वाशिङटन (सिएनएन)– अमेरिकी चिकित्सकहरुले कार दुर्घटनामा कान गुमाएकी एक सैनिकको पाखुरामा उमारेको कान प्रत्यारोपण गर्न सफल भएका छन् ।
२१ वर्षीया सैनिक शामिका बुराजले दुई वर्षअघि कार दुर्घटनामा देब्रे कान गुमाएकी थिइन् । टेक्सासस्थित विलियम ब्युमन्ट आर्मी मेडिकल सेन्टरका प्लास्टिक सर्जनहरुले पाखुरामा कान उमारेका हुन् । त्यसका लागि उनीहरुले शामिकाको तिघ्राको मासु निकालेका थिए ।
सेनाले यो प्रविधि पहिलोपटक प्रयोग गरेको हो, जसलाई ‘प्रिल्यामिनेटेड फोरआर्म प्रि फ्ल्याप’ भनिन्छ । आर्मी मेडिकल सेन्टरका प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका प्रमुख ओवेन जोन्सनले नयाँ कानमा ताजा धमनी र स्नायु रहेको उल्लेख गर्दै यसबाट शामिकाले चाँडै महसुस गर्ने बताए ।
अझै २ वटा शल्यक्रिया गर्न बाँकी रहेपनि आफू भविष्यप्रति आशावादी रहेको शामिकाले बताइन् ।
दुर्घटनापछि शामिकाले कृत्रिम कानसहितको जीवन जिउने उद्देश्यले सैनिक सेवाबाट राजीनामा दिइन् । तर विचार परिवर्तन गरी प्लास्टिक सर्जरी गर्ने विकल्प छनौट गरिन् । तर आर्मी मेडिकल सेन्टरका सर्जनहरुले पाखुरामा कान उमारेर प्रत्यारोपण गर्ने प्रस्ताव गरेपछि सुरुमा उनी छक्क परिन् । तर वास्तविक कान प्राप्त गर्ने आशाले सर्जनहरुको प्रस्ताव स्वीकार गरेको उनले बताइन् ।