डक्टर्स आर्टिकल

औलोको जोखिम, लक्षण र रोकथामका उपाय


काठमाडौं-

औलो अर्थात् मलेरियो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।

प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ।

औलो रोगका लक्षण 

औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।

निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ।

नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन्। विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन्। अफ्रिकन देशहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ।

नेपालमा औलोका बिरामी

नेपालमा औलोको उच्च जोखिम भएका १२ जिल्ला छन्। त्यहाँका मानिस औलोको जाखिममा रहेका छन्।

२०७३/७४ को तथ्यांक हेर्ने हो भने १ हजार १ सय २८ जना मलेरिया संक्रमित बिरामी भेटिएका छन्। त्यसमध्ये आयातित (विदेशबाट औलो लिएर आउने मानिसबाट सर्ने) ६ सय ३६ जना छन् भने स्थानीय ४ सय ९२ जना छन्। आर्थिक वर्ष २०७२/७३ को तथ्याकं हेन्र्ने हो भने आयातित ४ सय ८५ र स्थानीय ५ सय ६ संक्रमित भेटिएको थियो।

औलोको रोकथाम र उपचार

खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन्। ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरेका छौं। 

शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परीक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।

औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ। परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुनेगर्छ। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ।

औषधि निष्प्रभावि बन्दै जानु पनि औलो रोग नियन्त्रणमा समस्याको विषय हो। यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ। विशेषज्ञहरु अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन। 

हिमाली क्षेत्रमा पनि औलो

जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन्। जसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना छ।

तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा समेत जान थाले र त्यहाँ फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेको पाइन्छ। 

औलोबाट बच्ने उपाय

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।

राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।

घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ।

कहिले बन्छ औलोमुक्त नेपाल?

सन् १९५४ देखि औलो निवारणका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्। योभन्दा पहिले औलो भएका बिरामीलाई उपचारमा पहुँच थिएन। यो रोग लागेपछि जटिलता उत्पन्न भएर मान्छेको मृत्यु हुन्थ्यो। नेपाल सरकारले औलो नियन्त्रणको प्रयास थालेदेखि क्रमशः बर्सेनि यो रोग कम हुँदै अहिले धेरै कम भइसकेको छ। नेपालका जुन भागमा औलो पाइन्छन् त्यो भागमा शून्य औलो बनाउने लक्ष्य लिएका छौं।

सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने योजना छ। यसका लागि विभिन्न रणनीति बनाएका छौं। त्यहीँ अनुसार काम पनि गर्दैछौं। 

२५ अप्रिललाई विश्व औलो दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिँदैछ। यस वर्ष ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नाराका साथ औलो नियन्त्रणको अभियान चलिरहको छ।

औलोबारे प्रमुख सन्देश 

– औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ।

– काम ज्वरो आउनु औलो रोगको मुख्य लक्षण हो। 

– स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार निःशुल्क हुन्छ।

– परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ। 

– लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय हो, त्यसैले सुत्दा झुलभित्र सुत्नुपर्छ।

– घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गर्नुपर्छ। 

(डा सेञ्चुरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक हुन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने