विश्व स्वास्थ्य

आयरल्याण्डमा गर्भपतनको पक्षमा स्पष्ट बहुमत

 बिबिसी

-

आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहपछिको मत सर्वेक्षणहरूले ठूलो संख्यामा मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्षमा मतदान गरेको देखाएका छन्।

द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन्।

आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले 'इतिहास रच्न लागेको' जस्तो देखिएको बताएका छन्।

उनले गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए।

स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतगणना शुरू हुनेछ।

शुक्रवारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो।

संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ।

आरटीइले गरेको मत सर्वेक्षण अनुसार हटाइनुपर्ने पक्षमा ६९ दशमलव ४ प्रतिशतले मतदान गरेका छन् भने ३० दशमलव ६ प्रतिशतले अहिलेको प्रवाधानलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका छन्।

डब्लिनमा ७९ प्रतिशत मतदाताले उक्त संवैधानिक प्रावधान हटाउनुपर्ने पक्षमा मतदान गरेको आरटीइले जनाएको छ।

द आइरिस टाइम्सले सार्वजनिक गरेको जनमत सर्वेक्षणको नतिजा अनुसार हुन्छ भन्ने पक्षमा ६८ प्रतिशतले र हुन्न भन्ने पक्षमा ३२ प्रतिशत मतदाताले मत खसालेका छन्।

शुक्रवार राति ट्वीट गर्दै प्रधानमन्त्री भराडकरले भनेका छन्, "मतदान गर्ने सबैलाई धन्यवाद छ। हामीले भोलि इतिहास रच्न लागेको जस्तो देखिन्छ।"

शुक्रवार मध्यान्हसम्ममा समलिङ्गी विवाहमाथिको जनमत संग्रह र हालैको आमचुनावमा सोही समयसम्म खसेकोभन्दा बढी मत खसेको थियो।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने