भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेल भ्रष्टाचारी ठहर भएका छन्।
भूर्तेलले अस्पतालको मेसु रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर विशेष अदालतले बुधबार गरेको हो। विशेषले डा भूर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार ९ सय ५ रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने फैसला समेत सुनाएको छ।
विशेषले पदमा रहँदा भूर्तेलले आर्जन गरेको सम्पत्तिमध्ये ३४ लाखको स्रोत खुल्न नसकेको भन्दै फैसला सुनाएको हो। भूर्तेलको उक्त बिगो सम्पत्तिबाट भराउन पनि फैसला भनिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूर्तेल विरुद्ध २०७२ फागुन ११ मा विशेषमा मुद्दा दायर गरेको थियो।
भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई व्यक्तिगत फाइदा लिँदै अस्पताललाई नोक्सानी गराएको, आफ्नो सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अपरेसनमा गैरकानुनीरुपमा रकम असुल गरेको अख्तियारको आरोप थियो।
अख्तियारले भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा भूर्तेल विरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। तर, विशेषले करिब ३४ लाखको मात्र स्रोत पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ।
अख्तियारले डा भूर्तेलकी श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल-अचल सम्पत्ति रहेको पाइएको भन्दै श्रीमतीलाई समेत विपक्षी बनाएको थियो। विशेषले श्रीमतीलाई भने सफाइ दिएको छ।
यस्तो छ अख्तियारको आरोपपत्र :
भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हुँदा डा. केशवराज भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई आफूलाई गैरकानुनीरुपमा फाइदा र अस्पताललाई हानी नोक्सानी गराएको, आफ्नो शेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अप्रेशनमा गैरकानुनीरुपमा रकम असुल गरेको लगायतका कार्य गरी अकुत सम्पत्ति आर्जन गरी उक्त अवधिमा भरतपुर-११ मा बंगला, चितवन मेडिकल कलेजमा ६७ लाख रुपैयाँको सेयर, काठमाडौंको कलंकीमा बंगला, नवलपरासीको गैडाकोट र रजहर एवं चितवनका बिभिन्न ठाउँमा समेत चल अचल सम्पत्ति जोडेकोले निज उपर कारबाही गरिपाऊँ भन्ने उजुरी अनुसन्धानका क्रममा निज डा केशवराज भूर्तेलले भरतपुर अस्पताल, चितवन समेतका विभिन्न सरकारी अस्पतालमा कार्यरत रही सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानुनीरुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले जम्मा बिगो रू. २ करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ कायम गरी सोही ऐनको दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुन साथै भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पति निज डा केशवराज भूर्तेलको श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल अचल सम्पत्तिहरु राखेको देखिएकोले निज रुक्मणी भूर्तेललाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।