राष्ट्रकवि माधव घिमिरेको उपचारका लागि आवश्यक प्रविधि नेपालमा अप्राप्य रहेको भन्दै भारत लगिने समाचारतर्फ आफ्नो ध्यानाकर्षण भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ।
तीन वर्षदेखि नै आफूले इन्टेरोस्कोपी प्रविधिको सफलत प्रयोग गर्दै आएको नर्भिकको दाबी छ। प्रविधि नै उपलब्ध नभएको कारण विदेश पठाउनुपरेको भन्नु तथ्यहीन भएको भन्दै अस्पतालले विगतमा तत्कालीन राष्ट्रपतिलाई नेपालमा कोलोनोस्कोपी प्रविधि नभएको भन्दै जापान पठाइएको घटना स्मरण गराएको छ।
'रोगको उपचार कहाँ र कसलाई गराउने भन्ने विषय सम्बन्धित बिरामी पक्षमा निर्भर रहने सर्वथा सत्य हो,' अस्पतालको विज्ञप्तिमा भनिएको छ, 'तर तत्सम्बधित उपचार प्रविधि र विशेषज्ञ नेपालमा उपलब्ध छैनन् भन्नुमा कुनै सत्यता छैन।'
‘ब्लुन इन्टेरोस्कोपी’ प्रविधि तीन वर्षअघि नै नर्भिकमा सुरु गरिएको भन्दै डा मधु घिमिरेले उक्त प्रविधिबाट ५० भन्दा बढी बिरामीको आन्द्रामा देखिएको रक्तश्रावको उपचार गरिएको बताए।
धापासीको ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ। ग्यास्ट्राइटिस र उच्च रक्तचापका कारण थला परेका घिमिरेको दिसामा समेत रगत देखिएको छ।
९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ।