मध्यबिन्दु (नवलपरासी)- नवलपरासीको डन्डास्थित नेपाल मध्यबिन्दु सामुदायिक स्मृति अस्पतालमा कुष्ठरोगका कारण आँखा, हात र खुट्टामा समस्या भएका व्यक्तिका लागि विशेषज्ञ डाक्टरबाट नि:शुल्क अप्रेशन शिविर भएको छ। शिविरमा १४ जना कुष्ठ प्रभावितको निशुल्क शल्यक्रिया गरिएको छ।
कुष्ठरोगका कारण लामो समयदेखि विभिन्न समस्या खेप्दै आए पनि आर्थिक अभाव र गरिबीका कारण अप्रेशन गराउन नसेका बिरामीहरुका लागि दामियन फाउन्डेशनको सहयोगमा मध्यबिन्दु अस्पतालमा अप्रेशन शिविर सञ्चालन गरिएको हो।
शिविरमा कुष्ठरोगको उपचार तथा अप्रेशनका लागि बैतडी, अछाम, डडेलधुरा, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दधाट सुस्तापूर्व), नवलपरासी (बर्दधाट सुस्ता पश्चिम) र चितवन लगायत विभिन्न जिल्लाका ७० जना कुष्ठरोग प्रभावितहरु मध्यबिन्दु अस्पतालमा पुगेका थिए।
चार दिन सम्म चलेको शिविरमा आन्दनवन अस्पताल ललितपुरका अर्थोपेडिक सर्जन डा जयराज आचार्य सहित १० जना स्वास्थ्यकर्मीहरुको टोलीले अप्रेशन लगायतका उपचार सेवा प्रदान गरेको मध्यबिन्दु अस्पतालका कार्यक्रम अधिकृत रामराज पण्डितले बताए।
शिबिरमा उपचारका लागि पुगेका कुष्ठरोग प्रभावित तथा बिरामीहरुलाई घरदेखि अस्पतालसम्म आउन र अस्पातलबाट घरसम्म फर्कन लाग्ने यातायात खर्च तथा अस्पतालमा भर्ना भएको अविधिभर बस्ने र खाने ब्यबस्था समेत अस्पतालले नै मिलाएको कार्यक्रम अधिकृत पण्डितले बताए।
बैसाख २५ गते सम्म चलेको नि:शुल्क अप्रेशन शिविरको उद्घाटन कार्यक्रममा अस्पातलका पूर्वअध्यक्ष कृष्ण बहादुर बस्नेत, दामियन फाउन्डेशन नेपालका प्रमुख डा सुशील कोइराला, आनन्दवन अस्पतालका अर्गोपेडिक सर्जन डा जयराज शर्मा, मध्यबिन्दु अस्पतालका अध्यक्ष चेतनाथ पोखरेल, सहसचिव बद्री नेपाल लगायतका वक्ताले नि:शुल्क अप्रेशन शिविरका विभिन्न पक्षहरुका बारेमा प्रकाश पारेका थिए।
अप्रेशन शिविर उद्घाटन समरोहमा दामियन फाउन्डेशनका प्रमुख डा कोइरालाले कुष्ठरोग प्रभावित तथा अतिथिहरुलाई गुलावको फूल वितरण गर्दै कुष्ठरोग प्रभावितहरुलाई भेदभाव नगरी माया र सम्मान गर्न आग्रह गरेका थिए।