डक्टर्स आर्टिकल

के हो थाइराइड परीक्षण, कसले गराउने ?

 डा केयूर गौतम,  अध्यक्ष सम्यक डायग्नोस्टिक

के हो थाइराइड परीक्षण ?
शरीरमा थाइराइडको समस्या भए नभएको पत्ता लगाउन प्रयोगशालामा गएर जाँच गरिने प्रक्रियालाई थाइराइड परीक्षण भनिन्छ । विगत केही समययता मानिसहरु थाइराइडको समस्या परीक्षण गर्न प्रयोगशालामा आउने क्रम बढ्दै गइरहेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । तर, यसको मतलव थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन । रक्तचाप, सुगरको जाँच जस्तो थाइराइडको जाँच नियमित गर्नु पर्दैन । यो ‘रुटिन’ चेकअप अन्तर्गत पनि पर्दैन। 

थाइराइडको जाँच गर्ने भनेको शरीरमा लक्षण देखिएपछि मात्र हो । तर, अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखीएका ३५ वर्ष मुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गराउनु पर्छ । ३५ वर्ष भन्दा माथिकाले भने वर्षमा एक पटक थाइराइडको जाँच गर्नुपर्ने हुन्छ भन्ने पनि एसोसिएसनले भनेको छ । जाँचका क्रममा थाइराइडको समस्या देखिएको छ भने हरेक ३ तथा ६ महिनामा जाँच गर्नुपर्ने हुन्छ। 

थाइराइडको समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ । तर, ३५ वर्षभन्दा कम उमेरका मानिसहरुमा लक्षण देखिएको छैन र एक पटकको जाँचका क्रममा थाइराइडको समस्या देखियो भने पुन अर्को जाँच नगरी औषधि दिइहाल्नु हुँदैन । यहाँ त एक पटकको परीक्षणमा थाइराइड देखियो भने तुरुन्तै औषधि दिने चलन छ । यस्तो अवस्थामा उक्त मानिसको ३ देखि ६ महिनामा पुन अर्को परीक्षण गरेर हेर्नु पर्ने हुन्छ । तर, धेरै नै तलमाथि भयो भने चाँही औषधि चलाउनु पर्ने हुन्छ।

थाइराइडको समस्या पत्ता लगाउन के के परीक्षण गरिन्छ ?
सामान्य रुपमा भन्नुपर्दा थाइराइड एउटा ग्रन्थी हो । थाइराइडको समस्या हुनु भनेको यसबाट उत्पादन हुने हर्मोनमा घटबढ हुनु हो । थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्ने/घट्ने कारणले थाइराइडको समस्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिनावारीजस्ता कारणले पनि थाइराइड हर्मोनमा तलमाथि हुन सक्छ । यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसोसिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा थाइराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ।

थाइराइडबाट हर्मोनको उत्पादन घटेको वा बढेको छ की छैन भनेर पत्ता लगाउन टिएसएच अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ । जाँचका क्रममा टिएसएच बढ्यो÷घट्यो भने मात्र पुरै थाइराइडले काम गरेको छ की छैन भनेर ‘टि थ्री’ र ‘टि फोर’ को र टिएसएच जाँच गर्नु पर्ने हुन्छ । ‘टि थ्री’ र ‘टि फोर’ लाई थाइराइडले शरीरभित्र हरेक अंगहरुमा फैलाउने काम गर्छ । यो प्रक्रियामा थपघट भयो अरु अंगहरुको काममा पनि असर पुर्‍याउछ।

टिएसएच घटबढ हुँदैमा ‘टि थ्री’ र ‘टि फोर’ पनि घट्बढ हुनैपर्छ भन्ने हुँदैन । त्यसकारण लक्षणका आधारमा जाँच गर्न सकिन्छ । जाँचका क्रममा टिएचएसमा समस्या देखियो भने मात्र ‘टि थ्री’ र ‘टि फोर’को पनि जाँच गर्न सुझाब दिइन्।

थाइराइडको समस्यामा कस्ता लक्षण देखिन्छन् ?
हर्मोनको उत्पादन बढी हुने समस्यालाई हाइपर थाइराडिज्म भनिन्छ । यो अवस्थामा मुटुको चाल बढेको जस्तो हुने, पसिना धेरै आउने, डर लागेको जस्तो हुने, दुब्लाउँदै जाने, ट्वाइलेट लागिरहने लक्षण देखिन्छ । हाइपो थाइराडिज्म भनेको हर्मोनको उत्पादन कम हुने हो । यो समयमा तौल बढ्ने, कपाल झर्ने, आलस्य हुने, कुनैबेला खुट्टा र जिउ कटकट खाने, कब्जियत हुने लक्षण हुन्छ ।

पहिलाका तुलनमा अहिले थाइराइड बढ्दो रुपमा देखिनुको कारण ?
अहिले मानिसहरुमा धेरै चेतना आइसकेको छ । यही कारण स्वास्थ्य परीक्षण गराउन आउनेको क्रम बढ्दै गएकाले धेरै बिरामी देखिएको हो । परीक्षणको दायरामा आउनेको संख्या बढी भएकाले धेरै बिरामी देखिएको हुनसक्छ । सन् १९६० तिरको समयमा आरआइए (रेडियो इम्युनोयासी) भन्ने प्रविधिले थाइराइड समस्याको जाँच गरिन्थ्यो । सन् १९८० तिर आएर इम्युनोयासी प्रविधिबाट जाँच हुनथाल्यो । पहिला पहिला यो प्रविधि प्रयोग गर्न गाह्रो भएका कारणले महिनाको एक दिन जाँच गरिन्थ्यो त्यसैले पनि यसको परीक्षण महंगो थियो जाँच गर्ने ठाउँ पनि थिएनन् । गर्नै प¥यो भने पनि महंगो त्यसमाथि त्यसको रिर्जल्ट आउने केही दिन लाग्थ्यो । तर इम्युनोयासी आएपछि हरेक अस्पतालहरुमा यो सेवा उपलब्थ छ । आफुलाई मनलागेको समयमा जहाँ पनि गर्न सकिन्छ । त्यहि कारणले पनि थाइराइडका बिरामी बढ्एको जस्तो देखीएको हो । 

ल्याब परीक्षणका क्रममा कसरी छुट्टाछुट्टै रिपोर्ट आउँछ? 
मानिसको दैनिक क्रियाकलाप, उसमा भएका शरीरका अन्य रोग तथा समस्या, समय, तनाव तथा ल्याबकै अवस्थाका कारण पनि रिपोर्टमा फरकपन आउन सक्छ । यसको समाधानको उपाय भनेको गुणस्तरीय चिन्ह प्राप्त र दक्ष जनशक्ति भएको प्रयोगशालामा जाँच गर्नु नै हो । यस्ता प्रयोगशालाले जाँचका लागि आएका व्यक्तिको विगतको ‘हिस्ट्री’का विषयमा जानकारी लिएर जाँच गर्छन । बिरामीलाई उपयुक्त परामर्श समेत दिन्छन् । सरकारले पनि प्रयोगशालाको गुणस्तर र जनशक्तिका विषयमा जाँच गर्नुपर्ने हुन्छ । अनुगमन गर्ने निकाय बलियो नभएसम्म ल्याबको रिपोर्टमा निकै ठूलो अन्तर आउने समस्या दोहोरिरहन्छ।

चिकित्सकले अध्ययन गर्ने किताबहरुमा थाइराइडको परीक्षण जुनसुकै समयमा गर्दा हुन्छ भन्ने उल्लेख गरिएको हुन्छ । व्यावहारिक रुपमा हेर्दा बिहानको समयमा परीक्षण गर्नु सबैभन्दा राम्रो पाइएको छ। बिहान, दिउँसो, साँझ र राति परीक्षण गर्दा रिपोर्टमा तलमाथि हुने समस्या हुन्छ । त्यसकारण थाइराइडको परीक्षणलाई हामीले बिहान गर्न सुरु गरेका छौँ । एकपटक हामीकहाँ एक जनाको दिउँसो थाइराइड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थाइराइडको सामान्य मात्रा भन्दा तीन गुणा बढी देखियो । दुई दिनपछि पुनः बिहान गर्दा रिपोर्ट सामान्य नै छ । पछि हामीले उनको विषयमा थप बुझ्दा दुई दिनअघि जाँच गराउन आउँदा उनको माइग्रेनले टाउको असाध्यै दुखेको रहेछ । माइग्रेनकै कारण उनको थाइराइडको मात्रा तीन गुणासम्म बढी भएको रहेछ । अरु लक्षण नदेखिएका कारण उनलाई पुनः परीक्षण गर्न भनिएको थियो । फलस्वरुप पछिल्लो परीक्षणमा उनमा थाइराइडको समस्या देखिएन।

यस्तै २२ वर्षकी एक युवतीको परीक्षणका क्रममा उनको रिपोर्टमा थाइराइडको समस्या देखियो । तर, उनलाई पनि कुनै लक्षण देखिएको थिएन । उनको रिपोर्ट अनुसार केही लक्षण देखा परिसकेको हुनुपथ्र्यो यसकारण हामीले उनको पनि पुनः परीक्षण गर्ने निर्णय लियौँ । पछिल्लो परीक्षणमा उनको रिपोर्ट पनि सामान्य आयो । हामीले उनको विषयमा पनि थप जानकारी माग्यौँ । अघिल्लो पटक जचाउन आउँदा उनी तीन चार दिनदेखि राति राम्रोसँग सुतेकी नै रहिनछन् । परीक्षाका कारण रातभरि पढ्ने र ननिदाउँदा बढेको मानसिक तनावका कारण उनको थाइराइड ह्वात्तै बढेको रहेछ । तर, दुई तीन दिनपछि गरिएको परीक्षणमा उनको रिपोर्ट सामान्य आयो। 

यसैगरी, महिनावारी भएको समयमा परीक्षण गर्दा पनि रिपोर्ट तलमाथि हुन सक्छ । पिसाबमा प्रोटिन जाने समस्या भएका, स्टेरोइडका औषधि लिएकाका, आइसियु र सिसियुमा भर्ना भएका बिरामीको रिपोर्टमा पनि थाइराइड घटबढ हुन सक्छ।

त्यसकारण परीक्षणका क्रममा समस्या देखियो भने बिरामीको ‘हिस्ट्री’ लिने र लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण गर्न सुझाउनुपर्छ । हामीकहाँ ल्याब, उपचारमा संलग्न डाक्टर र बिरामीबीच ‘कम्युनिकेसन ग्याप’ छ । जसका कारण आवश्यक सूचना आदानप्रदान नहुँदा कतिपय थाइराइडको समस्या नभएकाहरुले पनि औषधि खानुपरिरहेको छ । त्यसैले थाइराइडसँगै अन्य स्वास्थ्य परीक्षण गर्दा खानपान, आफ्नो स्थिति, समय र वातावरणमा ध्यान दिनुपर्ने हुन्छ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने