विचार/ब्लग

सरकारी सेवाका दुर्इ वर्षे अनुभव: बिरामी बढेकोमा सम्मान र तालिम खान आउने सहभागी

 डा. उमेशप्रसाद भट्टराई

-


नेपाल सरकारको छात्रवृत्तिमा देश तथा विदेशमा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीले अध्ययन पश्चात् कम्तिमा दुर्इवर्ष सरकारी सेवा गर्नुपर्ने प्रावधान छ। 

यही सेवाका लागि ७ वर्षको बिदेश बसाइँपछि  म नेपाल फर्किएको थिएँ। मनमा कहिँकतै आफ्नो गाउँ, आफ्नो ठाउँ आफैंले बनाउनुपर्छ भन्ने भावना थियो। देशको राजनीतिक माहोल अस्थिर थियो। मोबाइलमा लोडसेडिङको तालिका हेर्दै बस्नु पर्थ्यो भने अर्कोतर्फ भारतको नाकाबन्दीले पहाड महंगी।

सेवा सुरु गर्नुअघि देशको वास्तविक धराताल बुझ्न उचित  लागेर म  अवलोकनका लागि पूर्व तरार्इदेखि पश्चिम हिमाल–पहाडका थुप्रै जिल्लाको अवोलोकन गरें। समग्र देशको स्वास्थ्य अवस्था वास्तबमै नाजुक रहेछ । धरान र धनगढीका मान्छेलाई जति जीवनको भय छ, त्यो भन्दा १० गुणा बढी जाजरकोटको पैंक र डोल्पाको साल्दांगका वासिन्दालाई छ। जाजरकोटको सदरमुकामदेखि ८ घण्टा कच्ची बाटोमा मोटर अनि त्यसपछि १२ घण्टा पैदल हिडेर उकालो हिँड्दै गर्दा म एक्कासी झस्किएँ।  यदि मेरो मुटुको गति रोकियो वा म बेहोस भएँ वा कुनै ठूलो चोटपटक लाग्यो भने मेरो अवस्था के होला ?  त्यो ठाउँदेखि सुबिधासम्पन्न अस्पताल पुग्न कम्तिमा तीन दिन लाग्ने रहेछ। त्यो हो, नेपालगञ्ज मेडिकल कलेज । कति ठाउँमा नामको मात्र स्वास्थ्यचौकी भेटियो भने  कति ठाउँमा स्वास्थ्यकर्मी छन् तर बस्ने आवास  र औषधि उपकरण छैन। कोही ठाउँमा भवन मात्र छ, न त उपकरण उपचार छ न त स्वास्थ्यकर्मी नै। यी सबै बुझेर आफ्नो दुर्इवर्ष कार्यकाल सुरु गर्न काठमाडौँ फर्किएँ।

स्वास्थ्य विभागबाट नियुक्ति पत्र लिन पनि सोचे जति सजिलो रहेनछ। डोल्पाको साल्दंग लगायतका ठाउँमा कतै पठाए भने त अरुलाई बचाउनु त टाढाकै कुरा आफू बाँच्न नि गाह्रो थियो। त्यसैले अरुले जसरि मैले पनि सकेसम्म सोर्सफोर्स लाउँदै, सुब्बा खरिदारलाइ ७ -८ दिन नमस्कार टक्र्याउँदै अलि सहज स्थानमा पोस्टिङ् लिएँ।

बादलले ढाकेर दिन अँध्यारो थियो ।  सिमसिम पानी परिरहेको थियो ।  हातमा छाता अनि झोलामा नियुक्ति पत्र बोकेर म अस्पताल प्रवेश गरें। सुकिला सेता कमिज लगाएका हाकिम जस्तै देखिने एकजना ब्यक्ति प्रसाशनमा बसिरहेका रहेछन्। यसो चिनजान गरियो। कुराकानी भयो । एकछिनपछि हाजिर गर्दा मैले म छात्रवृत्ति करारमा दुर्इ वर्षका लागि आएको थाहा पाएर उनले तर्सिएझै गरी भनेको त्यो वाक्य अझै कानमा गुन्जिन्छ- ए करार पो ? 

जति अस्पताल भनेर खोलिएका छन्। ती साँच्चिकै अस्पताल सरह भएका भए धेरै थप्नुपर्ने थिएनन् होला तर धेरैजसो हाम्रो देशमा नामको मात्र अस्पताल भेटाएँ।  अस्पतालमा हुनु पर्ने पूर्वाधार, उपकरण र आवश्यक मात्रामा स्वास्थ्यकर्मी बिरलै कुनै अस्पतालमा भेटिन्छन्।कहिँ इच्छासक्ति छ स्रोत साधन छैनन् भने कतै स्रोत साधन छ इच्छाशक्ति छैन । कुनै ठाउँमा इच्छाशक्ति, स्रोत साधन सबै छ तर अस्पताल, व्यवस्थापन समिति बीच मेलमिलाप छैन।

कार्यअवधिमै अवसर पारेर धेरै पटक विभिन्न जिल्लामा अध्ययन, तालिम र अनुगमनमा जाने अवसर मिलेको थियो। एक ठाउँमा मन्त्रालयबाट हाकिमसाहेबहरु सम्मान गर्न पाल्नु भएको रहेछ । उक्त ठाउँको अस्पताल प्रमुखलार्इ गत साल भन्दा यो साल अस्पतालमा बिरामीको संख्या बढी भएको भनेर सम्मान गरियो।  कसैले पनि यो संख्या किन बढ्यो  ?  कुन रोगमा बढी संक्रमण छ ? बहस गरेनन् । मलार्इ अचम्म लाग्यो,  यो प्रसङ्ग विदेश वा विकसित देशमा भए ठ्याक्कै उल्टो हुन्थ्यो होला तर हाम्रो देशमा बिरामीको संख्या बढेर बधाई सम्मानका कार्यक्रम प्राय: भइरहेका हुन्छन्। यो बारेमा सोच्ने बेला आएको छ!

स्वास्थ्य क्षेत्रमा तालिम अनि त्योसँग साँटगाठ गर्ने एनजिओ र आइएनजिओ गनिसाध्य छैन।  तालिमका उद्देश्य उचित भए पनि तिनका उपलब्धि  र कार्यशैली बारे मैले भनिरहनु पर्दैन होला। एउटा यस्तै तालिमका एकजना सहभागीले हाँस्दै भनेका थिए, ' डाक्टरसाब हामी तालिम लिन होइन। तालिम खान आएका हौं! केही हदसम्म मलार्इ यो कुरा साँचो नै लाग्यो।'

दुर्इ वर्षे सेवामा केही नभए पनि देशको वास्तविक चित्र, स्वास्थ्यका बिकृति, कमजोरीलाइ नजिकबाट हेर्न पाइन्छ। दुर्गममा कस्तो अवस्थामा नेपालीहरुले जीवन बिताइरहेका छन् ? के खाइरहेका छन् ?  समाजको स्तर र सोचाइ कस्तो छ?  यो सब डाक्टर भन्दा राम्ररी मुस्किलले अरु कसैले थाहा पाउँछ होला। तर कुनै स्रोतसाधन नभएको अवस्थामा लोकप्रियताको नाममा डाक्टर पठाउनु भनेको नेपालमा 'कस्मोनाफ़्ट'हरुलाई अध्ययन गर्न पठाउनु जस्तै हो भन्दा फरक नपर्ला ! तसर्थ स्वास्थ्य मन्त्रालयले पहिला उचित अध्ययन गरेर सुबिधा सम्पन्न अस्पताल बनाउनु जरुरी छ।  स्रोत साधन, उपकरण नभएको ठाउँमा डाक्टर पठाएर नेपाल सरकारको पैसा सक्नु भन्दा त्यहाँका एचए , प्यारामेडिक्सहरुलाई उचित प्रशिक्षण तालिम दिनु उपयुक्त हुन्छ।

नेपाल सरकारको सबै भन्दा ठूलो कमजोरी भनेको आफ्नो  दक्ष जनशक्तिलार्इ प्रबर्धन र संरक्षण गर्न नसक्नु हो । हरेक बर्ष १०० भन्दा बढी चिकित्सकहरु आफ्नो राम्रो भविश्यको खोजीमा विकसित देशतिर पलायन हुन्छन। तिनलाई उचित पारिश्रमिक र सुबिधाको व्यवस्था भए सायद तिनहरुले हामीलाई छोड्दैन थिए। 

धन्न नेपालको सरकारले यो दुर्इ बर्षे सेवाको बाध्यकारी नियम राखेछ।  नत्र भने कति प्रा. स्वा. के., अस्पतालहरु डाक्टर बिहिन हुन्थे । कति भएर पनि चल्न सक्दैनथे।  छात्रवृत्ति करारले गर्दा देशका थुप्रै प्रा.स्वा.के., अस्पताल चलिरहेको सायद सबैलाई बिधितै छ । तर उत्त डाक्टरलार्इ उचित आवास, सुबिधा र पारिश्रमिकको व्यवस्था हुन जरुरीछ। जबसम्म कुनै स्वास्थ्यकर्मी आफू स्वस्थ भएर काम गर्ने वाताबरण बन्दैन। उसले स्तरीय सेवा पनि दिन सक्दैन।

स्वास्थ्य जगतका समस्याहरु धेरै छन् तर जहाँ समस्या हुन्छन्, त्यहाँ उपाय अनि समाधान पनि हुन्छन्। यी समस्या बुझ्न सबै डोल्पा नै जानु पर्छ भन्ने छैन।  देशका प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, माननीय मन्त्री वा तिनका परिवारलाई प्रसूती गृहको भिडियो एक्सरेको भिडमा, वीर, क्रान्तिअनि टिचिङको ओपिडीको टिकट काट्ने लाइन वा गंगालाल तिलगंगा को त्यो बिहान ६ बजेदेखिको लाइनमा २-४ दिन उभ्याइदिने हो भने धेरै समस्या आफैं सुल्झिने छन् !

upbhattarai @gmail .com
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने