विराट मेडिकल कलेज विराटनगरले विद्यार्थीसँग गैरकानुनी रुपमा रकम असुलिरहेको पाइएको छ। शुल्क बुझाउन विलम्ब हुने अवस्थामा कलेजले ७३ प्रतिशत ‘मिटर ब्याज’ असुलेको अभिभावकले गुनासो गरेका छन्।
जनवरी ३१ भित्र शुल्क नबुझाउनेसँग कलेजले प्रति ५० हजारमा दिनको एक सय रुपैयाँ अतिरिक्त असुल्ने गरेको हो। विभिन्न कारण उक्त मितिभित्र शुल्क नतिरेका विद्यार्थीलाई १५ दिनदेखि पढ्न, क्लिनिकल पोस्टिङ र परीक्षामा निषेध गरिएको उनीहरुका अभिभावकले गुनासो गरेका छन्।
पूर्व सूचनाबिनै विलम्ब शुल्क ७३ प्रतिशत असुल्न खोजिएकाले आफूहरु पीडित भएको भन्दै उक्त मेडिकल कलेजमा अध्ययनरत ८ जना विद्यार्थीका अभिभावकले काठमाडौं युनिभर्सिटीमा उजुरी गरेका छन्। अभिभावकले उजुरीमा भनेका छन्, ‘अभिभावकलाई शुल्क तिर्ने अन्तिम मितिको पूर्वसूचना र जानकारीबिना उक्त विलम्ब शुल्क असुल्न खोजियो। जबकि अघिल्ला वर्षहरुमा एसएमएसबाट जानकारी गराइएको थियो।’
शुल्क विलम्ब हुँदा ‘मिटर ब्याज’ लगाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिएको बुझिएको छ।
विलम्ब शुल्क लगायतका विषयमा विभिन्न गुनासो आइरहेको भन्दै काठमाडौं युनिभर्सिटीले उक्त मेडिकल कलेजसँग स्पष्टीकरण सोधेको छ। बेला–बेला विद्यार्थी र अभिभावकबाट अन्य विषयमा समेत गुनासो आइरहेको बताउँदै उक्त कार्य नरोकिए सम्बन्धन तथा विस्तारित कार्यक्रम नै रद्द गर्ने चेतावनी समेत दिइएको छ।
युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डिन डा दीपक श्रेष्ठ हस्ताक्षरित पत्रमा भनिएको छ, ‘विलम्ब शुल्क लगायतका विषयमा नीतिसंगत स्पष्ट धारणा ३ दिनभित्र पेश गर्नुहोला। यस्तो शुल्क कार्यान्वयन गर्नुअघि विश्वविद्यालयबाट किन स्वीकृति नलिइएको हो, त्यसबारे पनि जानकारी गराउनुहोला।’
विश्वविद्यालयले मेडिकल कलेजलाई तुरुन्तै उक्त कार्य रोकी विश्वविद्यालयको नीति र निर्देशन पालना गर्न सचेत गराएको छ। निर्देशन अटेर गरेमा सम्बन्धन रद्द गर्ने प्रक्रिया अघि बढाइने स्मरण गराइएको छ।