दुवै खुट्टा गुमाएका एक ७० वर्षे वृद्धले सगरमाथाको सफल आरोहण गरेका छन् । सोमवार नेपाल मोहडाबाट चिनियाँ नागरिक सिया बोयुले सगरमाथाको सफल आरोहण गरेको उनका छोराले वीच्याटमा उल्लेख गरेका छन्।
उनका छोरा क्लाउड सियाले लेखका छन्, 'मेरा बुवाले ४० वर्षदेखिको सपना यथार्थमा परिणत गर्नुभएको छ।'
नेपाली मोहडाबाट सगरमाथाको शिखर चुम्ने पहिलो दुवै खुट्टा नभएका आरोही भएका छन्। यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेको बुझिएको छ।
उनले ४० वर्षअघि पनि सगरमाथा आरोहणको प्रयास गरेका थिए । तर हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने भए । पछि क्यान्सर रोगका कारण उनका दुवै खुट्टा काट्नुपर्यो ।
उनी सोमवार बिहान ८.३० बजेतिर सगरमाथाको शिखर पुगेका हुन् । उनलार्इ नेपालका प्रख्यात पर्वतारोही मिङ्मा जी शेर्पाको समूहले सफल आरोहणमा सघाएको हो।
उनले यसअघि २०१४, २०१५ र २०१६ समेत प्रयास गरेका थिए तर विविध कारणले सगरमाथा आरोहण गर्न पाएनन् ।