बालिकाको भ्रुण हत्या तथा बालविवाह नियन्त्रण गर्न रुपन्देहीको ओमसतिया गाउँपालिकाले बालिका संरक्षण बिमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ।
गाउँपालिकाभित्र जनचेतनाको अभाव तथा अन्य विविध कारणले गर्दा बालिकाको भ्रुण हत्या तथा बाल विवाह बढेको निष्कर्ष निकाल्दै यसको रोकथामका लागि बालिका संरक्षण बिमा सुरु गर्न लागिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार धवलले जानकारी दिए।
गाउँपालिकाले २०७४ साउन १ गतेयता जन्मिएका प्रत्येक बालिकालाई संरक्षण बिमासँग जोड्न लागेको जनाएको छ। त्यसका लागि गाउँपालिकाले बालिका जन्मिनेबित्तिकै २० हजार र परिवारको तर्फबाट अनिवार्य ५ हजार र स्वेच्छाले जति पनि रकम एकमुष्ठ रुपमा बैकमा जम्मा गर्नुपर्ने प्रावधान राखेको प्रवक्ताले जानकारी दिए।
एकमुष्ठ रुपमा राखिएको उक्त पैसा बालिका २० वर्षको पुगेपछि मात्र निकाल्न पाइनेछ। छोरीको विवाह २० वर्षअघि नै गरेमा सो रकम गाउँपालिकामै फिर्ता हुने प्रावधान राखिएको प्रवक्ता धवलले जानकारी दिए।
प्रवक्ता धवलले बालिका संरक्षण बिमाका लागि ऐन तयार भएको बताउँदै यसको कार्यान्वयनको तयारीमा लागेको बताए। उनले यसका लागि वित्तीय संस्था छनोटको काम भइसकेको र गाउँपालिकाभित्र बालिका गणनाको काम पनि अन्तिम चरणमा पुगेको बताए। उनले बालिका संरक्षण बिमा वापतको रकम राख्न साना किसान सहकारी संस्थालाई छनोट गरिएको बताए।
बालिका संरक्षण बिमाका लागि ओमसतिया गाउँपालिका भित्रका ६ बटा वडाबाट २ सय ५० भन्दा बढी बालिकाको तथ्यांक संकलन गरिएको गाउँपालिकाले जनाएको छ।