फिचर

डा बच्चुराम केसीको सम्झनामा दरवार हत्याकाण्डको त्यो रात, जसले तीन घाइतेको अप्रेशन गरे


नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका कार्यकारी निर्देशक डा. बच्चुराम केसीले नेपाली सेनामा रहेर सेवा गरेको ३४ वर्ष नाघिसक्यो । हाडजोर्नी विशेषज्ञ डा. केसीले सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालमा लामो समय बिताए । त्यहाँबाट २०७० सालमा उनी रिटायर्ड भएका हुन् । उनी अस्पतालको कमान्डेन्ट (प्रमुख) सम्म भए । सेनाको ओहदामा उपरथी । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापनाकालदेखिकै एसोसिएट प्रोफेसर पनि हुन्। उनको सम्झनामा, त्यो जेठ १९ गतेका रात ।

२०५८ साल जेठ १९ गते । दरबार हत्याकाण्डको ऐतिहासिक कुरुप घटना । यो घटनाले डा. केसीको जीवनमा पनि गहिरो छाप छोडेको छ । हत्याकाण्डमा घाइते भएकाहरुको उपचारमा उनी संलग्न थिए । तीमध्ये गोली लागेर घाइते भएका तीन जनालाई उनले तत्काल शल्यक्रिया गरी सामान्य जीवनमा फर्काएका थिए।

शुक्रबार सैनिक अस्पतालमा उनले शल्यक्रिया गर्ने दिन पथ्र्यो । बिहान ९ बजेदेखि साढे ३ बजेसम्म उनी शल्यक्रियामा खटिन्थे । त्यहाँ काम सकेपछि उनी बेलुकाको समयमा अर्को अस्पतालमा सेवा दिन्थे । दरबार हत्याकाण्ड भएको दिन उनी घर पुग्दा केही अबेर भएको थियो । उनी सम्झिन्छन्, ‘घर पुगेको केही समयमै हस्पिटल प्रमुखको फोन आयो । फोनमा भन्नुभयो, तुरुन्तै अस्पताल पुग्नु।’

इमर्जेन्सी केस आयो भन्ने त उनलाई थाहा भइहाल्यो । सोधखोज गरे, ‘के पर्‍यो हजुर । अस्पतालको गाडी लिन आउँदैछ कि ?’ उताबाट आत्तिएको जस्तै गरी आवाज आयो, ‘तिमी गुडेर, उडेर वा दौडेर जे गरी आए पनि तुरुन्तै अस्पताल पुग्नुपर्‍यो ।’

उनलाई लाग्यो, घटना ठूलै रहेछ । उनी गाडीको इमर्जेन्सी लाइट बालेर तीव्र गतिमा बानेश्वरबाट सैनिक अस्पताल पुगे । अस्पताल पुगेर घटना विवरण सुन्दा उनलाई सपनाझैँ लाग्यो । अस्पताल पुर्‍याइएका मध्ये धेरैको ज्यान गइसकेको थियो । केही घाइते थिए, तीमध्ये तीनजनाको शल्यक्रिया गरे । उनले राति साढे ३ बजेसम्म अप्रेसन गरेका थिए । उनले भने, ‘मैले अप्रेसन गरेका तीनैजना पूर्ण रुपमा निको हुनुभयो । सबैलाई गोली लागेको थियो । अहिले पुरानै अवस्थामा जीवन बिताइरहनु भएको छ ।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने