विचार/ब्लग

वीर अस्पतालमा लगातार २२ घण्टा लामो शल्यक्रिया गरेको त्यो दिन : डा उपेन्द्र देवकोटा

 

बेलायतमा न्युरोसर्जरी अध्ययन सकेपछि करिब ६ वर्ष सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गर्ने अवसर पाएँ। जिन्दगीमा पाएको त्यो एक्स्पोजरले मेरो सोचाई, आँट र सीपलाई अझै परिष्कृत गर्‍यो। तर मलार्इ नेपालमै काम गर्नु थियो। त्यही भएर म बेलायतबाट नेपाल फर्किएँ। 

फर्किएपछि मेरै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो। नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरें। शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर फर्किए। अहिले पनि त्यो दिन सम्झदा गर्व महसुस हुन्छ। नेपालमा न्युरोसर्जरीको विकास गर्न सकिन्छ भनेर देखेको सपना विपनामा परिणत भएको दिन थियो। त्यसपछि अहोरात्र यसको विकासमा लागें। रातदिन नभनी काम गरें।

यहाँसम्मकी लगातार २२ घण्टा लामो शल्यक्रिया समेत वीरमा गरें। त्यो निकै ठूलो उपलब्धि थियो। म सँगै हाम्रो टिम शल्यक्रिया सकिएपछि निकै खुसी भएका थियौं। लगातारको कामले हामी थाकिसकेका थियौं। तर, बिरामीको जीवनभन्दा हामीलार्इ अरु केही थिएन। हामीले लगातार रुपमा काम गरेको देखेपछि आम मानिसमा वीर अस्पतालको सेवामा भरोसा बढ्दै गएको थियो। उपचारका लागि विदेश जानेले पनि नेपालमै उपचार गराउन आएका थिए।

वीर अस्पतालको सरकारी सेवामा २५ वर्ष बिताएँ। सेवाको त्यो दौरानमा हजारौं गरिबलाई उपचार सेवा दिएँ। उपचार सेवा मात्र होइन मैले वीर अस्पतालबाट मात्रै थुप्रै न्युरोसर्जन समेत तयार पार्न सफल भएँ। आफूले सिकेका कुरा अरुमा पनि सिकाउँदै गएँ।

न्युरो सर्जरीका क्षेत्रमा नेपालमा कमै छलफल हुन्थ्यो। मैले बेलायतबाट फर्केपछि यो क्षेत्रमा केही नयाँ गर्ने सोच बनाइरहेको थिएँ। म फर्केको १० वर्षपछि नै नेपालमा मेरै अगुवाईमा सन् १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो। संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए।

वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए। सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले ‘वाहवाह’ गर्यो। त्यतीबेला म निकै खुसी भएको थिएँ।

(कुराकानीमा अाधारित)


यो पनि पढौं

बुबाको सेवा देख्दा मेरो बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलायो : डा. उपेन्द्र देवकोटा

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने