रुपन्देही– बुटवलमा सञ्चालित नेशनल प्याथल्याव ‘ए लेवल’मा सुचिकृत भएको छ। नेशनल प्याथल्यावलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ‘ए लेवल’को प्रमाणपत्र प्रदान गरेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौंसहित बिरगञ्ज, पोखरा र बुटवलका ७ वटा ल्यावलाई ‘ए लेवल’को प्रमाणपत्र प्रदान गरेको छ। जसअन्तर्गत प्रदेश ५ मा नेशनल प्याथल्याव मात्रै ‘ए लेवल’मा सूचिकृत भएको हो।
नेशनल प्याथल्यावले विभिन्न क्यानसर, भाइरस, सर्ने तथा नसर्ने रोगहरुको भरपर्दो प्रविधिबाट ल्याव परिक्षण गरि विशिष्ट सेवा प्रदान गर्दै आएको ल्यावका अध्यक्ष रुद्रबहादुर कार्कीले जानकारी दिए। ‘ए लेवल’को प्रयोगशाला (ल्याव)मा हेमाटोलोजी, बायोकेमिष्ट्री, इन्डोक्राईनोलोजी, हिष्टोप्याथोलोजी, इम्युनोलोजी, क्लिनिकल प्याथोलोजी र मोलिकुलर गरी कम्तिमा ६ वटा विभाग हुनुपर्दछ।
त्यस्तै ल्यावमा सोधपुछ कक्ष, दर्ता, विलिङ, नमुना संकलन, क्वालिटी कन्ट्रोल, बैठक कक्ष, लाईब्रेरी तथा प्रयोगशाला प्रमुखको छुट्टै कक्ष हुनुपर्दछ। त्यसैका आधारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेशनल प्याथल्यावलाई ‘ए लेवल’को प्रमाणपत्र प्रदान गरेको सञ्चालक प्रमुख पवन जोशीले बताए।
यससँगै नेशनल प्याथल्यावले अब पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परिक्षणको समेत व्यबस्था गरेको छ। अहिलेसम्म पिसीआर सम्बन्धि परिक्षण गर्नका लागि बाहिर जानुपर्ने बाध्यता भएको र अति विशिष्ट सेवा अन्तर्गत पिसीआर सेवा सुरु गरेको ल्यावका सञ्चालक शरद भुसालले बताए।
५ वर्ष अगाडि बुटवलमा स्थापना भएको नेशनल प्याथल्यावले नेपालमै सम्भव भएका जाँचहरु स्थापनाकालदेखि नै गर्दै आएको र हाल भैरहवा, गुल्मी, अर्घाखाँची, दाङ र धनगढीबाट समेत सेवा दिइरहेको सञ्चालक भुसालले बताए। भुसालले रुपन्देहीका पत्रकारलाई एक महिनासम्म विभिन्न जाँचमा छुट दिने समेत निर्णय गरिएको जानकारी दिए।