काठमाडौं– सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरु आन्दोलनमा उत्रिएका छन्।
२०७४ पुस १३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुको जीवन चलाउन समस्या हुने भन्दै ५ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको थियो। गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी, डाइलासिस गराइरहेका मृगौला रोगी र क्यान्सरका रोगीलाई यस्ता भत्ता उपलव्ध गराउने निर्णय सरकारले गरेको थियो।
तर प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफ्नो नीति तथा कार्यक्रममा सो भत्ताका बारेमा उल्लेख गरेको छैन। ओली सरकारले रकम वितरणका लागि मापदण्ड नभएको भन्दै हाललाई रोक्ने निर्णय गरेको थियो। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भने जिविकोपार्जन भत्ताको लागि रकम छुट्याउन दबाब दिँदै उनीहरु आन्दोलित भएका हुन्।
विरोधस्वरुप आइतबार गम्भीर अपाङ्गता भएका व्यक्तिहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन्। यसअघि उनीहरुले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई यस बारेमा ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले आफ्नो कुरा राख्न खोजेपनि नसकेपछि आन्दोलनमा उत्रेका थिए। आन्दोलनको पहिलो दिन उनीहरुले जोरपाटीमा जुलुश निकालेका थिए। दोस्रो दिन आज माइतीघर मण्डलामा धर्ना दिएका हुन्।
समाज र परिवारले हेला गरेका कतिपय पीडित साथीहरुले सरकारले साथ दिएको भनि खुसी भएको अवस्थामा फेरी वर्तमान सरकारले कटौती गरेपछि आफूहरु सडकमा आउन बाध्य भएको धर्नामा सहभागी दिलिप सापकोटाले बताए। उनले भत्ता कटौती नर्गन भन्दै सम्बन्धित मन्त्रालय र अन्य निकायमा ध्यानाकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाएको भएपनि सुनुवाइ नभएपछि धर्नामा उत्रेको गुनासो गरे।
पुर्वयोजनासहित आफूहरु चरणवद्ध आन्दोलनमा जान बाध्य भएकोले यसको समाधान नभएसम्म संघर्ष गर्ने धर्नामा सम्मिलितको भनाइ छ। स्पाइनल कर्ड इन्जुरी संघर्ष समिती जोरपाटीले पनि एक विज्ञप्ति जारी गर्दै सकारलाई तत्काल स्पाइनल इन्जुरी भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ता रोक्ने निर्णय फिर्ता लिन माग गरेको छ। नेपाल अपाङ्ग संघले पनि यो निर्णय नसच्चिएमा आफूहरु सडकमा उत्रन बाध्य हुने प्रष्ट पारेको छ।
पहिलो चरणमा जुलुश तथा धर्ना दिइएको र दोस्रो चरणमा अझ कडा आन्दोलन गर्ने संघको चेतावनी छ।