ललितपुर– सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ।
अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए। अस्पतालमा अहिले सामान्यबाहेक अरु सेवा उपलब्ध छैन।
अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण पनि नभएको उनले बताए। नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्छ। उनले भने,‘जनशक्तिको कमीले गर्दा हामीले सेवा दिन समस्या रहेको छ।’ अस्पतालमा हाल जम्मा ७ जना मात्रै कर्मचारी रहेका छन्।
प्रत्येक महिना १६÷१७ जनासम्म बिरामी सेवा लिन आइरहेका छन्। यो संख्या चार÷पाँच वर्ष पहिलेभन्दा कम हो। पहिले महिनामा ३५ जनासम्म महिलाले यहाँ प्रसूति सेवा लिएको तथ्यांक छ। सबै खालका सेवा आफूसँग नहुँदा जोखिम लिन नसकिने श्रेष्ठ बताउँछन्।
उनले भने,‘भ्याकुमको प्रयोग गरेर बच्चा निकाल्नु पर्दा पनि हामीसँग उपकरण छैन।’ जिल्ला अस्पतालको निर्णय भए पनि सीमितबाहेक कर्मचारी र स्रोत आइसकेको छैन।
पहिले भएको एम्बुलेन्ससमेत सञ्चालन गर्न नसक्दा त्यसको असर सबै खालका सेवासँगै प्रसूति सेवामा समेत परेको अस्पतालले जनाएको छ। रासस