ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वायू प्रदुषण न्यूनिकरण गर्न महानगरपालिकाले कामहरु गरिरहेको जानकारी दिएका छन्। शुक्रबार ललितपुरमा आयोजित वायू प्रदुषण न्यूनिकरणसम्बन्धि कार्यक्रममा मेयर महर्जनले बढ्दो वायू प्रदुषणले मानवस्वास्थ्यमा गम्भिर असर गरिरहेकाले महानगरले यसमा काम गरिरहेको जनाएका हुन्।
उनले महानगरले चार वटा इलेक्ट्रिक बस ल्याउने लागेको जानकारी दिए। यस्तै महानगरभित्र साइकलमैत्री सडक निर्माणमा पनि आफूले योजना बनाइरहेको बताए।
उनले भने, ‘हामी वायू प्रदुषण न्यूनिकरण गर्नेतर्फ गम्भिर भएर काम गरिरहेका छौं, यसका लागि नयाँ आर्थिक बर्षमा बजेटको व्यवस्थासमेत गरेका छौं।’
मेलम्ची खानेपानी आयोजनाका कारण धुलोको समस्या व्यापक भएको उल्लेख गर्दै मेयर महर्जनले चाँडो यो आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए । ‘मेलम्चीका कारण जतात्यतै सडक खनिएका छन्, सडक खन्ने तर त्यसलाई समयमै समयमै नपुर्ने समस्या कायमै छ’, उनले भने, ‘मेलम्ची आयोजना सम्पन्न भएपछि केही हदसम्म वायू प्रदुषणको समस्या कम हुन्छ ।’ सडकमा रहेको धुलो हटाउन महानगरले ब्रुमर ल्याउने तयारी गरिरहेको समेत जानकारी दिए । उनले ललितपुरलाई बस्न योग्य बनाउन आफू सक्रिय भएर लागेको दावी गरे ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागकी उपमहानिर्देशक एवम् प्रवक्ता सफला श्रेष्ठले सरकारले वायू प्रदुषण कम गर्न विभिन्न योजनाहरु अगाडि सारिरहेको जनाउँदै महानगरसंग हातेमालो गर्न तयार रहेको बताइन् ।
उनले भनिन्, ‘मन्त्रालयले पनि यस क्षेत्रमा काम गरिरहेको छ, हामी सहकार्य गरेर वायू प्रदुषण क मगर्न काम गर्न तयार छौं ।’
कार्यक्रममा सहभागितहरुले पुराना सवारीसाधनहरु पनि वायू प्रदुषण बढाउने प्रमुख कारक भएका कारण यसलाई महानगरले हटाउनुपर्ने सुझाव दिएका थिए । यस्तै सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समुदायसंग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।