विश्व स्वास्थ्य

दैनिक एक अण्डा खानाले मुटु रोगको खतरा कम : अध्ययन

 सुुसन स्कुट्टी, सीएनएन

बेइजिङ– दैनिक एउटा अण्डा खानाले मुटु रोगको खतरा कम हुने एक अध्ययनले देखाएको छ। चीनमा ४ लाख वयस्क मानिसमा गरिएको अध्ययनमा यस्तो देखिएको हो। 

दैनिक एक अण्डा खानेमा मुटुजन्य रोग (हृदयाघात तथा स्ट्रोक) बाट मृत्यु हुने खतरा १८ प्रतिशत कम हुने तथ्य हर्ट जर्नलमा प्रकाशित गरिएको हो। सामान्य भाषामा मुटुरोग भनिने रोगमा हर्ट फेल, मुटुको भल्भको समस्या तथा हृदयाघातलगायत पर्छन्। उच्च रक्तचाप, अति मोटोपना, ब्लड सुुगरको तह बढ्नेलगायतका समस्याहरु अस्वस्थकर खाना, शारीरिक सक्रियताको कमी र मदिरा सेवनबाट निम्तने विशेषज्ञको भनाई छ। 

विगतमा चिकित्सकहरु नै बिरामीलाई धेरै अण्डा खान नहुने सल्लाह दिन्थे। अण्डामा उच्चमात्रामा प्रोटीन र अन्य पोषक तत्व हुन्छन्। यसका साथै उच्चमात्रामा कोलेस्टेरोल हुने भएकाले यसलाई हानिकारक मानिन्थ्यो। 

बेइजिङस्थित पेकिङ युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक कान्किङ युका अनुसार विगतमा गरिएका अध्ययनमा प्राप्त मुटुरोग र अण्डाबीचको सम्बन्धबारेका तथ्य विवादास्पद थिए । किनभने सीमित सूचना र थोरै नमूनामा अध्ययन गरिएका हुन्थे। यहीकारण उनीहरुले चीनका १० क्षेत्रका करिब ५ लाख जनसंख्यामा अध्ययन गरेका हुन्। उनीहरुले क्यान्सर, मुटुरोग तथा मधुमेह नभएका ४ लाख १६हजार २ सय २३ मानिसलाई अध्ययनमा सामेल गराएका थिए। 

तीमध्ये ३० देखि ७९ वर्ष उमेर समूहका १३ प्रतिशत मानिसले दिनको एउटा अण्डा खाने गरेका थिए । अध्ययनकर्ताहरुले ती मानिसको स्वास्थ्यको ९ वर्षसम्म निगरानी गरेका थिए  र तिनीहरुलाई हृदयाघात, स्ट्रोकलगायत हुन्छ कि हुँदैंन भनेर केन्द्रित भएका थिए। 

चीनमा मुटुुरोग मृत्युको प्रमुख कारण हो। मुटु रोगबाट प्रभावित आधाको मृत्यु हुने  गरेको छ। 

अध्ययनमा सामेल गराइएकामध्ये ९ हजार ९ सय ८५ मानिसको मृत्यु मुुटुु रोगका कारण भएको पाइएको थियो भने ८४ हजार मानिसमा कुनै न कुनै खालका मुटुरोग भएको पाइयो। यो तथ्यांक विश्लेषण गरेर अनुसन्धानकर्ताहरुले दैनिक एक अण्डा खानेमा मुटुरोगको खतरा कम हुने निष्कर्ष निकालेका हुन्। यसअनुसार दैनिक एक अण्डा खानेमा हेमोर्याजिक स्ट्रोक हुने खतरा २६ प्रतिशतले कम भएको पाइएको थियो। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने