डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका २६ जना बालबालिकामा कडा कुपोषण देखिएको एक तथ्याङ्कले देखाएको छ।
नगरपालिकाले बिहीबार जिल्ला सदरमुकाममा आयोजना गरेको नगरपालिका स्तरिया शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको पुनरावलोकन तथा समीक्षा कार्यक्रमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।
नगरपालिकाभित्र रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्य शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिएका छन्।
अमरगढी नगरपालिकाभित्र काम गरिरहेका ६ वटा स्वास्थ्य संस्थाहरुबाट प्राप्त मासिक प्रतिवेदन अनुसार २६ जना अर्थात् १ प्रतिशत बालबालिकामा कडा र २३५ अर्थात् १२ प्रतिशत बालबालिकामा मध्येम शीघ्र कुपोषण देखिएको उनको भनाइ छ।
बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने उनको भनाइ छ। आमाको दूध खान नपाएर पनि धेरै बालबालिकाहरु कुपोषित भएको उल्लेख गर्दै पनेरुले यसमा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। एउटा बच्चाले कम्तीमा पनि २ वर्षसम्म आमाको दूध खान पाउनुपर्ने उनी बताउँछन्।
विभिन्न रोगका कारण पनि बालबालिका कुपोषित हुने गरेका छन्। मलेरिया, टाइफाइड, दादुरा लगायतका रोगले गर्दा पनि बालबालिका खुपोषित हुने गरेको पनेरुले बताए। यस्ता किसिमका रोगहरु शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनको बुझाइ छ। खानपान, व्यक्तिगत सरसफाइका साथै वातावरणीय सरसफाइमा ध्यान दिन पनि उनको सुझाव दिए।