दाङको शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार बिहानदेखि फैलिएको झाडापखालाबाट ८ सय ४८ जना प्रभावित भएका छन्। प्रदूषित खानेपानीका कारण फैलिएको झाडापखालाबाट आज मात्रै ४ सय १९ जना बिरामी थपिएका छन्। झाडापखाला फैलिएको २ वटा वडामा ८ सय ५१ घर धुरी छन्।
प्रभावित क्षेत्रका चार ठाउँमा अहिले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। राप्ती अञ्चल अस्पताल, नेपाली सेना, गाउँपालिका र उपक्षेत्रीय अस्पताल घोराही डाक्टरसहित स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको उपचार गरिरहेको शान्तिनगर गाउँपालिकाका प्रमुख कमानसिंह डाँगीले बताए। स्वास्थ्यकर्मीको टोली परिचालन भएपछि स्थिति सम्हालिन थालेको उनले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज अपराह्न ट्विट गर्दै झाडापखाला रोकथाम तथा नियन्त्रण गर्न सरकारले औषधि सहित विशेषज्ञ चिकित्सक र आवश्यक स्वास्थ्यकर्मी खटाइसकेको जनाएका छन्।
झाडा पखालाबाट सिकिस्त बिरामी भएकामध्ये अञ्चल अस्पताल तुल्सीपुरमा ३९ जना, सिटी अस्पतालमा ११ जना र मेडिकल कलेज शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको छ। सबै बिरामीलाई समयमै उपचार सेवा प्रदान गर्न गाउँपालिकाले हरसम्भव प्रयास गरिरहेको गाउँपालिकाका प्रमुख डाँगीले बताए।
माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदूषण भएपछि ३ र ४ नम्बर वडामा झाडापखाला फैलिएको हो। झाडापखालाबाट वडा नम्बर ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हीरापुर गाउँ बढी प्रभावित भएका छन्।
खानेपानीको मुहान सुक्दै गएपछि सिमलगैटा खोल्साको पानी सीधै खानेपानीको ट्याङ्कीमा हालेर वितरण गरिएकाले प्रदूषित भई झाडापखाला फैलिएको गाउँपालिकाका प्रमुख डाँगीले जानकारी दिए।
प्रदूषित भएको खानेपानीको मुहान नेपाली सेनाको टोलीले सफा गर्न सुरु गरेको छ।