विचार/ब्लग

एलपिआरफबाट यति राम्रो नतिजा आउँछ भन्ने सोचेका पनि थिएनौं

 डा इन्द्रबहादुर नापित

हाम्रो अस्पतालमा एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन) विधिबाट उपचार सुरु गराउने श्रेय डा सुशील कोइरालालाई जान्छ। उहाँलाई विगतमा मैले चिनेको पनि थिइनँ।

वीर अस्पतालमा भेट हुँदा उहाँहरुले जटिल घाउको उपचार गर्न सक्ने यो विधिका विषयमा ‘प्रेजेन्टेसन’ दिनु भएको थियो।त्यहाँ मधुमेहका बिरामीको जटिल घाउ सहज रुपमा उपचार गरिएको बारे जानकारी दिइएको थियो। हाम्रो अस्पतालमा कुष्ठरोगका बिरामीमा दीर्घ घाउको समस्या मैले दैनिक देखिरहेको थिएँ।

मधुमेह र कुष्ठरोगका बिरामीमा हुने घाउको प्रकृति लगभग उस्तै हो। त्यसपछि डा कोइरालालाई आनन्दवनमा पनि यो विधि सुरु गर्न आग्रह गरें। कुराकानी भएको तीन महिनापछि डा कोइराला मेसिन बोकेर अस्पताल आउनु भयो। उहाँले तालिम पनि दिनुभयो। उपचार सुरु भयो। एलपिआरएफ उपचार सेवा गत जनवरी ७ बाट सुरु भएको हो।

पहिलो बिरामीमा एलपिआरएफ राखियो। त्यसको एक हप्ता घाउ निकै गह्नायो। सबै जना डराए। बिरामीको खुट्टै काट्नुपर्ने हुन्छ भन्ने हल्ला चलेछ। डा कोइरालाले सुरुमा केही गह्नाउँछ डराउनु पर्दैन त भन्नुभएको थियो। तर, हामी पनि डराएका थियौं। एक हप्तापछि पट्टी खोल्दा त घाउमा अपत्यारिलो ढंगले सुधार आएको थियो। त्यसपछि घाउ भएका बिरामीले यही विधिबाट उपचार गर्न भन्दै आएका छन्।

विगतमा यस्ता घाउ पुर्न शरीरका अन्य स्थानबाट छाला निकालेर लगाइन्थ्यो। त्यसो गर्दा घाउमा कालो दाग बस्ने, घाउ भएको स्थानमा खाल्डाखुल्डी हुने, सतह नमिल्ने, जस्ता समस्या आउँथे। तर, यसमा त दाग पनि नबस्ने, सतह पनि घाउ हुनुभन्दा पहिला जस्तो थियो त्यस्तै हुने रहेछ।

हामीलाई पनि यति राम्रो नतिजा आउँछ भन्ने विश्वास थिएन। कुष्ठरोगका बिरामीका घाउमा गरिएको यो उपचार विधिलाई हामीले अनुसन्धानका रुपमा अगाडि बढाएका छौं। यसलाई अन्तर्राष्ट्रिय रुपमा समेत लैजानेगरी काम भइरहेको छ।

-(डा नापित आनन्दवन अस्पतालका निर्देशक हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने