विचार/ब्लग

धामीझाँक्रीलाई जीवनजल र निमोनियाको औषधि फुकेर बिरामीलाई दिनुहोस् भनेका ती दिन

 डा मृगेन्द्रराज पाण्डे

काठमाडौं-

अस्पतालमा आएका बिरामीको मात्र उपचार गरेर हुँदैन भन्ने लागेर नै हामीले गाउँ गाउँमा सेवा पुर्‍याउन र समाज सेवाका लागि गुठीको स्थापना गरेका हौं । सुरुमा गुठीको नाम मृगेन्द्र चिकित्सा गुठी थियो। पछि यसमा सम्झना थपेर ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी’ नाम राखेका हौँ। २०३२ सालमा गुठी दर्ता भएपछि यसको काम विस्तृत रुपमा अगाडि बढेको हो। त्यस क्रममा काठमाडौंकै वरिपरीका क्षेत्रमा अस्पतालमा भन्दा धामी झाँक्रीलाई देखाउने चलन बढी थियो।

काठमाडौं आसपासको सुन्दरीजल लगायतका गाँउघरमा बिरामीलाई उपचार सेवा दिने उद्देश्यले खोज्दै जाँदा निमोनिया, झाडापखला लागेका बालबालिकालाई देवी र पिचास लागेको भन्दै कामेर बाबियोका कुच्चोले हम्कँदै फुक्दै चुट्की बजाएर पानी छर्दै गरेका धामीझाँक्रीसँग भेट भएको थियो। म र गुठीका संस्थापक भीमबहादुर अधिकारीलाई देखेपछि ती झाँक्री एकाएक रिसाउँदै उत्तेजित भए। 
उनले हामीहरुलाई ‘तपाईहरु डाक्टर भएर गाउँमा हाम्रो पुख्र्यौली पेशा हर्ने, जानोस् यहाँबाट, आफ्नो काम गर्नुहोस्’ भन्दै गाली गर्न थाले। 

हामीले उनको कुरा सुनिरह्यौँ। कुनै प्रतिवाद नै गरेनौं। त्यसपछि हामीले उनलाई ‘तपाई आफ्नो काम गर्नुहोस’ मात्र भनेर चुपचाप बस्यौँ। हामीलाई स्वागत गर्न बसेका उक्त घरका घरमुलीलाई झाँक्रीको कुराले असहज महसुस गराएछ। हामीले उहाँलाई असजिलो नमान्नुस भन्यौँ। 

त्यसपछि हामीले गाउँमा नै धामीझाँक्रीहरुसँगको छलफल कार्यक्रम राख्यौँ। छलफल कार्यक्रममा हामीले उहाँहरुलाई नम्र भएर ‘तपाईँहरुको झाँक्री पेशाको हामी सम्मान गर्छौँ, पेशा हर्न हामी यहाँ आएका पनि होइनौँ, हाम्रो र तपाइँहरुको उद्देश्य एउटै हो, तपाइँहरुले पनि सेवा गर्ने, बच्चा बचाउने र हामीले पनि सेवा गरेर बचाउने नै हो। हमी तपाइँहरुको पेशा रोक्दैनौं बरु उल्टै सहयोग गर्छौं। हामी तपाइँहरुमा के अनुरोध गर्छौं भने झाडापखला लागेका बच्चलाई झारफुक गर्दा कृपया जीवनजल राखेको पानी फुकेर दिनोस, निमोनिया भएका बच्चाहरुलाई तपाइँहरुले फुकेर औषधि दिनुहोस, यसले फाइदा हुन्छ भन्नुहोस् र तपाइँहरुको मन्त्रतन्त्रको प्रभावले गर्दा नै निको भयो भनेर यसको जस तपाइँहरु नै लिनोस’ भन्यौँ । 

हाम्रो कुरा सुनेपछि उहाँहरु सबै खुसी भए र हामी त्यसै गर्छौँ भने। हाम्रो लगातारको मिहेनतपछि उनीहरुले त्यस्तै गरे। बिरामीको अवस्था सुधार हुँदै गएपछि उहाँहरु आफैं हामीलाई अन्य काममा सघाउन तयार भए। 

त्यस क्षेत्रमा तामाङ बस्ती बढी छ। उनीहरु काममा निस्कँदा बच्चालाई लठ्ठ हुने गरी जाँड खुवाउथेँ। यसका साथै बिरामीलाई औषधि दिँदा पनि जाँड मिसाउँथे। त्यसलाई हटाउन पनि हामीले ठूलै संघर्ष गर्नुपर्‍यो।

बच्चालाई तौलने उपकरणमा झुण्ड्याएर तौंलिँदा बच्चाहरुको सातो जान्छ भन्ने अन्धविश्वास पनि त्यस क्षेत्रमा प्रचलित थियो। त्यस्ता अन्धविश्वासलाई हटाउन र बच्चाको स्वास्थ्यप्रति सचेत हुन चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्‍यौँ। रुढीवादी र अन्धविश्वासको जालो काट्न गुठीले धेरै कसरत गर्नुपर्यो।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने