डक्टर्स आर्टिकल

पत्थरी हुने समस्या र खानामा अपनाउनुपर्ने सतर्कता

 डा जया प्रधान

महिलामा भन्दा पुरुषमा मिर्गौला तथा पित्तशयको समस्या बढी देखिन्छ । मौसम,  पिसाबनलीमा हुने संक्रमण, वंशाणुगतजस्ता कारणले यो समस्या निम्तिने भए पनि खानपानले समेत ठूलो प्रभाव पारेको हुन्छ । घाममा बढी समय काम गर्दा पसिना निस्कने हुन्छ । साथै गर्मी मौसममा पानी कम पिउँदा पनि पिसाब थोरै लाग्ने हुन्छ । जसले गर्दा पिसाबमा लवणहरु जम्मा हुन थाल्छ र पत्थरको रुप लिन्छ। 

यसैगरी, वंशाणुगत युरिक एसिड र अक्सालेटको मेटाबोलिजममा गडबड हुनाले पनि मिर्गौलामा पत्थर बन्ने सम्भावना हुन्छ । पत्थर बन्न मद्दत पु¥याउने तत्वहरु खानाबाट  प्रशस्त प्राप्त भएको स्थितिमा पनि यो समस्या आउन सक्छ । क्याल्सियम, फोस्फोरसजस्ता तत्व शरीरमा आवश्यक भए पनि पत्थर बन्ने प्रवृत्ति भएको शरीरका लागि यी तत्व तथा प्युरिन र अक्जालेटले नकारात्मक प्रभाव पार्न सक्छ। 

पत्थरबाट हुने असह्य पीडा कम गर्न नदुख्ने औषधि सेवन गर्नुपर्ने हुन्छ अथवा पत्थरको आकार हेरी विशेष प्रविधिद्वारा पत्थर निकाल्नुपर्ने हुन्छ । एकचोटि पत्थर बनेपछि बारम्बार बनिरहने हुनाले माथि उल्लिखित उपायभन्दा पनि सरल, बिनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थ छनोट गर्न सके यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । 
साधारणतया मिर्गौलामा क्याल्सियम पत्थर, अक्जालेट पत्थर र युरिक एसिड पत्थर गरी तीन प्रकारका पत्थर बन्छन् । मिर्गौलामा बन्ने पत्थरको ९० प्रतिशत कारण क्याल्सियम तत्व र एकोनियम, म्याग्नेसियम, फोस्फेट, अक्जालेट, कार्बोनेटका लवण हुन् । कहिलेकाहीँ शरीरमा भिटामिन ए को कमी तर भिटामिन डी बढी भई प्याराथाइराइडको कार्यमा गडबडी हुँदा पनि पत्थर हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ। 

प्रायः अक्जालेट पत्थर खस्रो, कडा र सुकेको रगतजस्तो हुन्छ भने युरिक एसिड पत्थर खैरो र कडा हुन्छ । यसैगरी, फोस्फेट पत्थर सेतो, चकजस्तो नरम हुन्छ । पत्थर पिसाबको नलीमा अड्केमा वा पत्थरको आकार ठूलो भई निस्कन नसकेमा असह्य पीडा हुने, पिसाब बाक्लो तथा पिसाबमा रगत देखा पर्ने, संक्रमण हुने, ज्वरो आउने, बान्ता हुने लक्षण देखा पर्छ । यस्तो अवस्थामा सम्बन्धित डाक्टरलाई देखाई आवश्यक परामर्श लिनुपर्ने हुन्छ। 

मिर्गौलामा बारम्बार पत्थर बन्ने र दुःख दिने समस्या छ भने त्यस्ता व्यक्तिले दैनिक खानपानमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यसप्रकारको पत्थरको समस्याबाट नदुख्ने औषधि सेवन गरेर केही समय छुटकारा मिले पनि फेरि बल्झिने हुनाले नियन्त्रण गर्न दैनिक खानामै विशेष ध्यान दिनुपर्छ। 

पत्थर रोगको समाधानका लगि गरिएको व्यक्तिगत अनुभवलाई दृष्टिगत गर्दा कतिपय यस्ता खाद्यपदार्थ छन् जसले मिर्गौलामा पत्थर बन्नबाट रोक्न तथा नियन्त्रण गर्न मद्दत पु¥याएका छन् । यस समस्याको समाधानको उपाय प्रशस्त मात्रामा सफा पानी तथा झोल पदार्थ सेवन नै हो । र, पत्थर बन्न सहयोग पु¥याउने तत्वहरु क्याल्सियम, फस्फोरस, प्युरिन, अक्जालेट, चिल्लो पदार्थ बढी भएका खाद्यपदार्थहरु दैनिक भोजनमा परहेज गर्नु हो।  

पानी तथा झोलपदार्थ बढी सेवन गर्दा पनि कसै–कसैको पत्थर बन्न सक्छ । यसरी निस्केको पत्थर प्रयोगशालामा जचाउँदा कुन प्रकारको हो भनेर पहिचान गर्न सकिन्छ र त्यसैअनुरुप खान हुने र नहुने खाद्य पदार्थको छनोट गर्न सकिन्छ । यस्तो स्थितिमा भोजनमा परहेज गर्नुपर्ने हुन्छ । तर, पत्थरको पहिचान गर्न नसकेमा धेरै प्रकारका खाद्यपदार्थ सेवानबाट वञ्चित हुँदा पौष्टिक तत्वको अभावमा स्वास्थ्यमा झन् प्रतिकूल असर पर्न सक्छ। 

त्यसकारण पत्थरको समस्या भएका व्यक्तिले तथा तिनका परिवारका सदस्यले यो समस्या बल्झाउने तत्व भएका खाद्यपदार्थको पहिचान गरी त्यसको बदलामा कुन खाद्यपदार्थ  समावेश गर्दा भोजन सन्तुलित र उपयुक्त हुन्छ भने कुरा जान्नु आवश्यक छ । समयमै सतर्कता  अपनाउन नसकेमा बारम्बार पत्थर बन्नाले मिर्गौलामा थप भार परी काममा बाधा पुग्ने र नराम्रो असर पर्ने हुन्छ। 

समस्याको पहिचान गरी दैनिक भोजनमा फेरबदल गर्दा बनिसकेको पत्थर घोलिएर पिसाबबाट चाहिँ आउँदैन । यदि, सानो आकारको छ भने पिसाबबाट निस्कन सक्छ । यसरी भोजनमा फेरबदल गर्दा मिर्गौलामा पत्थर बन्ने कामलाई नियन्त्रण र कम गर्न सकिन्छ । दैनिक उचित खाद्यप दार्थबाहेक शरीरले आवश्यक पानी र झोल पदार्थ पाएको छ भने मिर्गौलामा पत्थर बन्न पाउँदैन । 
शरीरमा आवश्यक मात्रामा पानी छ भने मिर्गौलाले दूषित पदार्थ छानेर पिसाबबाट बाहिर फाल्ने काम गर्छ । शरीरमा पानीको कमी छ भने दूषित पदार्थ फ्याँक्न नसक्दा ठोस रुपमा  परिणत भई एक आपसको प्रतिक्रियाबाट पत्थर बन्छ । त्यसकारण साधारण अवस्थाबाहेक यस स्थितिमा पनि पानी तथा झोल पदार्थको सेवनमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । दैनिक अन्दाजी २ लिटर पिसाब शरीरबाट फ्याँकिने हिसाबले प्रशस्त पानी पिउन सकेमा यो समस्या समाधान गर्न सकिन्छ।

यसैगरी, पत्थरको समस्या भएका व्यक्तिले पिसाबको रङ हेरी दैनिक पानीको परिमाण बढाउन सकिन्छ । यदि, पिसाब गाढा पहेँलो छ भने पानीको मात्रा वा थप झोल पदार्थको सेवन बढाउनुपर्ने हुन्छ । 

खानामा अपनाउनुपर्ने सतर्कता 
दैनिक ३ लिटरभन्दा बढी पानी तथा झोलपदार्थ सेवन गर्दा विभिन्न तत्वको लवणबाट पत्थर बन्न पाउँदैन।

प्रोटिनको परिमाण पनि कम गर्नुपर्छ । एक किलोग्राम शरीरको तौलबराबर एक ग्रामभन्दा कम प्रोटिन प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ । 
यसैगरी, शरीरमा अम्ल (एसिड) पैदा गर्ने खाद्यपदार्र्थ समावेश गर्नुपर्छ।

पानी तथा अन्य उपयुक्त झोलपदार्थको परिमाण बढाए पनि क्याल्सियम प्रवृत्तिको पत्थर छ भने क्याल्सियम बढी पाउने खाद्यपदार्थ जस्तैः दूध तथा दूधबाट बनेका परिकारको मात्रा कम गर्नुपर्छ । पोटासियमयुक्त फलफूल र सागपातको उपभोगले मिर्गौलामा पत्थर बन्ने सम्भावित खतरालाई ५० प्रतिशत कम गर्छ । त्यसैले भोजनमा यो तत्व भएको खाद्यपदार्थ समावेश गर्नुपर्छ । 
अक्जालेट पत्थर छ भने अक्जालिक एसिड भएका खाद्यपदार्थ जस्तै पालुंगो, कर्कलो, बदाम, काजु, तिल, चिया, पुदिना आदिको सेवन कम गर्नुपर्छ। 

पत्थर भएका व्यक्तिहरुले दैनिक १०० देखि १५० मिलिग्राम भिटामिन बी, भिटामिन बी कम्प्लेक्सको साथमा लिँदा राम्रो हुन्छ।

युरिक एसिड पत्थर छ भने प्युरिन भएका खाद्यपदार्थ जस्तैः मासु, चिल्लो पदार्थ, अन्डा कम गर्नुपर्छ । यसप्रकारका खाद्यपदार्थ दैनिक ६० देखि ७० ग्राम मात्र लिँदा बेस हुन्छ । 
फाइबरयुक्त फलफूल र सागपात (अक्जालेट कम भएको) भोजनमा समावेश  गर्दा खाद्यपदार्थमा भएको फाइबर क्याल्सियमसँग बाँधेर यसको शोषण कम गराउँछ।

सोडियम बढी भएका खाना खाँदा पनि पिसाबमा क्याल्सियमका कण बढी देखिने हुनाले सोडियम भएका खानेकुरा कम गर्नुपर्ने हुन्छ । दैनिक २ देखि ३ ग्रामभन्दा कम मात्र प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ। 

यसैगरी, पत्थरीको समस्या भएका व्यक्तिले जटिल कार्बोहाइड्रेट अर्थात् पूरै अन्नबाट बनेको  खाद्यपदार्थ, ताजा फलफूल, सागपातलाई बढी प्राथमिकता दिनुपर्छ।

यस प्रकार मिर्गौलाको पत्थर सबै एकै प्रकारको नहुने भएकाले दैनिक भोजनलाई सकेसम्म पोषिलो र सन्तुलित बनाउनुपर्छ । साधारण खाद्यपदार्थको उपभोगबाट घरेलु तवरले नै यो समस्या समाधान भएको कुरा यसबाट पीडित व्यक्तिहरुको अनुभवले बताउँछ । विशेषगरी खरबुजा, अनार, केरा, तुलसीको पातको रसमा मह मिलाई खाँदा, स्याउ, राजमा, गहतको सूप आदि खाँदा पिसाबबाट पत्थर निस्कन्छ । यी खाद्यपदार्थमा रहेका तत्वले स–साना पत्थर निकाल्न मद्दत गर्नुका साथै बन्ने प्रक्रिया पनि नियन्त्रण गर्छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Sanjib लेख्नुहुन्छ जेठ ३, २०७५ बिहिवार १२:२७:१७
Jaya didi bata ramro kuro aayo hai!

यसमा तपाइको मत




पढ्नै पर्ने