मेडिकल ल्याबहरुको गुणस्तर वृद्धि गर्ने लक्ष्यसहित काठमाडौंमा २ दिने कार्यशाला हुने भएको छ। आगामी मे २८ र २९ मा इन्टरनेसनल फेडरेसन अफ क्लिनिकल केमिस्ट्री एण्ड ल्याबोरटरी मेडिसन(आइएफसिसी), नेपाल एसोसियसन फर मेडिकल ल्याबरोटरी साइन्स(एनएएमएलएस) र नेप्लिज एसोसियसन फर क्लिनिकल केमिस्ट्री(एनएसिसी) ले संयुक्त रुपमा कार्यशाला आगोजना गर्न लागेका हुन्।
एक्स्टरनल क्वालिटी असुरेन्स सिस्टम(इक्युएएस) कार्यक्रमको सहयोग रहने सो कार्यशाला नेपालमै पहिलोपटक हुन लागेको कार्यशाला आयोजक समितिका अध्यक्ष भरत झाले जानकारी दिए। उनका अनुसार नेपालमा मेडिकल ल्याबहरुको रिपोर्टिङ पद्धतिलाई विकास गर्न इक्युएएस कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
गोष्ठीमा मेडिकल ल्याबबाट दिइएका रिपोर्टहरुमा भएका गल्तीहरुलाई पत्ता लगाउने र त्यसको न्युनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ। एउटै नमुनालाई फरक प्याथोलोजी ल्याबमा परिक्षण गर्दा फरक रिपोर्ट आउने कमजोरीलाई हटाउन पनि कार्यशाला बढी लाभदायक हुने संयोजक झाले दावी गरे।
कार्यशाला गोष्ठीमा नेपालका विभिन्न स्थानहरुबाट सम्मिलित प्याथोलोजी ल्याबका सञ्चालक तथा प्राविधिकहरुलाई अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले सल्लाह तथा सुझाव दिने बताइएको छ।
कार्यशालाको पहिलो दिन ल्याबको गुणस्तरका सम्बन्धमा कार्यशाला हुनेछ भने दोस्रो दिन ल्याबहरुबाट सहभागी भएका निर्देशक, सञ्चालक, प्राविधिक तथा विशेषज्ञहरुको बीचमा छलफल तथा बैठक हुने कार्यक्रम आयोजक समितिका सचिव राजेश कुमार गुप्ताले जानकारी दिए।
आइएफसिसीले नेपालमा रहेका सम्पूर्ण प्याथोलोजी ल्याबहरुलाई इक्युएएस कार्यक्रमसँग जोडिन र नेपालमा मेडिकल ल्याबहरुको गुणस्तरमा बृद्धि गर्ने काममा सहयोग गर्न आग्रह गरेको छ। यसबाट नेपालमा भएका ल्याबहरुको लगत संकलन तथा परिक्षणका दौरानमा देखिने विभिन्न समस्या समाधानमा समेत सघाउ पुग्ने गोष्ठी आयोजक समितिका सचिव राजेश कुमार गुप्ताले बताए।
गोष्ठी त्रिपुरेश्वरस्थित बौगेनभिल्ला ब्यान्क्वेटमा आयोजना हुनेछ।