देशकै पुरानो वीर अस्पतालले अहिले आफ्नो स्वरुप परिवर्तन गर्दै छ। हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस'को टोली अस्पतालको रङरोगनमा व्यस्त छन् भने त्रिभुवन विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेका खेम शर्माको टोली शौचालय, भित्ता र भुइँको सरसफाइमा व्यस्त छन्।
अस्पतालको पुरानो संरचनाका कारण विगतमा फोहोर र दुर्गन्धित बनेको अस्पताल अहिले क्रमश: चम्किलो र सुन्दर देखिँदै गएको छ। अस्पतालको मुहार फेरिँदै गएपछि कर्मचारीहरु समेत दंग परेका छन्। वीर अस्पताल सफाइ अभियान चलिरहेको समयमा स्वास्थ्यखबरका लागि सिर्जना खत्रीले अस्पतालका केही कर्मचारीको प्रतिक्रिया लिएकी छन्:
मोहन महर्जन, मर्मत शाखा
विगतमा अस्पतालका भित्तामा असरल्ल छरिएका तार थिए। तर, अहिले लिस्टिले छोपेर राम्रो देखिएको छ। तारको व्यवस्थापन मात्र गर्दा पनि अस्पताल सुन्दर देखिने रहेछ। सरसफाइ अभियानले त अस्पतालको स्वरुप नै परिवर्तन भएको छ। झ्याल-ढोकामा रङ लगाइएको छ। यो अभियानमा हामी पनि खटिएका छौं। अस्पतालमा हाम्रो नियमित ड्युटी ९ देखि साँझ ५ बजेसम्म भए पनि सफाइ अभियानमा खट्दा ७ बजिसकेको हुन्छ। काम गर्न निकै रमाइलो लागिरहेको छ। सबै मिलेर काम गर्ने हो भने परिवर्तन हुन्छ। अहिलेको परिवर्तन देखेर अस्पतालमा आएका बिरामी पनि खुसी भएका छन्।
नवराज नकर्मी, इलेक्ट्रिसियन
अस्पताल सरसफाइ गर्ने र तारहरु व्यवस्थित गर्ने भनेर विगतमा विभिन्न योजना बनेका थिए। तर, ती योजना विभिन्न कारणले कार्यान्वयनमा आउन सकेको थिएन। जनशक्तिको कमीका कारण त्यत्तिकै थाती रहेको थियो। तर, अहिले अभियानकै रुपमा काम अगाडि बढेको छ। यो अभियानमा आफू पनि सहभागी भएर अस्पतालको रुप फेर्न पाउँदा निकै खुसी लागेको छ।
राधिका तामाङ, अस्पताल सहयोगी
तीन वर्षअघि मैले काम सुरु गर्दा मैले काम सुरु गर्दा अस्पताल निकै फोहोर थियो। जति सफा गरे पनि सफा देखिँदैनथ्यो। तर, अहिले धुर्मुससहितको टोलीले सफा गरेदेखि अस्पताल गजब देखिएको छ। मलाई त निकै रमाइलो लागेको छ। आखिर मिलेर गर्दा त काम हुने रहेछ नि! हामीलाई पनि काम गर्न सहज भएको छ।
अनु खड्का, सुरक्षा गार्ड
अस्पतालमा म आउँदा बाटोमा समेत हिँड्न नसक्ने फोहोर थियो। शौचालयको दुर्गन्ध निकै परसम्म पुग्थ्यो। अहिले सफाइ अभियानपछि भने राम्रो भएको छ। भित्र पसेर हेर्दा अस्पताल नै नयाँ जस्तो देखिन थालेको छ। शौचालय जान पनि सहज भएको छ।
नीलकण्ठ नेपाल, कार्यालय सहयोगी
यो अस्पताल नामले ठूलो भए पनि पहिले फोहोरै फोहोर थियो। देशकै पुरानो अस्पतालमा आउँदा मानिसहरुले नाक खुम्च्याउनुपर्ने अवस्था थियो। तर, सरसफाइ अभियानले अस्पताललाई पुनर्जन्म दियो। मैले अस्पतालमा काम गर्न थालेको २४ वर्ष भयो, सफाइ अभियानले नयाँ ऊर्जा थपिएको छ। यो अस्पताल सफा बन्न सक्ला र भन्ने शंकाका कारण आजसम्म कसैले पनि काम गरेका थिएनन्। तर, अहिले काम सुरु भएको छ र परिवर्तन देखिइसक्यो। यसरी नै सधैं काम भइराख्यो भने सबै मान्छे वीर अस्पतालमा उपचार गराउन आउने थिए।
जयऋषि दाहाल, सुरक्षा गार्ड
यस्तो अभियान बेलाबेलामा हुनुपर्छ अनि मात्र अस्पतालमा दिगो सरसफाइ हुन सक्छ। एक पटक काम गरेर वर्षौं चुप लागेर बसेर हुँदैन। म अस्पतालमा काम गर्न थालेको २२ वर्ष भयो, अहिलेको जस्तो सफा यसअघि कहिल्यै देखेको थिइनँ। अहिले त अस्पताल नयाँ जस्तै देखिन थालेको छ। हाम्रो अस्पताल सफा हुँदै छ भन्ने कुरा बाहिरतिर सुन्दा धेरै खुसी लागिरहेको छ।
गोविन्द नेपाल, सुरक्षा गार्ड
पहिलेको र अहिलेको अस्पतालमा आकाश-जमिनको फरक छ। मिहिनेत गर्दा नहुने केही रहेनछ। अस्पतालमा सफाइ गर्ने मानिस भए पनि सायद व्यवस्थापनकै कमजोरीले होला, अहिलेसम्म सरसफाइ हुन सकेको थिएन। तर, काम गर्न इच्छा र आँट गर्यो भने त सबै चिज गर्न सकिँदो रहेछ। यो अस्पतालमा भएका विभिन्न संघ-संस्था नै एक भएर जुटेको भए पहिले नै सफा हुने थियो। ढिलै भए पनि आफ्नो संस्था नयाँ जस्तै हुँदै छ। काम गर्न ऊर्जा मिलेको छ।
यो पनि पढौं