नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको छ। शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
गत शनिबार ज्वरो आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। लगत्तै स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार भएको थियो। विगत केहि वर्षयता उनी कलेजोको समस्याले ग्रस्त थिए। त्यही समस्या अहिले बल्झिएपछि उनको अवस्था जटिल बनेको हो। उपचारमा संलग्न चिकित्शकका अनुसार उनको कलेजो फेल भएका कारण निधन भएको हो।
शाहले सन् १९८५ को दोस्रो दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका थिए। त्यतिबेला उनको उमेर १७ वर्ष मात्र थियो। उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाडमा देशको झन्डा बोक्दै इतिहास रचेका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्।
उनको नेपाली फुटबलमा सम्झनलायक थुप्रै खेल छन्। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र स्वर्ण फुटबलबाट प्राप्त भएको थियो। त्यतिबेला नेपाललाई स्वर्ण दिलाउन शाहकै भूमिका निर्णायक थियो।
भारत विरुद्ध फाइनलमा खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए। उनको ‘ट्रेडमार्क’ बायाँ खुट्टाको फ्रि-किक गोलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अन्तत: नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४–३ गोलले जित्यो। पेनाल्टीमा पनि उनले महत्वपूर्ण गोल गरे।
फर्ममा रहेकै अवस्थामा उनले सन् १९९७ मा फुटबलबाट संन्यास लिए।
असीको दशक, जतिबेला अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोना चर्चामा थिए, त्यही बेला उनको जस्तै शैली भएका कारण शाहलाई 'नेपाली म्याराडोना' भन्ने गरिन्छ। म्याराडोनाको जस्तै उचाइ, लामो र कर्ली परेको कपाल, देब्रे खुट्टाले प्रहार गर्नसक्ने र १० नम्बर जर्सी पहिरिएर मैदान उत्रने शाह र म्याराडोनाका समानता हुन्।