विचार/ब्लग

ब्लग : योग्यतामाथि सरकारको व्यंग्य

 डा टीकाराम भण्डारी

काठमाडौं-

'मान्छे राजनीतिक प्राणी हो भनेर कतै सुनेको थिएँ। यहाँ त जताततै राजनीति मात्रै छिर्यो। हावामा, माटोमा, मान्छेमा, स्कुलमा, विश्वविद्यालयमा, न्यायालयमा। अस्पतालमा समेत राजनीति देख्दा दिक्क लगेर आउँछ। 

बचाउनुपर्ने/बचाउन मिल्ने बिरामी हिजो हेर्दाहेर्दै मर्‍यो। यो विकट गाउँमा सरकार कहिले पुग्छ होला? यी स्वास्थ्य केन्द्रहरु कहिले ठूला अस्पताल बन्लान्? सामान्य औषधिसमेत पुर्‍याउन कति गाह्रो हो यो सरकारलाई। मन्त्रीलाई तलब भत्ता त बाँडेको बाँड्यै छ, केन्द्रमा सरकार। कम्तीमा केही उपकरण त चाहिन्छ नि, खाली गाउँगाउँमा डाक्टर पठाउँछु भनेर फलाक्दै छ। कठै मेरो देश! कम से कम मेरो योग्यता अनुसार मलाई स्रोत र साधन उपलब्ध गराए पनि निकै फरक हुन्थ्यो। डाक्टरले साधन नभएर बिरामी मरेको हेर्नु दु:खलाग्दो हैन र?'  

दुर्गमबाट साथीको यस्तो पोस्ट पढे। 

सबैको व्यथा उस्तै  छ यहाँ। निकै शिथिल महसुस गरेँ।

यो महिना निकै खराब चल्यो। पहिला त यस्तो लाग्दैनथ्यो। घरभेटीले दुई महिनाको भाडा अहिलेसम्म नदिने भनेर निकै किचकिच गरे। किराना पसलको साहुले आज छोरीलाई चाउचाउ नदिईकन पठाएछ। 'पैसा लिएर आऊ अनि मात्र दिन्छु' रे। उधारो नदिने रे। छोरीले स्कुलको बिल लिएर आएको पनि एक हप्ता बित्यो। अब बिल नतिरे परीक्षामा सहभागी हुन नदिने रे। 

युरोपबाट साथीले फोन गरेर 'युरोप घुम्न आइज' भन्दा ममाथि नै मजाक गरेझैं भयो। श्रीमतीले इन्टरनेटमा अनलाइन सपिङ हेर्दै 'आहा कति राम्रो साडी' भन्दै मलाई देखाउँदा मन खिस्रिक्क भयो। मोटरसाइकलको मासिक किस्ता बुझाउन जाँदा अफिसरले 'डक्टर सा'ब अब त गाडी लिनुस्' भनेको सुन्दा कम्पारो तातेर आयो। लामो समयपछि भेट भएकी गाउँले फुपूले घर घडेरी जोडे/नजोडेको सोधिन् र आफ्नो छोरो मेरो स्कुले साथीले घर किनेर अब काठमाडौं सर्न लागेको बताइन्। 

हरेक साँझ जाने बिजुलीबाट आजित भएकी मेरी छोरीले होमवर्क गर्नका लागि 'बाबा हामी पनि इन्भर्टर ल्याउने' भनेर जिद्दी गरी। आफूले गरेको काम यसो देखाऊँ भनी अन्तर्राष्ट्रिय सम्मेलनमा जाने विचार गरेको रजिस्ट्रेसन पैसा सुनेर चुप भएँ। राम्रो जर्नलमा आर्टिकल प्रकाशित गरुँ भनेर हेरेको प्रोसेसिङ फी सुनेर त्यहाँ पनि तर्सिनुपर्योज। गरिब मुलुकलाई पाइने वेबर कतै पाइन्छ कि भनेर खोज्दै हैरान भएँ।

गुड फ्राइडे, कुनै इभेन्ट पार्टीमा सामेल नभएको त धेरै भइसक्यो। आफन्तले अब त आउँदै आउँदैन भनेर बोलाउन पनि छोडिसके। गाउँमा मन्दिर बनाउन भनेर आर्थिक सहयोगको लागि आएको पत्रको जवाफ दिन पनि सकिनँ। केही आम्दानी भइहाल्छ कि भनेर पसलपसल चहार्ने झोले हुनबाट आफूलाई फेर्न सकिएन। गाउँको नेता भाइले नेताको तागत बेलाबेला देखाएर झस्काउँछ र भन्छ 'दाइ सरुवा गर्न परे भन्नुहोला, माथिसम्मै पहुँच छ।' पहिलापहिला त केटाकेटीहरुलाई धेरै पढ्नुपर्छ भन्थे। अचेल त्यसो भन्न पनि मन लाग्न छाडिसक्यो। हुन त पढेर के हुन्छ र? पैसा कमाइने हैन सबैले भन्न थालिसके।  

फेरि, उही दुर्गमको साथीको कुरा सम्झिएँ। ऊ अगाडि लेख्छ :

'एक कक्षादेखि एसएलसीसम्म म सधैं पहिला हुन्थेँ र मपछि दोस्रो हुने मेरो साथी अहिले अमेरिकाको राम्रो कम्पनीमा जागिर गर्छ। क्याम्पस पढ्दा पढाइमा मेरोपछि हुने साथीहरु अहिले युरोपमा छन्। मैले छात्रवृत्तिमा एमबिबीएस पढ्दा पढाइमा मेरोपछि हुने केही साथीहरु अस्ट्रेलियामा छन्। मैले देशकै प्रतिष्ठित संस्थामा विशेषज्ञता पिजी पढ्न नाम निकाल्दा विदेश जाने सोच बनाएका केही साथीहरु अमेरिकाका ठूला डक्टर भइसके र स्पोन्सरसिपमा पढेका मित्र काठमाडौंका नाम चलेका अस्पतालका हाकिम भइसके। 

कुनै सिर्जनात्मक काम नगरेको मान्छे पद, पावर र अकूत पैसाको मालिक भइसकेको टुलुटुलु हेर्नुपरेको छ। देशमै जग्गाको दलाली गर्नेहरु घरगाडी जोड्दै महिनामा एकचोटि विदेश सयर गर्ने भइसके। अहिलेसम्म दुर दुर्गममा गई देशको सेवा गर्न कस्सिएको मलाई, मेरो ज्ञानलाई काम गरेबापत यति कम सेवासुविधा दिएर, एकेडेमिक वृद्धि विकास रोकेर, काम गर्नको लागि सुरक्षित वातावरण तयार नगरेर, आवश्यक आधारभूत उपकरण, मानव तथा अन्य स्रोतसाधन उपलब्ध नगराएर कहिलेसम्म म र मेरो योग्यतामाथि व्यंग्य गरिरहन्छ सरकार? मेरो आसय बुझ्छस् कि म पनि पलायन हुँ सरकार?' 

बैराहरुका सामु चिच्याएर केही हुन्छ र? प्रश्न अनुत्तरित थियो।

(तिलोत्तमा-१७, रुपन्देही)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने