जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा वर्डफ्लू देखिएको छ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका–६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा वर्डफ्लू देखिएको हो।
सो रेष्टुरेण्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको थियो। ती कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकामा वर्डफ्लू प्रमाणित भई आएपछि त्यहाँ रहेका २६ कुखुरा नष्ट गरिएको खरेलले बताए। त्यस्तै सब्जीमण्डीमा १० पसलमा स्थानीय जातका कुखुरा, ब्रोइलर कुखुरा र हाँस रहेकामा तिनीहरुलाई नष्ट गर्ने काम सुरु भएको छ। बालकुमारी सब्जीमण्डी क्षेत्रमा के–कति पँक्षी छन् भनी अध्ययन भइरहेको छ।
दुवै ठाउँको नमूना दुई दिनअघि पठाइएकोमा बुधबार राति नतिजा आएसँगै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ। यही जेठ ३ गते पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सुर्तानीमा दुई फर्ममा बर्डफ्लू देखा परेपछि त्यस क्षेत्रका पक्षी नष्ट गरिएको थियो। जिल्लामा ठाउँ–ठाउँमा वर्डफ्लू देखा परेपछि उच्च सतर्कता अपनाइएको छ। रासस