मुख्य समाचार

पिजी भर्नामा मेडिकल कलेजको मनपरी : तोकेभन्दा १६ लाखसम्म बढी शुल्क असुल्दै, विद्यार्थी आन्दोलित


चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) अर्थात एमडी, एमएस, एमडीएसको भर्नामा मेडिकल कलेजहरुले दादागिरी देखाएका छन्। त्रिवि अन्तर्गतका मेडिकल कलेजहरुले सरकारले तोकेको शुल्कभन्दा १० देखि १६ लाखसम्म बढी रकम असुल्न विद्यार्थीलाई दबाब दिन थालेका छन्।

विद्यार्थीसँग तोकिएको शुल्क भन्दा थप रकम माग्नेमा नेपाली सेनाको मेडिकल कलेज समेत रहेको छ। सेनाले योग्ताक्रमका आधारमा भर्ना हुन पुगेका विद्यार्थीलाई मनलाग्दी शुल्क लिन पाउने कबुलियतनामामा हस्ताक्षर गर्न लगाएको छ। 

सेनाको मेडिकल कलेजले विद्यार्थीलाई गराएको ७ बुँदे कबुलियतनामाको दोस्रो नम्बरमा सरकारको नियमविपरित मनलाग्दी शुल्क उठाउने पाउने बुँदा छ। ‘नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले तोकिएको शुल्क तथा अन्य शुल्क बापतको शुल्क समेत तिर्न तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानद्धारा शुल्क बृद्धि गरेको खण्डमा सो समेत तिर्नका लािग मन्जुर छु’ सेनाले विद्यार्थीलाई गराएको कबुलियतनामामा भनिएको छ।

सेनाको मेडिकल कलेजले गराएको यो कबुलियतनामा नियमविपरित छ। नियमअनुसार नेपाली सेनाले सरकारले तोकेको शुल्कबाहेक विद्यार्थीसँग एक रुपैयाँ पनि बढी र अतिरिक्त शुल्क लिन पाउने छैन।

त्रिवि कार्यकारी परिषद्ले यो वर्षका लागि पिजीमा एमडी, एमएस र एमडिएस क्लिनिकल तर्फ अधिकतम २२ लाख र बेसिक साइन्समा १२ लाख ३ हजार ७ सय ७६ रुपैयाँ शुल्क तोकेको छ। 
उक्त शुल्कमा विद्यार्थीको निर्वाह भत्तादेखि, सम्बन्धन सहित संस्थागत शुल्क समेत समावेश भएका कारण कलेजले विद्यार्थीसँग थप रकम लिन पाउने छैनन्।

तर, त्रिविबाट सम्बन्धन प्राप्त सेनाको मेडिकल कलेजसहित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, विरगन्जस्थित नेशनल मेडिकल कलेज, चितवनस्थित चितवन मेडिकल कलेज र पोखरास्थित गण्डकी मेडिकल कलेज रहेका छन्। 

यी कलेजमध्ये भैरहवाको युनिभर्सल र विरगन्जको नेशनलले गत वर्ष पनि योग्यताक्रमभन्दा बाहिर रहेका विद्यार्थीसँग मनलाग्दी शुल्क लिएर विवादमा आएका थिए। यी दुई कलेजले विद्यार्थी भर्नाका क्रममा योग्यता भन्दा पनि पैसालाई बढी प्राथमिकता दिँदै आइरहेका छन्।

विद्यार्थी आन्दोलित

कलेजले नियमविपरित मनलाग्दी शुल्क माग्दै दबाब दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्। विद्यार्थीले आज महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा धर्ना दिएका छन्। विद्यार्थीले आइओएमका डिन डा जगदिशप्रसाद अग्रवाललाई बढी शुल्क लिएको विषयमा जानकारी समेत गराएका थिए। तर, डिन अग्रवालले विद्यार्थीको कुरा नसुनेको भन्दै आन्दोलनमा उत्रेका हुन्।

विरगन्जस्थित नेशनल मेडिकल कलेजले आफूसँग थप १६ लाख रुपैयाँ मागेको भन्दै एक विद्यार्थीले भने, ‘कलेज प्रशासनले म सँग विभिन्न शिर्षकमा गरेर कुल ३८ लाख रुपैयाँ लाग्छ भन्यो। मैले २२ लाख रुपैयाँ तोकेको छ भन्दा त्यो पैसाले जहाँ पढाउँछ त्यही पढ्न जानु यहाँ हुँदैन भनेर फर्कायो।’

धर्नाका क्रममा विद्यार्थीले ‘मेडिकल माफिया खबरदार, विद्यार्थी लुट्न पाइँदैन, तोकिएको शुल्क भन्दा बढी माग्ने कलेजलाई कारवाही गर’ लगायतका नारा लगाएका छन्।

डक्टर्स सोसाइटी नेपालका महासचिव तोसिमा कार्कीले कलेजहरुले निमयविपरित १० देखि १७ लाखसम्म बढी रकम मागिरहेको बताइन्। उनले बढी रकम लिने कलेजलार्इ कारवाहीको माग गर्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको जानकारी दिइन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने