नर्सिङ

शिक्षण अस्पतालले स्टाफ नर्स भर्ना प्रक्रियामा ‘विभेद’ गरेको भन्दै पिसिएल नर्सहरुको विरोध

निर्देशकद्वारा कमजोरी स्वीकार, नियम सच्याएर नयाँ भर्ना लिने प्रतिबद्धता


काठमाडौं-

त्रिवि शिक्षण अस्पतालले स्टाफ नर्स भर्ना परीक्षामा स्नातक भन्दा माथिका प्रमाण पत्रको नम्बर जोडेकोमा पिसिएल मात्र अध्ययन गरेका नर्सहरुले विरोध जनाएका छन् । लिखित परीक्षा राम्रो अंक ल्याउँदा पनि शैक्षिक प्रमाण पत्रका कारण आफू पछि परेको भन्दै उनीहरुले अस्पतालका निर्देशक डा दिपक प्रसाद महरालाई भेटेर विरोध जनाएका हुन्।

पिसिएल नर्सिङ गरेकाहरुको कोटामा स्नातक र स्नातकोत्तर गरेका नर्सहरुले परीक्षा दिएर प्रमाण पत्रका आधारमा बढी नम्बर पाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।  डा महरालाई भेट्ने पुगेकी एक नर्सले भनिन्, ‘अस्पतालको मागेको पदका लागि चाहिने हामीले पनि पढेका छौं र राम्रो नम्बर पनि ल्याएका छौं । तर, माथिल्लो तह पास गरेका आधारमा बढी नम्बर दिइयो । यो गलत हो ।’
केही दिनअघि मात्रै अस्पतालले सार्वजनिक गरेको स्टाफ नर्स भर्नाको नतिजामा बिएन, बिएसी र सो भन्दा माथि पढेकाहरु धेरै  उत्तिर्ण भएको उनीहरुले बताएका छन् । यो प्रणालीले पिसिएल नर्सहरुको अवसर खोसिएको भन्दै उक्त व्यवस्था खारेज गर्न उनीहरुले माग गरेका हुन्।

शिक्षण अस्पताल व्यवस्थापन परिषद स्थायी समितिको २०७३ साल फागुन १७ गते बसेको बैठकले शैक्षिक योग्यतालार्य २० र लिखित ८० नम्बर दिने निर्णय पास गरेको थियो । सो अनुसार अधिकृतस्तरका पदका लागि एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भएको भए ५, प्रमाणपत्र तह प्रथम श्रेणीमा उत्तिर्ण भएको भए १० र स्नातक वा सो सरह प्रथम श्रेणीमा उत्तिण गरेका भए ५ अंकभार तय गरेको छ । जसअनुसार प्रमाण पत्र तहसम्म मात्रै अध्ययन गरेकाहरुले ९५ नम्बरको मात्रै परीक्षा दिन पाउने अवस्था छ ।
पिसिएलले ९५ नम्बर र सो भन्दा माथिकाले १०० नम्बरको परीक्षा दिने पाउने प्रणाली विभेदपूर्ण रहेको पिडित नर्सहरुले बताए । उनीहरुले भने, ‘बिएन वा सो भन्दा माथि स्टाफ नर्सका लागि पढको होइन । अधिकृत स्तरको नर्सका लागि पढेको हो।’

माथिल्लो तह अध्ययन गरेकालाई तल्लो तहमा जाँच दिन उत्प्रेरित गर्ने अस्पतालको नियममाथि उनीहरुले औंला उठाए । उनीहरुमध्ये एकले भनिन्, ‘बिएन पढेकालाई स्टाफ नर्स बनाउन अस्पतालको गलत  नियत देखिन्छ । हामीले यो नियतको विरोध गरेका हौं।’

उनीहरुका गुनासो सुनेपछि अस्पतालका निर्देशक महराले यस्तो व्यवस्था खारेजका लागि आफूले पहल गर्ने बताए । उनले भने, ‘तपाईंहरुले भनेपछि हामीलाई पनि कमजोरी महशुस भयो । यो विषय सम्बन्धित निकायसम्म पुर्‍याउनेछु ।’ उक्त व्यवस्था खारेज नभएसम्म स्टाफ नर्सको नयाँ भर्ना नलिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

शुक्रवार निर्देशक डा महरालाई भेट्न नर्सका हकहितमा कार्यरत संस्थाका प्रतिनिधी र पिडित नर्सहरु शिक्षण अस्पताल पुगेका थिए ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने