मुख्य समाचार

१४ वर्षका भए नेपालको पहिलो टेस्टट्युब बेबी, भन्छन् – वैज्ञानिक बन्छु

प्रवीण ढकाल

दरबारमार्गस्थित होटल याक एन्ड यतिको हलमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको भिड थियो। क्रमश हलमा अन्य विशेषज्ञ डाक्टरहरुको पनि आगमन भयो।

कार्यक्रम सञ्चालिकाले कार्यक्रम सुरु गर्दै कार्यक्रमको सभापातित्वको आसन ग्रहण गर्न बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजाललाई आग्रह गरिन्।

लगत्तै उनले प्रमुख अतिथिका लागि १४ वर्षका दुई किशोरलाई आग्रह गरिन्। 

ढाका टोपी, चेक कोर्ट अनि कालो पाइन्टमा सजिएका एक जना र निलो कोर्ट पाइन्टमा सजिएका अर्का एक किशोर ड्यासमा पुगेर बसे।

उनीहरु दुईमध्ये एकजनाको नाम थियो ओममणि तामाङ र अर्का एक जना थिए निष्ट भट्टराई। 

यी दुवै जना टेस्टट्युब बेबी (इन भिट्रो फर्टिलाइजेसन, आइभिएफ)बाट जन्मिएका हुन्। 

दुईमध्ये ओममणि नेपालकै पहिलो टेस्टट्युब बेबी हुन् भने भट्टराई चौथौं। भट्टराईभन्दा अघि डा सुशिल कोइरालाका दुई जुम्ल्याहा छोराको जन्म भएको थियो।

ओममणिको १४ वर्ष अघि फागुन २२ गते ओम अस्पतालमा जन्म भएको हो। भट्टराईको भने चैत ४ गते। 

ओममणि सेन्ट जेभियर्समा कक्षा ८ मा पढ्छन् भने निष्ट अक्सिडेन्टल स्कुलमा।

ओममणि तामाङ

कार्यक्रममा ओममणिले भविष्यमा वैज्ञानिक बनाउने योजना रहेको सुनाए भने निष्टले आफ्नो रुची अभिनय र गायन रहेको बताए।

ओममणिकी आमा सन्ध्या तामाङले सन्तान नहुँदा निकै दुःख पाएको बताइन्। उनले सुरुमा आफ्नो तीनवटा बच्चा त्यसै खेर गएको र पछि बच्चा नै नभएको सुनाइन्।

‘हामी निकै तनावमा थियौँ,’ उनले भनिन्, ‘त्यसपछि डा भोला रिजाललाई देखाउँदा उहाँले टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउनु पर्ने सुझाब दिएपछि हामीले यो प्रविधि प्रयोग गरेका हौँ।’ उनले नेपालमा नै उक्त प्रविधिको सुरुवात आफूहरुबाट नै हुन पाउँदा निकै खुसी लागेको पनि बताइन्।

ओममणिका बुबा राजेन्द्रले पनि टेस्टट्युब प्रविधि धेरै आमाबुबाका लागि बरदान भएको बताए।

कार्यक्रममा डा भोला रिजालले पहिलो पटक ओममणिको जन्म हुँदा धेरले विश्वास नै नगरेको सुनाए। 

‘शल्यकक्षबाट ओममणिलाई लिएर म बाहिर आउँदा सबै चकित परेका थिए,’ उनले सुनाए, ‘त्यसबखत अस्पतालको उक्त कक्ष बाहिर डा ओशक बास्कोटा पनि आउनु भएको रहेछ, उहाँले आएर मलाई आंगालो मार्नु भयो । त्यो एक ऐतिहासिक क्षण थियो।’

के हो टेस्ट टुयुब बेबी ?
यो प्रविधिमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर  प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ ।

पाठेघरको नलीमा समस्या भएका महिलाहरुको शरिरबाट निकालीएको डिम्ब र शुक्रकिट बन्ने समस्या भएका पुरुषबाट निकालिएको शुक्रकिटलाई संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर भ्रुण तयार पार्ने प्रक्रिया शुरु गरीन्छ । सामान्यअवस्थामा वा प्राकृतिक रुपमा डिम्ब र सुक्रकिटको मिलन भएर भ्रुण बन्ने प्रक्रिया महिलाको पाठेघरको नलीमा हुने गर्दछ । तर विभिन्न कारणले महिलाको नलीमा समस्या आएपछि यो प्रक्रियामा जाने गरिन्छ ।

यो प्रक्रिया ३६ देखी ४८ घण्टामा हुन्छ । तर नलीमा समस्या हुँदा यस्तो प्रक्रिया नहुने भएका कारण बच्चा बस्न सक्दैन । महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई सिसाको ट्युबमा गर्ने पक्रिया नै टेस्टट्बु बेबीको प्रक्रिया हो । यो प्रक्रिया जम्मा ३६ देखी ४८ घण्टाको हुन्छ ।

पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भु्रण तयार गरिन्छ । यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको पाठेघरको भित्तामा नै लगेर राखिन्छ ।

त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्दछ । यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो । 

तर अझै पनि हाम्रो समाजमा टेस्टटुयब बेबी भनेपछि सिसाभित्र नै बच्चा तयार पारेर निकाल्ने भन्ने भ्रम रहेको छ। वास्तवमा त्यस्तो होइन, पाठेघरको नलीमा भ्रण फर्टिलाइज हुने ३६ घण्टाको प्रक्रियालाई बाहिर नै फर्टिलाइज गरेर उक्त भ्रुणलाई महिलाको पाठेघरमा नै राखेर बच्चा जन्माउने प्रक्रिया हो । 

निष्ट भट्टराई

महिलाको पाठेघर पूरा बन्द भएका, अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुने समस्या भएका महिलाहरुमा यो विधि अनुसार बच्चा जन्माउने गरिन्छ । 

आईभीएफ गर्नुपूर्व महिलाको सम्पूर्ण जाँच गरिन्छ । महिनावारी नियमित भए नभएको, गर्भपतन गरे नगरेकोजस्ता विभिन्न कारणले गर्भ नरहेको हुनसक्छ । महिलाको पाठेघरमा ट्युमर भएमा पनि गर्भ रहदैन । महिलाको अवस्था सम्पूर्ण ठीक भएपनि पुरुषको खराबीले पनि बच्चा नहुन सक्छ । पाठेघरको २ वटै नली बन्द भएमा पनि बच्चा हुँदैन ।

बच्चा हुनका लागि कम्तीमा पनि एउटा नली खुलेको हुनुपर्छ । अण्डा निस्कने प्रकृया महिनैपिच्छे भैरहेको हुन्छ । यदि अण्डा नै बनेन भने वा सानो (पोलिसिस्टिक ओभरी डिजिज) भए आईभीएफ विधि अपनाउनुपर्ने हुन्छ । सबै ठीक भएपनि ४० वर्षको उमेर हुँदासम्म पनि बच्चा नभए विभिन्न हर्मोनको जाँच गरी आईभीएफ गर्न सकिन्छ ।

कस्तो हुन्छ प्रक्रिया ? 

महिलाको पाठेघर सबै ठिक छ, तर पूरुषको सुक्रकिटमा समस्या छ भने त्यस्तो समस्यामा आइयुआई विधि अपनाइन्छ । यो विधि भनेको पाठेघरमा सोझै पुरुषको सुक्रकिट राख्ने विधि हो । तर यो विधिको सफलता दर भने कम छ । यो विधिबाट पनि बच्च नभएकालाई मात्र आइभिएफ विधिमा लगिन्छ ।

आइयुआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइदैंन । त्यसकारण सुरुमा महिलाको छनोट गर्नुपर्ने हुन्छ । महिलाको छनोट गरेपछि सानो–सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरु दिइन्छ । त्यसपछि हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउण्ड गर्नुपर्छ । 

महिनावारी भएको २ दिनमा र ६÷७ दिनमा पुनः जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ । अण्डा बनेमा एचसिजि भन्ने इन्जेक्सन दिइन्छ । त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ ।

यसरी निकालिएको महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युवेटरमा राखिन्छ, जहाँ निशेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ  । यसरी बनेको भ्रुणलाई करिब ३६ देखी ४८ घन्टाका बिचमा महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । र सामान्य अवस्थामा झै आमाको कोखमा बच्चा हुर्कन्छ र ९ महिनापछि बच्चा जन्मन्छ ।
 

सबै तस्बिर : निमेश जंग रार्इ

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live