डक्टर्स आर्टिकल

थाइराइड के हो ? यसका लक्षण के–के हुन् ?

 डा. प्रियादर्शनी योन्जन

थाइराइड के हो ?

शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन। यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न  अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ। मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो। 

थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ। हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन  कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ।

थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ। त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ। यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ। टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ। 

टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ। यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ। 

के कारणले हुन्छ थाइराइड ?
हर्मोनको कमीले गर्दा  हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ। ३०–४०  वर्षअगाडि आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो। तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ। 
प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ। लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ। हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ। 

लक्षण 
हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन्। 

कम हुँदा :
शरीर गलेको महसुस हुने। 
शरीर सुन्निने।
कपाल झर्ने।
निन्द्रा नलाग्ने वा बढी लाग्ने। 
छाला फुस्रो हुने। 
महिनावारी गडबड हुने।  

बढी हुँदा : 
तौल घट्दै जाने।
शरीर तातो हुने।
निन्द्रा नलाग्ने।
मुटुको धड्कन बढेजस्तो हुने। 
हात–खुट्टा काँप्ने। 
चिडचिड पसिना आउने। 
बढी रिस उठ्ने। 

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। र, हर्माेन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ। 
थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो। हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ। हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ। नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्यांक छैन। तर हामीले ६ सय ७१ जनामा गरेको अनुसन्धानमा ४.३२ प्रतिशतमा थाइराइडको समस्या देखिएको थियो। विश्व जनसंख्याको ४ प्रतिशतमा हर्मोनको कमी र १ प्रतिशतमा बढीको समस्या छ। 

खाना बार्नुपर्छ कि पर्दैन ? 
थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन। सुरु–सुरुमा आयोडिनको कमीले गर्दा हुने गलगाँडको समस्यालाई बन्दा, काउली बार्नुपर्छ भनिन्थ्यो। तर अहिले त्यस्तो हुँदैंन। अहिले देखिने थाइराइडको समस्यालाई खानामा त्यस्तो केही पनि बार्नुपर्दैन। 

उपचार 
हर्मोन कमीको समस्यालाई ट्याब्लेटबाट पूर्ति गर्छौं। हर्मोन बढीको समस्यालाई भने दुइवटा उपचार छन् ः एउटा औषधि खाने र अर्को ग्रन्थी सुकाउने। 

थाइराइड : भ्रम र सत्य 
थाइराइड समस्या जटिल र डराउनु पर्ने खालको होइन। यसले आयु घटाउँछ भन्ने भ्रम छ। त्यो गलत हो। थाइराइड भएपछि बच्चा हुँदैन भन्ने सोचाई पनि गलत हो। उपचारपछि सन्तान हुन्छ। थाइराइड भएकामा क्यान्सरको जोखिम हुने भएपनि अधिकांश अवस्थामा क्यान्सर नै हुन्छ भन्ने हुँदैंन।  थाइराइड ग्रन्थी एक सेन्टिमिटरभन्दा ठूलो छ भने इन्जेक्सनको माध्यमबाट पानी वा मासु झिकेर जाँच गरिन्छ। यदि खराबी देखियो भने शल्यक्रिया गर्नुपर्छ। यदि फोका ४ सेन्टिमिटरभन्दा ठूलो छ र सास जाने नली थिचेको छ भने  शल्यक्रिया गर्ने सल्लाह दिइन्छ।  

- (इन्डोक्राइनोलोजिष्ट डा योन्जन, काठमाडौं डायबेटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत छिन्।)

प्रस्तुति: सिर्जना खत्री

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने