विचार/ब्लग

नर्स तारा पोखरेलको सम्झना: स्कुल गएकै दिन केटा कुटेकोदेखि बिहे गरिदिए 'बिद्रोह' गर्ने धम्कीसम्म

 

पहिलो विद्रोह

स्याङजाको कृष्णगण्डकी गाउँ विकास समितिमा जन्में । तिनताक गाउँमा छोरीलाई स्कुल पठाउने चलन थिएन । ९ वर्षको उमेरसम्म पनि मैले स्कुल कस्तो हुन्छ भनेर देखेंकी थिइन । मेरा दिनहरु त्यत्तिकै खेलेर, डुलेर बितिरहेका थिए । 

एकपटक गाउँको स्कुलमा बडाहाकिम आउने कुरा सुनें । ‘बडाहाकिम’ । शब्द सुन्दैमा अनौठो लाग्यो । के होला बडाहाकिम, कस्तो होला बडाहाकिम । हेर्न मन लाग्यो । गाउँका स्कुल जानेहरुको पछि लागेर म पनि स्कुल गएँ । 

स्कुलमा पहिलोपटक मैले पाइला टेकें ।

बडाहाकिम हेर्न स्कूलका अरु बच्चाहरुसंगै लाइनमा लागें । 

सुकिला लुगा लगाएका ठूला जिउ भएका मानिसहरु आए । 

तर बडाहाकिम को हुन् थाहै पाइन । 

तै पनि बडाहाकिम हेर्न पाइदोरहेछ अर्को दिन पनि स्कुल आउनुपर्छ भन्ने लाग्यो । 

गोजीमा एक रुपियाँ थियो । ५० पैसाको सिलट (लेख्ने पाटी) र ५० पैसाको किताब किनेर घर आएँ । 

घर आएर बा आमा, दाजुभाइ जम्मा भएको ठाउँमा भनें, ‘भोलिदेखि म पनि स्कुल जान्छु ।’ सबैजना गलल्ल हाँसें । मानौं म चुट्किला सुनाइरहेकी छु । 

‘ल यसले स्कुल गएर कसलाई कुट्छे अब ।’ मलाई जिस्क्याउन पो थाले । 

म रोएँ । त्यसको एक दुई दिन त भातै खाइनँ । भातै नखाएर मर्ने भई भनेर बल्ल बाआमा स्कुलमा नाम लेखाउन जानुभो । 

त्यो बेला ९ वर्षकै उमेरमा बिहे गर्ने चलन थियो । तर म स्कुल भर्ना भएँ । यसरी मैले घरमा पहिलो बिद्रोह गरें ।

स्कूलको पहिलो दिन

एउटा मगर केटा आयो र मलाई जिस्क्याउँदै भन्यो ‘ए झुसी बाउनी’

मलाई निकै रिस उठ्यो । त्यसलाई समातेर बेस्सरी पिटें । उसले आफ्नो आमालाई भनेछ । आमा आएर मलाई झन्डै नपिटेकी । 

भर्ना भएको तीन महिनामा म शिशु कक्षाबाट एक कक्षामा  गएँ । अर्को चार–पाँच महिनामा दुई कक्षामा गएँ । त्यतिबेला कक्षा चढाउन एक वर्ष कुर्नपर्दैनथ्यो । २ कक्षामा पढ्न थालेपछि हामी बसाईं सरेर बुटबल आयौं । त्यसपछि पढ्नलाई त्यति दुःख गर्नुपरेन । त्यतिबेला मेरो बिहे गर्ने भनेर घरमा कुरा चलाउने र मान्छेहरु हेर्न आइरहेका हुन्थे । मलाई त्यो मन पर्दैनथ्यो । 

बिहेमा नै विद्रोह

एकपटक अत्ति नै भएपछि ‘अब केटा ल्याउनुभो भने बिहेमा नै विद्रोह गर्छु’ भनेर बाआमालाई भनें । अनि बा डराएर ज्योतिषीकहाँ जानुभएछ । ज्योतिषीले १६ वर्ष नपुगिकन बिहे गरिदियो भने यो केटी घर छाडेर हिड्छे भनिदिएछन् ।  त्यसपछि बा डराउनु भयो र बिहेको कुरा गर्न छाड्नुभो । 

०००

नर्सिङ यात्रा

स्कुलमा भर्खर ६, ७ कक्षा पढ्दै गर्दा साथीहरु नर्सिङ पढ्नुपर्छ भन्थे । तर मलाई त्यो भनेको के हो थाहा थिएन । घरमा नर्सिङ पढ्ने कुरा गरें । सुरुमा मलाई पढ्न पठाउँन बाआमा डराउनुभो । तर साथीका बाआमा, दिदीदाई जाने भएकाले मेरो जिद्धीका अगाडि बाआमा हार्नुभो । मलाई पठाउन राजी हुनुभो । 

यसरी ८ पास गर्नेबित्तिकै अनमि पढ्न  थालें । त्यसको दुई वर्ष एसएलसी गरें । यो २०३० सालको कुरा थियो ।

२०३१ सालको असारमा स्टाफ नर्सको इन्ट्रान्स दिए र पास भएँ । 

काठमाडौँ आएँ । मैले राम्रो गर्दै गएपछि बाआमाले पनि सजिलै पठाउनुभो । 

२०३५ सालमा स्टाफ नर्स पास गरेपछि त्रिविमा काम गरें । 

पहिलोपटक मरेको मान्छे नजिकबाट देख्दा

नर्सिङ पढ्न जाँदा नेपालगञ्जमा पहिलोपटक मरेको मान्छे नजिकबाट देखेको हो मैले ।  त्यतिबेला बच्चाको आमाभन्दा बढी म रोएको थिएँ । आफ्नै परिवारमै भएजस्तो अनुभूति भएको थियो । 

त्यतिबेला पढेका मान्छे कम थिए त्यसैले काम पाउन गाह्रो थिएन । २०३८ सालमा बिहे भयो । २०३९ सालमा स्नातक पढ्न थालें  । स्नातक सकिएपछि पनि त्रिविमै काम गरें । 

२०५२ सालमा पहिलोपटक नर्सिङमा मास्टर खुलेपछि मैले पनि मास्टर गरें ।

०००

त्यो समय, यो समय

त्यतिबेला पढ्नसमेत घरपरिवारबाट विद्रोह गर्नुपथ्र्यो । तर अहिले मेरी छोरी, मेरी बुहारीलाई नर्सिङ पढाइदेऊ, नर्सिङमा जागिर लगाइदेऊ भन्ने धेरै छन् । 

स्वास्थ्य विज्ञान पढेको मान्छे भए जागिरै नखाएपनि घरपरिवारको स्वास्थ्य राम्रो हुन्छ भन्ने धारणा छ आजकाल । महाराजगन्ज नर्सिङ क्याम्पसको प्रमुख भएर ६ वर्ष काम गरें । त्यो अवधिमा मेरी छोरी, बुहारीलाई नर्स बनाइदेऊ भन्ने धेरै मान्छे आए । 

हामीहरुको पालामा विषय पढेका मानिस कम भएकाले पढाई सक्नेबित्तिकै काम पाइन्थ्यो । तर अहिले नर्सले नै महिनौं बेरोजगार भएर बस्नुपर्ने अवस्था छ । नर्स धेरै छन् । अहिले नेपालमा करिब ७८ हजार ७ सय नर्स छन् । 

त्यतिबेला अस्पतालमा आउने बिरामीको संख्या कम थियो । अहिले अस्पताल जानुपर्छ भन्ने चेतना बढेको छ । आफ्नो स्वास्थ्यका बारेमा जिज्ञासा लिएर आउने मान्छे धेरै छन् ।

तर पहिलाका मान्छेलाई भन्दा अहिलेका मानिसलाई चित्त बुझाउन गा¥हो छ । पहिला स्वास्थ्यकर्मीहरुले भनेका कुरामा बिरामी विश्वास गर्थे । तर तीन–चार ठाउँमा चेक गराएपछि मात्र चित बुझ्छ बिरामीको ।

प्रस्तुति: सिर्जना खत्री

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने