समाचार

बिरामी एन्जिला शाहलाई ठकुरी समाज कोरियाको १ लाख ८० हजार सहयोग


काठमाडौं-

दक्षिण कोरियामा बसोबास गर्दै आएका ठकुरीहरूको समूह ‘ठकुरी समाज दक्षिण कोरिया’ ले बिरामी एन्जिला शाहलाई १ लाख ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएकाे छ । ठाकुरबाबा नगरपालिका–३ बर्दियाकी स्थानीयबासी शाहको उपचारका लागि शुक्रबार सिभिल अस्पताल पुगेर उक्त सहयोग उपलब्ध गराइएको हो ।

१५ वर्षीय किशोरी एन्जिला शाह विगत ३ महिनादेखि पाठेघरमा पलाएको ट्यूमरको उपचार गराइरहेकी छन् । दक्षिण कोरियाका संस्थापक सदस्य सिबि मल्लले सहयोग रकम बिरामीका बुवा ओमविक्रम शाह तथा आमा कमला शाहलाई हस्तान्तरण गरेका हुन् ।

काभ्रेपलाञ्चाेक स्थायी घर भएका काेरियामै बस्ने दिने शाहले पनि विरामीलार्इ ३ हजार रुपैयाँ उपलब्ध गराएका छन् । अस्पताल पुगेका समाजका अन्य सदस्यले बिरामीको अवस्थाबारे जानकारी लिएका थिए ।

उपचारमा अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भएकाे बिरामीका बुवा अाेमले बताए । देश-विदेश तथा अफन्तबाट अहिलेसम्म करिब ६ लाख ८० हजार रुपैयाँ संकलन भएकाे जानकारी दिए । उपचारमा कति खर्च लाग्छ भन्नेबारे डाक्टर तथा अस्पतालले केही जानकारी दिएकाे छैन । डा. जितेन्द्र परियारले किशाेरीकाे उपचार गरिरहेका छन् ।

बिरामीको थप उपचार गर्न कोरिया तथा अन्य देशमा रहेका नेपाली तथा समाजका सदस्यहरूसँग अपिल गर्ने मल्लले बताए । समाजले उपचारका लागि थप आवश्यक रकम संकलन गर्ने पनि मल्लले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने