विचार/ब्लग

स्वास्थ्य प्रतिष्ठान स्थापनाका उद्देश्य र आधार

 भीम प्रसाद पौडेल

प्राज्ञिक क्रियाकलाप सहितको स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय स्वास्थ्य प्रतिष्ठान हुन् । संविधानमा नै स्वास्थ्यसम्बन्धी मौलिक हक र मुलुकको स्वास्थ्य नीतिको सफल कार्यान्वयन गर्न सहज हुने विश्वासका साथ स्वास्थ्य प्रतिष्ठानको कल्पना गरिएको हो ।

स्वास्थ्य प्रतिष्ठान ऐनको प्रस्तावनामा नै स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा सुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान  स्थापना गरिएको उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नागरिकमा पुगोस् भन्ने सोचका साथ स्थापीत प्रतिष्ठानहरुले मौलिक व्यवस्थापनमा स्वास्थ्यका विभिन्न सूचकहरुमा प्रगती गर्नेछन् भन्ने अपेक्षा हो ।

सामान्यत अस्पतालहरुले स्वास्थ्य सेवा मात्र प्रदान गर्छन् भने स्वास्थ्य प्रतिष्ठानहरुले स्वास्थ्य सेवाका साथै अनुसन्धान र  नवीनतालाई केन्द्रविन्दुमा राख्दै देशलाई चाहिने स्वास्थ्यकर्मी उत्पादन गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य प्रतिष्ठान स्थापनाका मुख्य चार उद्देश्य 

१. सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह 
२.प्राज्ञिक क्रियाकलाप जस्तै अध्ययन, अनुसन्धान आदि । 
३.स्वास्थ्य सेवामा नवीनता 
४.दक्ष स्वास्थ्यकर्मी 

यी सबै उद्देश्य हासिल गर्न हरेक ठाउँमा स्वास्थ्य प्रतिष्ठान स्थापना गरिएको हो । यसले गर्दा जनताको स्वास्थ्य सेवामा पहुँच वृद्दि भई समग्रमा जनस्वास्थ्यका विभिन्न सूचकमा सकारात्मक परिवर्तन आउछ । मानव विकास सुचकांकमा समेत उल्लेख्य सफलता हासिल गर्दै देश समृद्दितर्फ अगाडि बढ्छ भन्ने विश्वास हो ।

नेपालमा स्थापना गरिएका प्रतिष्ठानहरुको ऐनमा प्रयोग गरिएका शब्दावलीको अर्थ र मर्म एक आपसमा बाझिएकाले गर्दा पनि यदाकदा विवाद र एकखाले अन्यौलता कायम रहेको अवस्था छ । राज्यले नै यो अन्यौलता र द्वैधपना चिर्नुपर्छ । राज्यको अनुदानमा निर्भर हुनुपर्ने प्रतिष्ठानको स्वशासीत अधिकार के–के हुन सक्छन् यो एउटा बहसको बिषय बन्नसक्छ । वास्तवमा आधार र दिशा तय भएपछि मात्र प्रतिष्ठानहरु स्थापना भएको भए आज देखिएको एकखाले अन्यौलता हुने थिएन ।

यहाँ स्वास्थ्य प्रतिष्ठानको स्वरुप निर्धारण गर्न आवश्यक आधारहरु चर्चा गर्न खोजिएको छ । 

स्वास्थ्य प्रतिष्ठानको स्वरुपका आधारहरु

१.नीति र प्रक्रियागत आधार 
मुलुकको आम जनस्वास्थ्य प्रतिको नीति अर्थात् स्वास्थ्य नीति स्पष्ट हुनुपर्छ । यसका लागि निजी, सरकारी, सहकारी तीनखम्बे अर्थ नीति जस्तै स्वास्थ्यमा निजी क्षेत्र, सरकारी र सहकारीको भूमिका के रहन्छ स्पष्ट आउनुपर्छ । धेरै ठाउँमा सुनिन्छ शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुराहरु राज्यले जिम्मा लिनुपर्छ । के राज्यले यी कुराको जिम्मा लिन सक्छ–सक्दैन भने कुन भूमिका कसलाई, स्पष्ट छुट्याइदिनुपर्छ । यसपश्चात सो भूमिकाको विवादरहित र सहज प्रक्रियागत आधारहरु स्पष्ट बनाइनुपर्छ तबमात्र स्वास्थ्य प्रतिष्ठानको आवश्यकता र यसको स्थापनाका आधारहरु तय हुन्छन् ।

२. क्षेत्रगत र संरचनागत आधार 

राज्यको नीतिले स्वास्थ्य क्षेत्रको स्पष्ट दिशानिर्देश गरेपछि कुन क्षेत्रमा कस्तो स्वास्थ्य संस्था हुनुपर्ने र त्यसको संरचना कस्तो हुनुपर्ने भन्ने कुराले ठाउँ पाउँछ । गाउँपालिका तथा नगरपालिकामा कस्तो संरचना हुने, प्रतिष्ठानहरु कहाँ हुने, किन हुने तथा त्यसको स्वरुप र संरचना कस्तो हुने सोसम्बन्धी स्पष्ट हुनुपर्छ ।

३.पूर्वाधारगत आधार 
कस्तो स्वास्थ्य संस्थाको पूर्वाधार कस्तो हुनुपर्छ भन्ने बारेमा यकिन भयो भने अर्थात् अस्पताल तथा प्रतिष्ठानको पूर्वाधार कस्तो हुनुपर्ने, तिनको सेवा क्षेत्र के–के हुने भन्ने पनि स्पष्ट हुनुपर्छ । सेवाअनुसार पूर्वाधारहरु  बनाउनुपर्ने भएकाले कस्तो सेवा कुन ठाउँबाट दिन सकिन्छ ? कसरी सेवालाई झन्झटरहित र सहज बनाउन सकिन्छ, त्यसका लागि भूबनौटदे िवातावरणको विषयसम्म अध्ययन गरिनुपर्छ  र सोका आधारमा पूर्वाधारहरु निर्माण हुनुपर्छ ।

४. आर्थिक उपार्जनका आधार 
एउटा स्वास्थ्य संस्था निर्माण गर्दा यसको आम्दानीका आधार के–के हुन सक्छन् भनेर पहिले नै निक्र्याैल गर्नुपर्छ । पूर्ण सरकारी हो भने तलबभत्ता तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने रकमलगायत अन्य खर्चका लागि सरकारले  अनुदानको व्यवस्था गर्नुपर्छ । स्वायत्त हो भने के–के कुरा स्वायत्त हुन् सो स्पष्ट पार्दै संस्था आर्थिक हिसाबले स्वायत्त हुन सक्छ कि सक्दैन, यदि सक्छ भने त्यसको आर्थिक उपार्जनका आधार के–के हुन सक्छन् त्यसको खोजी हुनु जरुरी हुन्छ । आर्थिक श्रोतको स्पष्ट आधारविना संस्थाले कुनै पनि कार्यक्रम सञ्चालन गर्न सक्दैन । तसर्थ आर्थिक उपार्जनका स्पष्ट आधारविना कुनै पनि संस्था न त पूणर््ा स्वायत्त हुनसक्छ नत सेवा प्रवाहमा दिगोपना नै आउँछ । 

५. दृष्टिकोण र वैचारिक आधारहरु
स्थापना भएपछि कुनै पनि स्वास्थ्य संस्था कसरी लैजानुपर्छ, सोसम्बन्धी मार्गचित्र र समयसीमा सहितको स्पष्ट दृष्टिकोण हुनुपर्छ । अवस्था उल्लेख गर्दै आवश्यक नीति तथा योजना एवं सोका लागि अनुमानित बजेट  त्यसको श्रोत र समयसीमाका विन्दुहरु कायम गर्न सक्नुपर्छ । संस्थाको आगामी दिशा लक्ष्य अनुरुपको स्पष्ट हुनुपर्छ । त्यसो भएमात्र उक्त लक्ष्य हासिल गर्न वार्षिक कार्यदिशा के हुन सक्छ, रणनीतिक योजना र त्यसका लागि कुन कार्यक्रम उपयुक्त हुन्छ सोबारेमा वैचारिक आधार पनि स्पष्ट हुनुपर्छ । 

६.जनविश्वासका आधार
सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने कुनै पनि स्वास्थ्य संस्थाले आफूप्रतिको जनविश्वासलाई कहिल्यै पनि कमजोर बनाउनु हुँदैन । जनविश्वास भनेकै वस्तुगत धरातल हो । जनताले मुल्यांकन गर्ने भनेको आफूले उपभोग गर्ने सेवा सहजताको तह र सोको गुणस्तर मापन हो । जनविश्वास कायम गरिरहन सक्नु एक महत्वपूर्ण उपलब्धी हो । यसलाई त्यहाँ कार्यरत प्रतिष्पर्धी स्वास्थ्यकर्मीको सहभागीताले ठूलो सकारात्मक प्रभाव पार्दछ । तसर्थ स्वास्थ्य प्रतिष्ठानहरु सञ्चालन गरिरहँदा जनविश्वासका आधारहरु पनि स्पष्ट हुनुपर्छ ताकि प्रतिष्ठानलाई हरेक जनताले सहर्ष अपनत्व महसुस गर्न सकुन् । 

७.गुणस्तर वृद्दिका आधार 
विश्वास र गुणस्तर एक अर्काका परिपुरक हुन् । जहाँ सेवाको उच्च गुणस्तर छ त्यहाँ विश्वास हुन्छ । जनविश्वास वृद्दि गर्न गुणस्तर वृद्दि गर्नुपर्ने हुन्छ । गुणस्तरमा कुनै पनि खालको सम्झौता हुनुहुँदैन । स्वायत्तता गुणस्तर वृद्दिका लागि हो, स्वच्छाचारिताका लागि होईन यसर्थ गुणस्तर वृद्दिका स्पष्ट आधार पहिचान गरि सो अनुसारका कार्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ । 

८. कर्मचारी व्यवस्थापनको आधार
सेवा अन्ततः चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत् नै प्रवाह हुन्छ । तसर्थ प्रतिष्ठानलाई सम्पूर्ण कर्मचारीले अपनत्व महसुस गर्ने परिस्थिति निर्माण गर्नुपर्छ । कर्मचारीको क्षमता र उनीहरुप्रतिको विश्वास सिधै सेवाको गुणस्तरसंग सम्बन्धित हुन्छ । तसर्थ कर्मचारी व्यवस्थापन भावनामा बगेर होईन, वस्तुगत आधारहरुको अध्ययन गरि अत्यन्त जिम्मेवारीका साथ तटस्थतापूर्वक गर्र्नुपर्दछ । प्रतिष्ठानकोे गरिमा र सोप्रतिको विश्वास बढाउन प्रतिष्पर्धात्मक प्रणालीको कुनै पनि विकल्प हुनसक्दैन, चाहे प्रतिष्ठान पूर्ण स्वशासीत होस् वा सरकारी । तसर्थ सफल प्रतिष्ठानका लागि कर्मचारी व्यवस्थापनको स्पष्ट आधार हुनु जरुरी हुन्छ ।

९.अनुसन्धान र नवीनताका आधार
नवीन, जागरुक र सकारात्मक सोच भएका व्यक्तिको उपज नै नवीनता हो । यसका लागि अध्ययन, अनुसन्धान तथा सो अनुसारको जनशक्ति र वातावरण आवश्यकता पर्दछ । अनुसन्धान र नवीनताविना कुनै पनि स्वास्थ्य प्रतिष्ठानको स्थापना तथ्यपरक रुपमा सिद्घ हुन सक्दैन ।अनुसन्धान र नवीनता जनताले देख्ने, बुझ्ने र महशुस गर्ने खालको हुुनुपर्छ । स्वास्थ्य प्रतिष्ठानको सफलता अनुसन्धान र नवीनतामा पनि भर पर्दछ । तसर्थ यिनीहरुको आधार पनि स्पष्ट पार्नुपर्दछ ।

१०. आर्थिक पारदर्शिताका आधार 
कुनै पनि स्वास्थ्य संस्थाको उन्नयनमा आर्थिक क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्दछ । आर्थिक उपार्जनको बाटो निर्माण गर्दैै संस्थाको विकासका लागि सही ठाउँमा खर्च गर्न सक्नु वा नसक्नुले पनि महत्वपूर्ण अर्थ राख्दछ । पारदर्शिता कुनै पनि जनउत्तरदायी संस्थाको सबैभन्दा पहिलो शर्त हुन आउँछ यसका लागि अनियमितता तथा भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गर्नैपर्छ र सोहीअनुसार आर्थिक पारदर्शिताका आधार स्पष्ट पार्नुपर्दछ ।

११.प्राज्ञिक क्रियाकलापका आधार 
स्वास्थ्य प्रतिष्ठानको मुख्य क्रियाकलाप नै प्राज्ञिक क्रियाकलाप हो । यस सम्बन्धमा कुन तहको कुन कुन बिषयको अध्यापन गर्न सकिन्छ सोसम्बन्धी अध्ययन हुनु जरुरी हुन्छ । तत्पश्चात आवश्यक पूर्वाधार निर्माण, शिक्षक विद्यार्थी व्यवस्थापन, अर्थ व्यवस्थापनजस्ता विषयवस्तुलाई पनि नजरअन्दाज गर्नुहुँदैन । विद्यार्थीले हासिल गरेको प्रमाणपत्रको अन्तर्राष्ट्रिय समानता र मान्यताका बारेमा पनि स्पष्ट हुनु जरुरी हुन्छ ।  तसर्थ स्वास्थ्य प्रतिष्ठानमा सञ्चालन गरिने हरेक प्राज्ञीक क्रियाकलापका बस्तुगत आधारहरु स्पष्ट हुनुपर्छ ।

यसरी माथि उल्लेख भएका न्यूनतम आधार हासिल नगरेसम्म वा ती आधार स्पष्ट नहँुदासम्म कुनै पनि स्वास्थ्य प्रतिष्ठानको स्वरुप स्पष्ट हुँदैन जसले गर्दा न त अन्यौलताको अन्त्य हुन सक्छ न त प्रतिष्ठानको सेवामा दिगोपना नै कायम हुनसक्छ । स्वास्थ्य प्रतिष्ठानको स्थापना स्वास्थ्य क्षेत्रकै कोशेढुंगा सावित हुनेगरी पवित्र सोचको साथको गरिए पनि यसका लागि राज्यले नीतिगत कुराहरु वस्तुगत यथार्थमा आधारित भएर स्पष्ट पार्नुपर्दछ ।

हरेक प्रतिष्ठानमा देखिएको अन्यौलताका विषयमा राज्य बढी जिम्मेवार हुुनुपर्ने आवश्यकता छ । अन्यौलताले अस्तव्यस्तता निम्त्याउन सक्छ र अन्ततोगत्वा समग्र जनमानसमा नै स्वास्थ्य सेवाप्रति नकारात्मक सन्देश प्रवाहित हुनसक्छ । जसरी स्वास्थ्य समस्या परिवर्तित भईरहन्छन्् त्यसरी नै स्वास्थ्य सेवा प्रवाह पनि गतिशिल हुनु आवश्यक छ ।

तसर्थ यो गतिशिलता कायम गर्न भावुकतामा बगेर होइन उज्वल भविष्यको संकल्प गरि आधारभूत आधारहरु स्पष्ट पार्दै स्वास्थ्य प्रतिष्ठानहरु स्पष्ट दृष्टिकोण, मूर्त र समयसापेक्ष योजना बनाई अगाडि बढ्नुपर्छ । यसैमा स्वास्थ्य प्रतिष्ठानको भबिष्य र मुलुकको स्वास्थ्य नीतिको सफलता लुकेको छ ।


 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने