प्रोफाइल

आइओएमका अब्बल उत्पादन

युवा पुस्ता


-

शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा पवनराज चालिसे धेरैको रोजाइमा पर्ने युरोलोजिस्ट हुन् । उनी नेपालमा औंलामा गन्न सकिने मिर्गौला प्रत्यारोपण विज्ञ सर्जनमा पर्छन् । युरो सर्जरीमा उनी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का ‘परीक्षण उत्पादन’ हुन् । परीक्षण उत्पादन भन्नुको अर्थ आइओएमले एमसिएच (सर्जरीमा पिएचडी सरह) को पहिलो ब्याचमा अध्ययनका लागि उनलाई भर्ना लिएको थियो। 

आइओएममै एमसिएच सुरु हुने भएपछि उनी छानिएका थिए । आइओएमका उपप्राध्यापक वरिष्ठ युरोलोजिस्टहरु डा भोलाराज जोशी, डा प्रेमराज ज्ञवाली र डा उत्तरमराज शर्माप्रति उनको विश्वास थियो । त्यसैले डा चालिसे नेपालमै युरोलोजीमा एमसिएच गर्न तयार भए । तर, उनका साथीहरु शंका व्यक्त गर्थे, ‘नेपालमा सिकाइ राम्रो होला र? सहकर्मीहरु सुझाउँथे, पढ्ने नै हो भने विदेशतिर गएर पढेको राम्रो।’

उनलाई लाग्छ, ‘त्यो समय र परिस्थितिमा साथीहरुको शंका र सुझाव दुइटै सही थियो।’ तर, उनले नेपालमै एमसिएच गर्ने निर्णय लिए । कोही न कोहीबाट सुरु गर्नैपर्ने भएपछि आफैंबाट सुरु हुने अवसर किन गुमाउने ? भन्ने सोचले उनलाई नेपालमै पढ्ने हौसला दियो । सन् २००८ मा आइओएमले चारवटा विषयमा ‘सुपरस्पेसियालिटी’ सुरु गरेको थियो । त्यसमध्ये एउटा एमसिएच हो । 
पहिलोपटक अघि बढ्नेले बाटो बनाउँदै गएर मात्रै पुग्दैन, अरु आउनका लागि सहज हुने वातावरण समेत सिर्जना गरिदिनुपर्छ । स्वभाविक रुपमा पहिलोपल्ट ‘पास आउट’ व्यक्तिको प्रदर्शन दोस्रोका लागि मार्गदर्शन वा सिकाइ हुन्छ । यो चुनौतीसमेत बोकेर डा चालिसेले आइओएममै एमसिएच गरे। 

आइओएमका लागि उनी एउटा परीक्षण पनि थिए । परीक्षणमा सफल पनि ठहरिए । नेपालमै पढेका सर्जन पनि अब्बल हुन सक्छन् भन्ने कुरा उनले प्रमाणित गरिदिए । उनी पछिका १० ब्याचले आइओएमबाट एमसिएच गरिसक्यो । सन् २०११ मा एमसिएच सकेका उनी आइओएममा प्राध्यापन र त्यसैको शिक्षण अस्पतालमा युरो तथा किड्नी प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन् । 
डा चालिसेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपिकेएचआइस) धरानबाट एमबिबिएस र सर्जरीमा विशेषज्ञता (एमएस) गरेका हुन् । काठमाडौंको चुच्चेपाटीस्थित भृकुटी माध्यामिक विद्यालयबाट एसएलसी गरेका उनले काठमाडौं युनिभर्सिटीबाट आइएससी गरे। 

चिकित्सा विज्ञानमा रुची भने दाइ–साथीका कारण बढेको उनी बताउँछन् । उनका फुपूका छोरा आइओएममा एचए पढ्थे । उनी त्यहाँ बरोबर गइरहन्थे ।  चिकित्सक र चिकित्साका विद्यार्थीका कारण उनलाई यतातिर आकर्षण बढेको थियो । उनलाई पनि आइओएममै पढ्ने रुची थियो, तर नाम निस्केन । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ३० जनाको कोटामा ३०औं नम्बरमै उनको नाम निस्कियो । आफ्नो रुचीको विषय भएकाले उनको पढाइको रफ्तार बढ्यो र उपचार कौशल पनि राम्रो बन्दै गयो। 

युरोलोजी विषयमा चाख धरानमै एमबिबिएस र एमएस गर्दा जागेको बताउँछन् डा चालिसे । युरोलोजिस्ट नै बन्ने सपना पाल्नुका ३ कारण बताए उनले । पहिलो, धरानमा उनलाई पढाउने युरोलोजिस्ट डा चन्द्रशेखर अग्रवाल । जसको सिकाइबाट उनी प्रभावित थिए र युरोलोजीमा रहर जागेको थियो । दोस्रो, अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज (एम्स) बाट विपिकेएचआइसमा छोटो समयका लागि तालिम दिन आउने युरोलोजिस्टहरु । जो उनलाई आफ्नो रोलमोडेल लाग्न थाले । ‘उहाँहरुलाई देखेपछि बन्नुपर्ने त युरोलोजिस्ट नै रहेछ भन्ने लागेको थियो,’ उनले सम्झिए । तेस्रो, युरोलोजीका बिरामीहरुको चाप । उनलाई अहिले पनि याद छ, ‘युरोलोजीका बिरामीले अस्पतालका सबै डाक्टर मात्रै होइन, पढेर जाने विद्यार्थीलाई सम्म चिन्थे । कति त १५ वर्षदेखि युरोलोजीको समस्या लिएर नियमित जस्तो अस्पताल धाइरहेका थिए ।’ यसबाहेक इमर्जेन्सीमा उपचार सेवा दिँदा युरोलोजीका बिरामीमा तुरुन्तै आउने सुधारबाट प्राप्त हुने हार्दिकताले पनि उनलाई लोभ्याएको थियो। 

डा चालिसेको मनको नेपालमै मिर्गौला प्रत्यारोपण सुरु भएपछि आफूलाई त्यसैमा समाहित गर्ने लोभ पनि जागेको थियो । संयोगले नेपालमा पहिलोपल्ट मिर्गौला प्रत्यारोपण हुँदा उनले सिकारुका रुपमा साँक्षी बस्न पाए । अर्थात् सन् २००८ मा नेपालमै मिर्गौला प्रत्यारोपण थाल्दा उनी एमसिएचको विद्यार्थीका रुपमा सहभागी भएका थिए। 

शिक्षण अस्पतालमा निरन्तर मिर्गौला प्रत्यारोपण हुन थाल्यो । विद्यार्थीका रुपमा उनले प्रत्यारोपण सिक्नुका साथै अध्ययन र अनुसन्धान गर्न पाए । उनले एमसिएच सकेको एक वर्षमै प्रत्यारोपण सर्जनका रुपमा लाइसेन्स पनि पाए । त्यसपछि उनले निरन्तर मिर्गौला प्रत्यारोपण सेवा दिइरहेका छन्। 

आफूले दिने सेवाको स्तरसँगै सेवा दिने ठाउँ र समग्र परिवेशलाई सुधार्नुपर्छ भन्ने मान्यताका पक्षधर हुन् डा चालिसे । युरोलोजीमा बिरामीको बढ्दो चापका कारण सेवा विस्तार गर्नैपर्ने उनले देखेका छन् । उनी भन्छन्, ‘शिक्षण अस्पतालमा युरोलोजीका बिरामीको चाप निकै छ । त्यसैले छुट्टै युरोलोजी सेन्टरको विकास गरेर अघि बढ्दा मात्रै हामी चाप धान्न सक्ने अवस्थामा पुग्छौं।’

अहिले पनि शिक्षण अस्पताल लगायत सरकारी अस्पतालमा युरोलोजीमा शल्यक्रिया चाहिने बिरामीले केही महिना पालो कुनुपर्ने अवस्था छ । शिक्षण, वीरजस्ता ठूला सरकारी अस्पतालमा दुई सिफ्टमा शल्यक्रिया गर्ने अवस्था सिर्जना गर्नैपर्ने उनले देखेका छन् । उनी भन्छन्, ‘अहिले ७ घन्टा मात्रै अप्रेशन थिएटर चलिरहेको अवस्था छ । दुई सिफ्टमा शल्यक्रिया सेवा दिएर बिरामीको लाइन घटाउन सकिन्छ।’

गुणस्तरका लागि मात्रै होइन, धेरैलाई सेवा दिन एक संस्था, एक चिकित्सक अवधारणामा जानैपर्ने उनको दृष्टिकोण छ । ‘यसले एकातिर बिरामी र डाक्टरबीचको ग्याप पुर्छ । अर्कातिर डाक्टरले एकै ठाउँमा समर्पित भएर काम गर्न पाउँछ,’ उनले भने, ‘हामीले एकै ठाउँमा केन्द्रित हुन नपाउँदा पनि डाक्टरको कार्यक्षमता अनुसार बिरामी लाभान्वित हुन सकेका छैनन् । हामी विभिन्न अस्पतालमा काम गरेर धेरै समय त दिइरहेका हुन्छौं, तर बिरामीलाई भन्दा बाटोमा समय बढी खर्च हुने अवस्था छ।’ 

सरकारले पनि चिकित्सक र चिकित्सा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने ठान्छन् डा चालिसे । उनी भन्छन्, ‘एउटा राम्रो विशेषज्ञ बन्नका लागि एउटा व्यक्तिले ४० वर्षको उमेर पार गर्छ र लगानी पनि त्यही अनुसारको हुन्छ । सरकारले डाक्टर र अरु कर्मचारीलाई हेर्ने दृष्टिकोण फरक पार्नुपर्छ।’ 

आफूले विशेषज्ञता हासिल गरेको युरोलोजी सेवालाई प्रभावकारी र विश्वसनीय बनाउन आफ्ना तर्फबाट सक्दो प्रयास गरिरहेका छन् डा चालिसे । युरोलोजी सेवालाई सहज, व्यवस्थित र सबैको पहुँचमा पुर्‍याउने सोचका साथ उनी भर्खरै नेपाल युरो सर्जन सोसाइटीका महासचिव भएका छन्। 

नयाँ अनुसन्धान, उपकरण र अध्ययन मार्फत् युरोलोजीका सबै डाक्टरलाई थप दक्ष बनाउँदै लैजाने सोसाइटीको योजना छ । उनी भन्छन्, ‘बिरामीलाई गुणस्तरीय उपचार सेवा दिन हाम्रा सदस्यलाई निरन्तर मेडिकल शिक्षा र समन्वयमा ध्यान दिनेछौं।’

नेपालभरिका बिरामी सामान्यभन्दा सामान्य युरोलोजीसँग सम्बन्धित समस्याको उपचार खोज्दै काठमाडौंका अस्पताल धाउने गरेको उनले देखेका छन् । त्यसैले उनी रिफरल प्रणालीको विकासमा जोड दिन्छन् । यस बाहेक ७ वटै प्रदेशमा युरोलोजीको चेकजाँच र उपचार हुने र सबै क्षेत्रमा कार्यरत डाक्टरको नेटवर्क बनाउने पनि उनको योजना छ । 
सर्जनको सीप हेरेर होइन, बिरामीको अनुहार हेरेर शल्यक्रिया शुल्क तोक्ने अस्पतालको प्रणालीप्रति पनि असन्तुष्ट छन् । उनलाई लाग्छ, ‘अस्पतालले आफूले दिने सेवा अनुसार शुल्क तलमाथि गर्न सक्छ । तर, जुन अस्पतालमा सर्जरी गरे पनि सर्जनको शुल्क निश्चित हुनुपर्छ ।’
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Bikash Gupta लेख्नुहुन्छ बैशाख २४, २०७५ सोमवार १२:३५:३८
Excellent Pawan, you are Nepal’s pride and I support your vision of referral ...

यसमा तपाइको मत



पढ्नै पर्ने