जुम्लाको तिला गाउँपालिकाको सहयोगमा कुडारी स्वास्थ्यचौकीमा राखिएको दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सकिएको छ।
शिविरमा २ सय ६० नि:शुल्क उपचार सेवा लिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जगदीश नेपालीले जानकारी दिए। उनका अनुसार जनरलतर्फ २ सय जनाले र ६० जनाले पाठेघरको उपचार गराएका हुन्।
प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका प्रमुख डाक्डर रत्नवीर सुनारको टोलीले शिविरमा उपचार सेवा दिएको थियो। गाउँपालिकाको जुम्लाकोट, घोडे र कुडारीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत सुरुमा कुँडारीमा आयोजना गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख नेपालीले तीन वटै केन्द्रको शिविरका लागि गाउँपालिकाले औषधि खरिद गरेको बताए। यो आर्थिक वर्षमै सबै तीन वटै ठाउँमा शिविर सम्पन्न गरिसक्नुपर्ने उनले जानकारी दिए।
कुडारीको शिविरमा तिला गाउँपालिका वडा नम्बर ३ र ४ का बिरामी आएका थिए। कुडारी स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रलाल उपाध्यायले स्वास्थ्य चौकीले समेट्न नसकेको वर्गलाई शिविरले उपचार सेवा दिएको बताए।
स्वास्थ्य चौकीमा औषधि अभाव हुने, कर्मचारी नियमित नबस्ने जस्ता समस्या खेप्दै आएका स्थानीयले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएकोमा खुसी प्रकट गरेका छन्।