महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बोलाउँदा पनि नआएको गुनासो सेवाग्राहीले गरेका छन्।
रिफर गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।
अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्ने गरेको उनीहरु बताउँछन्।
शनिबार जिल्ला अस्पताल जलेश्वरमा आमा बिरामी भएर जँचाउन गएका जलेश्वर–२ बस्ने सञ्जित चौधरीले आमा सिकिस्त भएको भन्दै इमर्जेन्सीमा खटिरहेका स्वास्थ्यकर्मीलाई डाक्टरलाई बोलाइदिन आग्रह गरे । तर लामो समयसम्म डाक्टर आएनन्।
बिहानैदेखि आमा बिरामी भएर अस्पताल पुगेका चौधरीले जिल्लाका पत्रकार, प्रशासन र अन्य ठाउँमा इमर्जेन्सीमा डाक्टर बोलाउँदा पनि नआएको गुनासो गरेपछि जिल्ला अस्पताल प्रमुख डा राजीव झा बिरामी जाँच्न पुगेका थिए।
त्यहाँका डाक्टर सधैँ त्यस्तै गर्ने गरेको जिल्ला अस्पतालका अन्य कर्मचारीले बताए । उनीहरुले कुनै 'भिआइपी' वा उनका घरपरिवारका कोही बिरामी भएमा उनले आफैँ डाक्टरलाई फोन गरेपछि मात्रै डाक्टर आउने गरेको बताए । तर सामान्य नागरिक बिरामी भएर अस्पताल पुग्दा प्रायः डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन्।
यस सन्दर्भमा जिल्ला अस्पतालका प्रमुख डा झासँग सम्पर्क गर्दा बिरामी वा बिरामीका आफन्तले पत्रकारलाई फोन गरेर डाक्टर बोलाउँदा आउनैपर्ने कारण नरहेको जवाफ दिए।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा छजना मेडिकल अधिकृतको दरबन्दी रहेकामा कार्यालय प्रमुख डा राजीवकुमार झा स्थायी हुन् भने अन्य छजना डाक्टर करारमा छन् । रासस