विचार/ब्लग

बुबाको सेवा देख्दा मेरो बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलायो : डा. उपेन्द्र देवकोटा

 

-

डा. उपेन्द्र देवकोटा एसियाकै चर्चित न्युरोसर्जन हुन्। पित्तनलीको क्यान्सरका कारण यतिबेला उनी आफ्नै अस्पतालमा उपचाररत छन्। बेलायतमा पाँच महिना उपचार गरेर अघिल्लो शनिबार नेपाल फर्किएका हुन्। उपचारका क्रममा उनको रोग निको पार्ने प्रयास सफल नभएपछि उनी बाँकी जीवन नेपालमै जिउँछु भनेर नेपाल फर्केका हुन्। बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको भिभिआर्इपी कक्षामा उनी उपचाररत छन्। गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए। उनले वीर अस्पतालमा २५ वर्ष सेवा गरे। ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै राम्रा कामको सुरुवात गरे। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उनकै पालामा आएको हो। स्वास्थ्य खबरपत्रिकासंग  केही समयअघिको लामो कुराकानीमा उनले आफ्ना विद्यालय जीवनका रोचक क्षण, व्यवसायिक जीवनका सफलता र अनुभवलाई खुलेर बाँडेका छन् :

घरबाटै सुरु भएको थियो सपना

डाक्टर बन्ने सपनाले घरबाटै पालुवा हाल्न शुरु गरिसकेको थियो। बुबा होमनाथ कविराज हुनुहुन्थ्यो। बुबाले पुर्या।एको सेवा देख्दा मेरो बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलाउन थालेको थियो। अझ घरमा रहेको पाठशालाको वातावरणले मलाई पढ्नुपर्छ भन्ने हुटहुटी जगाइरहन्थ्यो। पाठशालामा नुवाकोट त्रिशुलीदेखिका मानिसहरु पढ्न पुग्थे। एकप्रकारको गुरुकुल परिवेशमा हुर्किएका थिएँ म। घरकै पाठशालाका गुरुहरुको काखमा गोरखापत्रबाट क, ख सिकेँ।

त्यसपछि एकैपटक कक्षा २ मा भर्ना भएँ। पाँच कक्षादेखि अमरज्योति मावि लुइटेल भर्ना भएँ। विद्यालय तहको अतिरिक्त क्रियाकलापमा अगाडि नै हुन्थेँ। विद्यालयमा जुन सदनमा हुन्थें त्यसमा १८–२० नम्बर ल्याइदिन्थें। भलिबलदेखि खेलकुद, वादविवाद, वक्तृत्वकलाका मञ्च र निवन्ध प्रतियोगितामा कहिल्यै दोस्रो भइन। मेडिकल कलेज पढ्दासमेत मलाई धेरैले भलिबल खेलाडीका रूपमा चिन्थे।

पाठ्यक्रमबाहिरको ज्ञानमा पनि ‍औधि रुचि थियो। तिनताका देवकोटा गाउँको पुस्तकालयमा सचिव पनि भइयो। विद्यालय सकिएपछि म लगायतका विद्यार्थी पालैपालो लाइब्रेरियन बन्थ्यौं। सातामा एकपटक पुस्तकालयको बैठक बस्थ्यो। हामीहरु आफैँ माइन्युट लेख्थ्यौं। पछि मन्त्री हुँदा देखें मन्त्रिपरिषद्को माइन्युट पनि त्यहीस्तरको हुन्थ्यो।

सचिवको हैसियतले मैले बेलायती, अमेरिकी र भारतीय दूतावासदेखि नाम चलेका लेखक, प्रकाशन गृहको ठेगाना खोजेर पत्राचार गरी पुस्तक मगाएँ। वेलायती दुतावासले एक सय ५० थान पुस्तक ठाँटीपोखरी एयरपोर्टसम्म पठाइदिएछ। हातमा पत्र पुग्नेबित्तिकै म पुस्तक लिन एयरपोर्ट पुगें। पुस्तकालयका कारण गाउँमा पढ्ने संस्कृति नै बनिसकेको थियो। राजधानीबाट निस्कने गोरखापत्र पाँच दिनपछि गाउँमा पुग्थ्यो। मधुपर्कका प्रत्येक अंक पनि लिगलिग गाउँ आइपुग्थें।

७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोलेका थियौं। त्यसको विधान आफै लेखें। पालैपालो पदाधिकारी परिवर्तन हुन्थे। धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाए। तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर जुवासमेत बन्द गराइयो।

चिकित्सक बन्ने सपना बाल्यकालदेखि कै थियो। एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरें। बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच थियो हाम्रो। भर्ना गर्दा फष्ट डिभिजन पनि आउँदैन भन्ने सुनेर केही दिन म्याथम्याटिक्सको कक्षामा समेत गएर बसें। बायोलोजीको विकल्प थिएन। आइएस्सीमा बायोलोजीमा एक नम्बरले डिस्टिङसन पुगेन। त्यसअघि बायोलोजीमा कसैको फस्ट डिभिजन आएको थिएन।

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरें। त्यहाँबाट फर्किएपछि एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाएँ।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भएँ। पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरें। त्यतीबेला विभागीय प्रमुख थिए –डा.दिनेशनाथ गंगोल। काम सुरु गरेको दुई वर्षमै सर्जरी विभागमा रजिष्ट्रार भएँ। पाँच वर्षपछि न्युरोसर्जरी पढ्न बेलायत गएँ।

बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो। तर त्यहाँका विलासिताले तानेन। मैले भने ‘मैले यस्ता संस्था नेपालमै बनाउँनुपर्छ।’ अनि फर्किएँ नेपाल र सुरु गरें न्युरोसर्जरी सेवा।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने