डक्टर्स आर्टिकल

हिमाली क्षेत्रमा पुग्यो कालाज्वरो,  विश्वकै दुर्लभ घटना !

नयाँ अनुसन्धान

 डा. शेरबहादुर पुन

हालै गरेको एक अनुसन्धानको नतिजाले नेपालमा कालाज्वरो हिमालमा (डोल्पा) पुगेको प्रमाणित भएको छ। यो आफैँमा अति दुर्लभ घटना हो। सन् २०११ मा यो पहिलोपल्ट कालाज्वरो तराईबाट पहाडतिर फैलिँदै गएको अनुसन्धान लेख प्रकाशित गरेको थिएँ । धेरैले विश्वास गरेका थिएनन् । तर त्यसयता नेपालमा प्रकाशित अरु बिभिन्न अनुसन्धानहरुले पनि कालाज्वरो तराईका जिल्लाहरुबाट पहाडतिर सर्दै गएको देखाएका छन् र देखिने क्रम जारी पनि छन्। हुन त कालाज्वरो मात्र नभई मलेरिया, डेंगु आदि किटजन्य रोगहरु पहाडतिर फैलिँदै गएको नेपाल सरकारको तथ्यांकले पनि देखाउँछ।

पछिल्लो यो घटनाले नेपालबाट कालाज्वरो उल्मूलन गर्ने लक्ष्यमा दीर्घकालमा गइ चुनौती  बन्नसक्ने देखिएको छ । नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको (नास्टको) आर्थिक सहयोगमा पंक्तिकार, नास्टका वरिष्ठ वैज्ञानिक डा. किशोर पाण्डे  लगायतका नेपालका अरु प्रतिष्ठित वैज्ञानिकहरुले गरेको अनुसन्धानले कालाज्वरो हिमाल पुगेको देखिएको हो। र यो पीसीआर नामक उच्च ल्याब प्रबिधिद्वारा प्रमाणित गरिएको हो। यो नै नेपालमा सो प्रयोगशाला प्रबिधिबाट हिमाली भेगमा पनि कालाज्वरो पुगेको प्रमाणित गरिएको पहिलो अनुसन्धान हो।  

के हो कालाज्वरो?

यो प्रोटोजोवा अन्तर्गत पर्ने लेइशमानिया दोनोभानी नामक परजीबीको कारणले हुने बेवास्था गरिएको ट्रोपिकल सरुवा रोग हो । यो एक प्रकारको भुसुनाको टोकाईबाट सर्ने गर्दछ। कालाज्वरो  नेपालको खासगरी पूर्बी तराईको तेह्र जिल्लामा स्थानीय रुपमा वर्षौदेखि देखा पर्दै आहिरहेको थियो तर हाल केही वर्ष यता पहाडी इलाकाहरुमा पनि देखा पर्दै  आएको छ। कालाज्वरो देखिदै आएका ठाउँमा कसैलाई दुर्इहप्ता भन्दा बढी ज्वरो आउनुका साथै फियो पनि बढेमा र मलेरियाको औषधी दिँदा समेत कुनै प्रतिक्रिया नदेखाए कालाज्वरोको शंका गर्न सकिन्छ। द्रुत गतिको प्रयोगशाला परिक्षण (के ३९ टेस्ट) गर्दा पोजेटिभ देखिए, त्यो कालाज्वरो भएको ठहर गर्न सकिन्छ। ज्वरो बाहेक आफ्नो वजन घट्नु, रक्त अल्पता हुनु, कलेजो र फियोको सुजन हुनु यसका मुख्य लक्षणहरु हुन्। विश्व स्वास्थ्य संगठनका अनुसार लक्षण देखिएको दुर्इ वर्षभित्र सहि उपचार नपाए ९५ प्रतिशत सम्म (पन्चानब्बे प्रतिशित) को मृत्यु हुने गर्दछ। विश्व स्वस्थ संगठन सियेरोको अनुसार सन् १९९४ देखि २०११ सम्मको कालाज्वरो तथ्यांक हेर्दा सबैभन्दा बढी सन् २००३ मा सबैभन्दा बढी २३०० को हाराहारीमा यो रोगका बिरामीहरु देखिएका थिए भने सन् २०११ सम्म आइपुग्दा त्यो सँख्या घटेर लगभग ७०० को हाराहारीमा आइपुगेको थियो। नेपाल सरकारले कालाज्वरोको औषधी नि:शुल्क उपलब्ध गराउँदै आइरहेको छ।

किन फैलिँदैछ?

हुन त यसको व्यापक अनुसन्धान हुन बाँकी नै छ तर विश्वमा देखिएको जलवायु परिवर्तन यसको मुख्य कारण हुनसक्दछ। यसबारेमा धेरै अनुसन्धानहरु भइसकेको र नया नयाँ ठाउँमा नयाँ सरुवा रोगहरु फैलिनुमा यो एउटा प्रमुख कारक भएकोमा विश्वका प्रतिष्ठित वैज्ञानिकहरु बीच सहमति भएको देखिन्छ। त्यस बाहेक कालाज्वरो फैलाउने भुसुना स्वयमले आफूलाई पहाडि वातावरण अनुकुल बनाएको पनि हुनसक्दछ यद्यपी यसबारेमा पनि अनुसन्धान गर्न जरुरी हुन्छ। मानिसहरुको बस्ति बाक्लिदै जानु, यातायातको सहज पहुँचले मानिसहरुको बसाइँसराइँ बढ्नु आदि पनि कालाज्वरो फैलनुका कारणहरुमा पर्दछन्।

के गर्ने ?
कालाज्वरो छिमेकी देश भारतमा खासगरी बिहारमा बढी मात्रामा देखिँदै आएको छ। हाल पहाडी इलाकाहरुमा मात्र नभई हिमाली भेगतिर समेत फैलिँदै गएको अनुसन्धान मार्फत देखिएको छ। नेपालमा अहिलेपनि अनुसन्धानलाई प्राथमिकता  नदिने हुँदा भारत भन्दा पछाडी मात्र यस्तो तथ्य पत्ता लगाउन सकेको हुनुपर्छ। यसरी कालाज्वरोको पनि बसइँसराइँ हुँदा उनीहरुको जिनमा परिवर्तन (मियुटेसन) आउनसक्ने सम्भावना बढी हुने गर्दछ र फलस्वरूप हाल उपलब्ध औषधीहरु प्रभावहीन हुनसक्दछन्। वास्तवमा नेपाली कालाज्वरोका बिरामीहरु पूरा उपचार पाई ठिक भइसकेपनि फेरि रोग दोहोरिने क्रम बढ्दै गएको पनि छ। जुन कालाज्वरोको परजिबीमा नै कतै जिन परिवर्तनको कारण त होइन भनेर शंका गर्ने ठाउँ देखिन्छ तर यसको लागि बृहत अनुसन्धान जरुरी देखिन्छ। 

तसर्थ एउटा दुइटा रोगीहरु हिमाली भेगतिर देखिनु आफैंमा तत्काल ठूलो समस्या नभएपनि भविश्यमा यो संख्या यतिमै रोकिन्छ भन्ने ग्यारेन्टी छैन। तसर्थ यसको लागि नजिकबाट बृहत  अनुसन्धान गर्न जरुरी छ र आवश्यक परे योजनाबद्ध रुपमा सुरुवातमै नियन्त्रणमा ल्याउने पहल गर्न पनि जरुरी हुन्छ।


डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा कार्यरत छन्। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने