्जरी, सहायक यन्त्रहरु, ५ सयभन्दा बढी मूल्यका चस्मा, दाँत उपचारका सेवाहरु, कृत्रिम गर्भाधानका सेवा, व्यक्तिगत झैझगडाका कारण चोटकपटक लागि उपचार सेवा, मादक वा लागुपदार्थ सेवनका कारणवाट भएको दुर्घटना सम्बन्धी उपचार र गर्भपतनका सेवासुविधा उपलब्ध गराइँदैन।
बिमा गरेबापत कार्ड उपलब्ध गराइन्छ। बिमा गर्न प्रत्येक वार्डमा दर्ता सहयोगी राखिएका छन्।
बिमा गरेपछि १ हजार १ सय १८ प्रकारको औषधि नि:शुल्क पाइन्छ।
प्राप्त सेवालाई बढाउदै लैजानु, स्वास्थ्य सेवा पाउन पहुँच वृद्धि गर्न र खर्च कम गर्न सघाउ पुर्याउनको लागि स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ।
दर्ता सहयोगीलाई सम्पर्क गरेर स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्न बिमा कार्यक्रम संयोजक प्रेम भण्डारीले जानकारी दिए। उनले भने, 'स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन सहयोग गरेको छ। यो अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन सबैको हातेमालो आवश्यक छ।'
कर्णालीमा प्रभावकारी बन्दै
कर्णालीका ४ वटा जिल्लामा यो कार्यक्रम सुरु भइसकेको छ। साबिकको कर्णालीमा ३५ हजार ६ सय ४३ जनाले स्वास्थ्य बिमा गरेकोमा तिला गाउँपालिकाका १ सय ८५ घरधुरीका ९ सय १८ जनाले स्वास्थ्य बिमा गरेका छन्। जुम्लामा २०५३ जनाले बिमा गरेकोमा ५४ लाख ६० हजार ४ सय २५ रुपैयाँ संकलन भइसकेको छ।
तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले स्वास्थ्य बिमा कार्यक्रमलाई पहुँचविहीन वर्गसम्म पुर्याउन सुझाव दिइन्। 'बिमाले तोकेको सेवासुविधा जुम्लामै पाउनुपर्ने व्यवस्थाका लागि सबैको पहल आवश्यक छ,' उनले भनिन्। तिला गाउँपालिकामा ९ वटा वार्ड छन्।