विचार/ब्लग

गौरीबहादुर कार्कीको सहकार्य अनुभूति –  भगवान्, डा. देवकोटालाई बिरामीको सेवा गर्न देऊ

 गौरीबहादुर कार्की

-

हिजोसम्म  अरुको मृत्युलाई जित्न आफू अघि सर्ने प्राध्यापक डा. उपेन्द्र देवकोटा आज आफैं मृत्युसँग संघर्ष गरिरहनुभएको छ भन्ने सम्झिँदा पनि पत्याउनै गाह्रो भइरहेको छ। 

म अहिले सम्झिरहेको छु, ६ महिना अगाडिसम्म त्यत्रो फुर्तिसाथ विभिन्न मेडिकल कलेजहरुको निरीक्षण गर्दाको समय । चिकित्सा शिक्षा जाँचबुझ अयोगको सदस्यका रुपमा मेडिकल कलेजहरुको निरीक्षण सक्रिय रहनुभएका यी प्रिय डाक्टर साहेवले 'म अब बिरामीको उपचारमा फर्कन्न होला' भनको सुन्दा मलाई सपना हो कि विपना जस्तो लागि रहेछ । मन त्यसै–त्यसै अमिलो भइरहेको छ र दिमागमा घुमिरहेका छन् उहाँले नेपालको चिकित्सा क्षेत्रमा दिएका योगदानहरु।

प्रा.डा.देवकोटा, प्राध्यापक र डाक्टर चिकित्सक दुवै हुन् । स्वनामधारी प्राध्यापक होइनन् । कतिपय हाम्रा प्राध्यापक स्वनामधारीहरु छन् । प्राध्यापन नगरिकन नै प्राध्यापक लेख्छन्, शिक्षण तथा चिकित्सकीय दुवै पेशामा।

नेपालमा वीर अस्पतालमा डा. दिनेशनाथ गङ्गोलको निर्देशन र सहयोगीको रुपमा सर्जनको काम डा. देवकोटाले थाल्नुभएको रहेछ । न्यूरो सर्जरीमा बेलायतबाट एम.डी. विशेषज्ञता हासिल मात्र गर्नु भएको मात्र होइन, परीक्षा नै उत्तीर्ण गर्नु भएको हो, कोर्स कम्प्लिटेड मात्र होइन । बेलायतको मेडिकल काउन्सिलको सम्मानित सदस्य समेत हुनुभयो। 

बेलायतमा काम गर्ने अवसर छाडेर स्वदेश फर्कनु भएपछि वीरअस्पतालमा न्यूरो सर्जरी विभाग शुरु गर्नुभयो।

न्यूरो सर्जरीमा उहाँको विशेषज्ञताले २८ हजार बढी बिरामीको टाउकोको अप्रेसन गर्नुभयो । कतिपय विद्वानधारीले मान्छे मारेर देशमा परिवर्तन ल्याउन तम्से भने उहाँले २८ हजारको ज्यान बचाउनुभयो।

त्यतिबेला प्रतिगमन आउँदा राजा ज्ञानेन्द्रको शाह सत्तामा उहाँ स्वास्थ्य मन्त्री हुनभयो । ज्ञानेन्द्रको शाही शासन बचाउन लागको भन्ने आरोप लागे तापनि उहाँले स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्नुभयो । न्याम्स् राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान उहाँले नै शुरु गराएर एम डी निःशुल्क पढाउने कामको श्रीगणेश गराउनु भयो।

ज्ञानेन्द्रको शासनमा मन्त्री नियुक्त हुने वित्तिकै उहाँले सरकारी सेवाबाट राजीनामा दिनु भएको थियो । पछि न्यूरो अस्पताल बाँसबारीमा खोलेर उहाँ यो क्षेत्रमा सेवा पुराउन दिनरात खटिदैं आउनु भएको छ । उहाँको अस्पतालमा रातमा समेत ३ जना न्यूरो सर्जन ड्युटीमा रहेका हुन्छन् । सरकारी र अन्य अस्पताल र मेडिकल कलेजमा झैं साँझ परेपछि चिकित्सक उपलब्ध नहुने रोग उहाँको अस्पतालमाछैन । न्यूरो अस्पतालले धेरै वर्ष देखि उल्लेखनीय रुपमा कर तिरेकोमा सम्मान पाउँदै आएको छ । 

स्वास्थ्य वीमा उहाँको परिकल्पना थियो । अहिले त्यसले मूर्तरुप लिइरहेको छ। बेलायत बसेर कल्याणकारी समाज देखेका डा. देवकोटाकै वृद्ध भत्ता दिनु पर्दछ भन्ने उहाँको परिकल्पना तत्कालीन प्रधान मन्त्री मनमोहन अधिकारीका पालामा साकार बनाइएको थियो।

उहाँ अतीव देशप्रेमी हुनु हुन्छ । राष्ट्रघाती काम कुनै पनि सरकार र दलको भए पनि उहाँले विरोध गर्दै र देशको हितको लागि आवाज उठाउँदै आउनु भएको पाइन्छ । युट्युवमा खोजेर पनि उहाँका भनाई हेर्न सकिन्छ।

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द के.सी.को पटक पटकको सत्याग्रह पछि गठन भएको  चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको तीन सदस्य मध्ये उहाँ पनि सदस्य हुनुहुन्थ्यो ।
सो आयोगमा म न्याय क्षेत्रबाट थिएँ भने उहाँ चिकित्सा र चिकित्सा शिक्षाबाट प्रतिनिधि हुनुहुन्थ्यो  उहाँले उत्पादन गरेका न्यूरो सर्जनहरु नै देशका विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा काम गर्दै हुनुहुन्छ । आफ्ना उत्तराधिकारीका रुपमा सयौं न्यूरो सर्जनहरु तयार पारिसक्नु भएको छ। 

यो आयोगले ८ महिना काम गरेर नेपाल सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगमा अध्ययनको क्रममा नेपालका सवै मेडिकल कलेजहरु, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामीले अध्ययन र निरीक्षण गरेका थियौं।

निरीक्षणका क्रममा त्यहाँको शिक्षण पद्धति, भौतिक सुविधा, फ्याकल्टी, पुस्तकालय, छात्रावास आदि सवै क्षेत्रको अध्ययन गरियो । त्यहाँ कार्यरत प्राध्यापन वर्गलाई सुधारका लागि आफ्नो लामो अनुभव पनि शेयर गर्नु भएको थियो।

बेलायतमा पढेर आउनु भएका उहाँ बेलायतमा मात्र होइन विश्वमै नामूद न्यूरो सर्जनको रुपमा विख्यात हुनुहुन्छ । जन्डिसबाट शुरु भएको उहाँको पित्त थैलीको समस्या बेलायतमा ५ महिना उपचार गर्दा समेत निर्मूल हुन नसकेपछि आफ्नै सुन्दर मातृभूमिमा उहाँ फर्कनु भएको छ । शरीर नाश भए पनि आत्मा मर्दैन भन्ने गीताको महान वचनलाई आत्मसात गर्दै उहाँ मृत्युसंग संघर्ष गरिरहनु भएको छ, आफ्नै अस्पतालमा।

२८ हजार बिरामीको टाउको चिरेर उपचार गर्नु भएका यी डाक्टर आज अब थप विरामीको आफैंले अप्रेसन गर्न नसक्ने अवस्थामा पुग्नु भएको छ । हामी काठमाडौं बाहिर गएको बेलामा पनि  उहाँ बिरामीको अवस्था बुझेर यसो गर्नू भनेर निर्देशन दिने गरेको मैले सुनेको थिएँ । अहिले आफू बरमीको बेडमा बसेर पनि केही समय त बिरामीको अपे्रशनमा निर्देशन दिनु हुनेछ, तर भगवानले कहिलेसम्म मौका दिने हुन्।

हे भगवान देवकोटालाई अझै हजारौं विरामीको ज्यान बचाउने काममा लगान प्रार्थना छ– भगवान इश्वरका हाँसो पाएका फूल उमेर मै नमार । लौ भगवान, चमत्कार गर र  डा. देवकोटालाई विरामीको सेवा गर्न देऊ। 

अझै उहाँसँग नेपालमा चिकित्सा शिक्षा क्षेत्र सम्बन्धि  धेरै ज्ञान र अनुभव छ । त्यसलार्इ लिइराख्न मेरो आग्रह छ।

मैले  बैशाख २ गते बुधवारको भेटमा सञ्चारमाध्यामसँग आफ्ना अनुभव बाँड्न प्रस्ताव गरेको थिएँ । 'बेलायतबाट फर्केपछिको थकाई अलि मरोस्, बोल्न अलि ताकत आओस्अनि अन्तरवार्ता दिउँला भन्नुभएको छ', अपेक्षा छ चाँडै तँग्रेर उहाँ त्यसका लागि तयार हुनुहुनेछ।  

gauribkarki@gmail.com
२२ बैशाख २०७५

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने