विचार/ब्लग

प्रार्थना छ, डा देवकोटालाई शीघ्र स्वास्थ्यलाभ होस्

 शुभादेवी सापकोटा

-

विगत केही वर्षदेखि हामी नेपालीको बिहान आँखा खोल्नासाथ सायद फेसबुक र टुइटरमै पहिलो नजर पर्छ। त्यस्तै, मेरो पनि प्रिय बनेको छ सामाजिक सञ्जाल फेसबुक र ट्विटर। आजकाल फेसबुकमा साथीभाइको म्यासेज र कमेन्ट हेर्दै मुसुक्क हाँस्दै र ट्विटरमा राजनीतिक, समसामयिक चर्चा परिचर्चा बुझ्दै बिहानी बित्छ।

तर, आज अलि बेग्लै महसुस भएको छ मलाई। कवि शिरोमणि लेखनाथ पौड्यालले कालमहिमामा प्रस्तुत गर्नुभएको दुई हरफको याद आयो...

'आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो,
लाखौं औषधि अस्त्र-शस्त्र महिमा देखेर डर्दैन त्यो।'

नेपाललाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाउने अग्रणी न्युरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था सम्बन्धी समचारले मलाई स्तब्ध बनायो। साथै, देश-विदेशमा रहेका नेपालीको मन पनि पक्कै दुखेको होला।

मलाई अझै पनि स्मरण छ, करिब ८ वर्ष पहिले हामीले डा देवकोटाले सञ्चालन गर्नुभएको बाँसबारी स्थित न्युरो  हस्पिटलमा करिब ३ महिना काम गर्ने मौका पाएका थियौं।

न्युरो हस्पिटलमा जाने भन्ने बितिक्कै मैले बुवालाई सुनाएँ। उहाँ खुसी हुनुभयो। डा देवकोटा बुवाको अमरज्योति हाइस्कुल, लुइँटेल, गोरखाका बालसखा हुनुहुन्थ्यो।

मैले सानैदेखि डा देवकोटा, डा बाबुराम भट्टराई तथा अन्य सहपाठीका प्रतिभाबारेमा बुबाको मुखबाट सुन्दै आएको थिएँ।

राति बुवाले फोनमा भन्नुभयो, 'छोरी उपेन्द्रसँग धेरै शिक्षा हासिल गर्नु है।'
मैले 'हस्' भन्दै बुबालाई आश्वस्त पारेँ र न्युरो पोस्टिङको तयारीमा लागें।

न्युरो हस्पिटलमा रहँदा ३ महिनामा मैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै ज्ञान हासिल गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु।

त्यहाँ हरेक उमेरका अन्यन्त जटिल बिरामी हामीले देख्यौं। लाग्थ्यो, बाँच्ने अब कुनै आशा छैन। तर, हामी सबैको आशा बनेर डा देवकोटा उभिनु हुन्थ्यो। धेरै बिरामीका लागि प्राण रक्षक बनेर नै आउनु हुन्थ्यो उहाँ।

धेरै समय लागे पनि बिरामी निको भएर हस्पिटलबाट घर फर्केको देख्दा साँच्चै चमत्कार पनि हुँदो रहेछ जस्तो आभास हुन्थ्यो।

डा देवकोटाको कठोर परिश्रम र दृढ इच्छाशक्तिले नै यो सबै सम्भव भएको थियो।

केही महिनाअघि पनि 'डा देवकोटा बिरामी हुनुहुन्छ रे' भन्ने सुनियो। यो खबर सुन्दै धेरै नराम्रो लागेको थियो। तर, उपचार हुँदैछ, स्वास्थ्यमा सुधार हुँदैछ। गम्भीर केही छैन भनेको सुन्दा मनमा राहत मिलेको थियो।

तर, यतिबेला उहाँको गम्भीर स्वास्थ्य अवस्थाबारे समाचार र उहाँका मार्मिक अभिव्यक्तिबारे पढ्दा भावविभोर भएकी छु। 

पक्कै पनि जीवन भनेको संघर्ष हो। कहिले सानाठूला कठिनाईसँग जुध्नुपर्छ त कहिले मृत्युसँग।

डा देवकोटाले नेपाल र नेपालीका लागि ठूलो योगदान दिनुभएको छ। नेपाली चिकित्सा क्षेत्रको उत्थानका लागि उहाँले महत्वपूर्ण भूमिका निभाउनु भएको छ। 

डा देवकोटा अहिले बाँसबारीस्थित आफ्नै न्युरो हस्पिटल उपचारत हुनुहुन्छ, त्यो पनि 'होप' खण्डमा। देशलाई उहाँजस्तो विलक्षण प्रतिभाको खाँचो छ। डा देवकोटाले जसरी बिरामीको जीवनमा चमत्कार गर्नुहुन्थ्यो उहाँको स्वास्थ्य सुधारमा पनि त्यस्तै चमत्कार होस्। हाम्रो यही प्रार्थना छ, डा देवकोटालाई शीघ्र स्वास्थ्यलाभ होस्।

-(सापकोटा नारायणी सामुदायिक अस्पतालमा कार्यरत छिन् )

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने