प्रोफाइल

सुलभ स्वास्थ्य  सेवाका हिमायती

स्वास्थ्यखबर

उपचार सेवा महँगिदै गइरहेको छ। यससँगै राम्रा डाक्टर र गरिब बिरामीबीचको दूरी बढ्दै गइरहेको छ। केही डाक्टर छन्, जो अझै पनि चिकित्सालाई सेवाकै रुपमा लिइरहेका छन्। उनीहरुकै कारण गरिब बिरामीको पहुँचबाट उपचार सेवा धेरै पर भाग्न पाइरहेको छैन। यिनै मध्येका एक हुन्, डा. गुणराज पौडेल।

जो ‘जीवन जोगाउन महंगो उपचार नचाहिने’ कुराका पक्षधर हुन्। त्यसैले उनी आकर्षक पारिश्रमिक दिने निजी अस्पतालको ‘अफर’ लत्याएर सरकारी अस्पतालमा सेवा दिन कम्मर कसेर लागेका छन्। 

चितवनस्थित भरतपुर अस्पतालमा आफैं न्युरोसर्जरी सेवाका लागि संरचना बनाएर उपचार सेवा दिइरहेका उनको नाम दुनियाँमाझ चर्चित बनिसकेको छैन। तर, उनको सर्कलमा भने चर्चा हुन थालिसकेको छ। किनभने उनको सोच छ, ‘न्युन आय भएका बिरामीले न्युरोको उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने अवस्था आउनुहुन्न।’

त्यही सोचको कुरा गरौं। उनी न्युरोमा जीवनरक्षार्थ गरिने सर्जरी हल्ला गरेजस्तो महंगो नहुने भनिरहन्छन्। उनी भन्छन्, ‘जीवनरक्षार्थ गरिने न्युरोसर्जरी त्यति महंगो हुँदैन। आधारभूत संरचनामै सर्जरी सेवा दिएर जीवनरक्षा गर्न सकिन्छ।’

000

नेपालमा महंगो उपचार सेवामध्ये एक न्युरोसर्जरी पनि मानिन्छ। उनको यो भनाईले आर्थिक अभावमा उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने अवस्थाका बिरामीका लागि राहत मिल्छ। उनी भन्छन्, ‘बाहिर असाध्यै महंगो हुन्छ भन्ने भ्रम फैलाइएको छ। सत्य त्यो होइन।’ 

उनका अनुसार राम्रोभन्दा राम्रो ‘सेटअप’ (संरचना)मा उत्कृष्ट उपचार दिइनु नराम्रो होइन। तर उपचार गर्ने ठाउँको ‘सेटअप’कै कारण महंगो भएर उपचार नपाउने अवस्था बन्नु ठीक कुरा होइन।

महंगा उपकरण मात्रै गुणस्तरीय सेवाका मानक होइनन्, मानवीय दक्षताका सहायक हुन् भन्ने उनको मान्यता छ। यसैलाई महसुस गरेर उनले सरकारी अस्पतालमै सेवा दिने लक्ष्य लिएका हुन्। 

उनी आउनुअघि भरतपुर अस्पतालसँग न्युरो सर्जरीको कुनै संरचना थिएन। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे तीन वर्षदेखि न्युरोसर्जरी सेवा दिइरहेका उनले नै चितवनमा सेवा दिने रुची देखाएपछि संरचना तयार गरिएको हो।

चितवनमा निजी स्तरबाट सञ्चालित अस्पतालमा न्युरोसर्जरी सेवा थियो र उनलाई पनि त्यहीँ काम गर्ने अफर आएको थियो।

तर, निजी स्वास्थ्य संस्थामा आफूले चाहेअनुसार उपचार सेवा दिन सकिँदैन भन्ने उनले पहिल्यै महसुस गरिसकेका थिए।

उनी भन्छन्, ‘चिकित्सा पेशा सेवाका लागि पनि रोजिएको हो। निजी संरचनामा सेवा गर्ने अवसर पाइने मैले देखिनँ।’

केही मेडिकल कलेजबाट पनि उनलाई कामको अफर आएको हो। आफूले सिकेको सीप हस्तान्तरण गर्ने उनको रुची पनि छ। तर, निजी स्तरबाट खोलिएका मेडिकल कलेजमा पनि केही सीमितता उनले देखेका छन्।

उनलाई लाग्छ, ‘आफूले भनेअनुसार होइन, कसैले भनेअनुसार गर्नुपर्छ, जुन मेरो स्वभावसँग मिल्दैन।’

000

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो संस्थामा काम गरेकाले पनि उनलाई निजी स्वास्थ्य संस्थातिर काम गर्न जाने जाँगर चलेन।

उनी भन्छन्, ‘न्युन आय भएका बिरामीको उपचार गर्न कोही न कोही त अघि सर्नैपर्छ। म आफैं किन अघि नसर्ने भनेर सरकारी अस्पताल राजेको हुँ।’

यो वर्गसँग उनको आफ्नै भावनात्मक सम्बन्ध पनि छ।

उनी आफैं पनि उच्च आर्थिक हैसियत भएको परिवारका होइनन्। भारतीय सिपाही बुवा उनको जन्म हुँदा अवकाश प्राप्त गरेर चितवनको भोजाडमा खेतीकिसानी गर्थे।

यो हिसाबले उनी किसानका सन्तान थिए।

पढाइमा उनको लगाव थियो। यही कारणले उनलाई चिकित्सा पढ्ने बाटो सहज भइदियो।  पढाइ राम्रो भएकै कारण उनले डाक्टर वा इञ्जिनियर बन्ने लक्ष्य सानैमा बनाएका थिए। ठूलो भएपछि साथीहरुको सल्लाहमा उनले चिकित्साको बाटो रोजे। 

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नाम निकालेर उनले सन् २००२ मा एमबिबिएस काठमाडौं मेडिकल कलेजबाट पूरा गरे।

एसएलसी आदिकवि भानुभक्त मावि चितवन र आइएस्सी वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट गरेका हुन्। 

एमबीबीएसपछि दुई वर्ष उनले  मेडिकल अफिसरका रुपमा काठमाडौं मेडिकल कलेजमै काम गरे। त्यसमध्ये एकवर्ष सर्जरी विभागमा उनले सेवा दिए। यही एक वर्षे सेवाले उनलाई सर्जरीप्रति रुची बढाइदियो। विशेषज्ञता सर्जरीमा हासिल गर्ने लक्ष्य लिए। यसका लागि नेपालमा सीमित कोटा हुन्थ्यो।

उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फ्याकल्टी विकासका लागि एउटा कोटा छुट्याएको थाहा पाए।

पाँच वर्ष अनिवार्य सेवा दिनुपर्ने उक्त कोटाका लागि परीक्षा दिए र छानिए। यसरी सन् २००९ मा उनले सर्जरीमा विशेषज्ञता हासिल गरे। 

दुईवर्ष जनरल सर्जनका रुपमा काम गर्दैगर्दा उनलाई न्युरोसर्जरी आफ्नो स्वभाव सुहाउँदो विशेषज्ञता लाग्यो।

उनी भन्छन्, ‘जीवन रक्षाका लागि गरिने न्युरोसम्बन्धी सर्जरी सामान्य संरचनामै गर्न सकिन्छ।’

उनलाई मुटुको शल्यक्रियामा विशेषज्ञता हासिल गर्ने सोच पनि नआएको होइन।

तर, मुटुको शल्यक्रियाका लागि सामान्य संरचना भएर मात्रै पुग्दैन। यसकारण अरुमा निर्भर हुनुपर्ने महसुुस उनले गरे। उनलाई लाग्यो, ‘न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेर न्युन आय भएकाहरुलाई उपचार सेवा दिन सकिन्छ।’

काठमाडौं युनिभर्सिटी अन्तर्गतको नेशनल इन्सिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेजबाट उनले सन् २०१४ मा एमसिएच (सर्जरीमा पिएचडीसरह) गरेका हुन्। न्युरो सर्जरीमा एमसिएच गरेपछि उनी फेरि धरान फर्किए।

फ्याकल्टी विकास कोटाअन्तर्गत पढेका उनको ३ वर्ष बोन्ड पूरा गर्न बाँकी थियो। तीन वर्षभन्दा केही समय बढी काम गरेपछि आफ्नै जन्मभूमिमा सेवा दिने इच्छा पलायो उनमा। त्यहीअनुसार भरतपुर अस्पताल आफ्नो सेवाका नयाँ गन्तब्य बनाए। 

धरानमै रहँदा सुरुवाती अवस्थामा उनले केही जोखिम मोले। त्यसले पनि उनलाई ‘म सक्छु’ भन्ने बनाइदियो। उनी सम्झन्छन्, एक ३० वर्षे महिला। जसको उनले आफ्नै नेतृत्वमा ब्रेन ट्युमरको अप्रेशन गरे। अप्रेशन ठीकठाक भएको थियो।

तर, निको हुने समयमा उनको सम्झिने शक्ति पूर्णतः हरायो। उनी भन्छन्, ‘उहाँ एबीसीडी पनि सम्झन नसक्ने अवस्थामा पुग्नुभएको थियो तर उपचारकै क्रममा ४ महिनापछि सवै ठीक भयो।’ अहिले पनि भेट्न आइरहने उनी डा. पौडेलका लागि हौसला बनिरहेकी छिन्। 

त्यसपछि भारतबाट आएकी एक युवतीको बाध्यात्मक शल्यक्रिया गर्नुपरको थियो। ब्रेनभित्रको भागमा हुने पाइनल ग्लान्डको ट्युमरको शल्यक्रिया गर्दा उनले ठूलो जोखिम मोले। उनी सम्झिन्छन्, ‘भारतबाट उपचारका लागि आएकी थिइन्। उनको आर्थिक अवस्थाले रिफर गरेर पठाउँदा कहीँ जान सक्ने थिइनन्।  

यसको शल्यक्रिया मैले पढाइको अवधिमा हेर्नसमेत पाएको थिइनँ।’ उनले आफ्नो पढाइ र अन्य शल्यक्रियाको अनुभव मिसाएर उक्त जोखिम मोले। त्यो पनि सफल भयो। त्यो सफलताले दिलाएको आँट बोकेर उनी निरन्तर अघि बढिरहेका छन्। 

000

चितवन आएको एक महिनामै उनले न्युरोसम्बन्धी शल्यक्रिया थालेका हुन्। खासगरी सामान्य संरचनामै शल्यक्रिया गर्नसक्ने उनको बानीका कारण यो सम्भव भएको हो।

सरकारी अस्पतालसँग धेरै कुराको कमी हुन्छ। अप्रेशन थिएटर, थिएटरमा राम्रा उपकरण र जनशक्ति अभाव मुख्य हुन्। तर, उनले यी कुरामा सहजीकरण गरेर न्युरोसम्बन्धी नेपालमा हुने अधिकांस शल्यक्रिया सेवा त्यहीँ दिन सफल भएका छन्।

उनी भन्छन्, ‘केही लिमिटेसन त हामीसँग छन्।  अत्याधुनिक उपकरण चाहिने र धेरै जनाको टीम चाहिने बाहेकका शल्यक्रिया अहिले गरिरहेका छौं।’

भरतपुर पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु भएकाले पनि उनलाई सडक दुर्घटनाका घटना धेरै आउने अनुमान थियो। अहिले आफैंले काम गरेपछि थाहा पाए,  ‘बिरामीमा पनि सिन्डिकेट रहेछ। तेस्रो पक्षले उपचारको पैसा तिर्ने बिरामीहरु सरकारीभन्दा बढी निजीमा रिफर हुन्छन्।’ 

यो अवधिमा आफैं लडेर घाइते भएका, आफैंले उपचारको खर्च बेहोर्नुपर्ने र केहीदिन पर्खेर शल्यक्रिया गर्नुपर्ने बिरामी धेरै आउने गरेको उनले पाएका छन्। पछिल्लो समय भने अन्यत्रभन्दा राम्रो र सस्तो भनेर उपचारका लागि यहाँ पुग्ने पनि बढेको देखेका छन्। 

दुई ठूला निजी मेडिकल कलेजको बीचमा रहेको अस्पतालसँग त्यसबाहेकका चुनौती पनि छन्। यसै पनि सीमित स्रोत साधनमा चलेको अस्पतालसँग जनशक्ति अभाव पनि छ। तर उनले अस्पतालसँग जोडेर केही सपना देखेका छन्।

कुनै दिन न्युरो शल्यक्रियाका लागि भरतपुर मुख्य गन्तव्य बन्ने अपेक्षा गरेका छन् उनले। त्यसका लागि संघर्ष गरिरहेका छन्।

भन्छन्, ‘साथ र सहयोग पाएँ भने त्यो दिन आउने धेरै समय लाग्दैन।’ 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live