फिचर

‘हिउँदे डाक्टर’ उत्पादन गर्ने एउटा मेडिकल कलेज, जो बर्खामा फेरि बन्द छ

डिबी खड्का

अब्बल डाक्टर बन्ने सपना बोकेर जानकी मेडिकल कलेज जनकपुर झरेको ६ महिना पूरा भएको छैन; आँखाभरि आक्रोश, मनभरि भविष्यको चिन्ता र दिमागभरि सन्देह लिएर काठमाडौं उक्लिएका छन् १४ विद्यार्थी। सँगै छन् उनीहरुका अभिभावक, जसले छोराछोरीको डाक्टर बन्ने सपना पूरा गर्न जीवनभर दुःख गरेर जोडेको घरखेत धितो राखेका छन्।

जानकी मेडिकल कलेज बैसाख १ देखि फेरि बन्द छ। बर्सेनि ५/६ महिना कलेज बन्द गर्ने/हुने परम्परा झैं बनिसकेको छ। यसपल्ट पनि तत्काल खुल्ने कुनै छाँटकाँट नदेखिएपछि उनीहरु समाधान खोज्न राजधानी उक्लेका हुन्। स्थानीय निकाय र सरकार गुहार्दा केही नलागेपछि संघीय सरकारको आँगनमा आएका छन्।

रात गुजार्न उनीहरु गौशालाको धर्मशालामा बिताउँछन्, न्यायको खोजीमा दिउँसो सिंहदरबार छेउछाउतिर टहलिन्छन्। सर्वसाधारणलाई जान दिए पो भित्र छिर्नु? शिक्षामन्त्री र प्रधानमन्त्रीसँग आफ्ना गुनासा राख्न पाइन्थ्यो कि भनेर उनीहरु चिनेजानेका सबैसँग आग्रह गर्छन्। तीन दिन भयो राजधानी छिरेको, तर त्यो अवसर प्राप्त गरेका छैनन्।

भर्खर डाक्टर बन्ने लयमा लागेका उनीहरु मिडियासँग बोल्न डराउँछन्। किनकि परिचय खुल्यो भने मानसिक यातना भोग्नुपर्ने डर छ। एक विद्यार्थी भन्छन्, ‘हाम्रो पढाइ बिग्रियो, कलेज खोल्नुपर्यो भनेर आवाज उठाउँदा राति १२ बजे होस्टेल आएर मानसिक टर्चर दिइयो। जाँड खाएर तथानाम गाली गरियो।’

कलेज बन्द हुने समस्या नयाँ होइन, २०६० सालमा खुलेको कलेजको सुरुवातदेखि नै हालत खराब छ। न अस्पताल राम्ररी चलेको छ, न फ्याकल्टी पुग्दा छन्; न त कर्मचारीका समस्या समाधान हुन्छन्। विद्यार्थीहरु आन्दोलनका लागि काठमाडौं आएको पनि नौलो होइन, यसअघिको ब्याचका विद्यार्थीले पनि पटकपटक सिंहदरबारको गेटसम्म पुगेर नारा लगाएका छन्।

कुनै व्यवस्थापकले कलेजको हालत सुधार गर्न नसकेपछि यसपालि पनि पुरानौ व्यथा दोहोरियो। तलब नदिइएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिए। अस्पताल र कलेजमा तालाबन्दी भयो। तलब पाउन कर्मचारीले गरेको आन्दोलनबाट व्यवस्थापनलाई विद्यार्थी पढाउन फ्याकल्टी खोज्नुपर्ने, अध्ययन सामाग्री जुटाउनुपर्ने लगायतका झन्झटबाट उन्मुक्ति मिल्यो।

विद्यार्थी र अभिभावकका अघि व्यवस्थापक र कर्मचारी सदा एक–अर्कासँग झगडा गरिरहेझैं देखिन्छन्। तर, भित्रभित्रै उनीहरुको मिलमतोमा कलेज बन्द भइरहने गरेको जस्तो लाग्न थालेको छ विद्यार्थीहरुलाई। एक विद्यार्थी भन्छन्, ‘कर्मचारीहरु अरु बेला पूरै तलब नपाएसम्म कलेज खोल्न दिँदैनन् तर जब अनुगमनमा आउने समय हुन्छ, तब व्यवस्थापनलाई सघाउन दौडधुप गरिरहेका हुन्छन्।’

कोटा निर्धारणका लागि नेपाल मेडिकल काउन्सिल र चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को समूह पुग्ने बेला झकिझकाउ पारिन्छ कलेज। सब ठिकठाक चलिरहेको हुन्छ। यो ‘नौटंकी’ काउन्सिल र आइओएमका अधिकारीहरुलाई जानकारी नभएको होइन। तर, उनीहरु नजरअन्दाज गरिदिन्छन्। विद्यार्थीहरुको आशंका छ, ‘उनीहरुसँग पनि व्यवस्थापकको मिलेमतो त भइरहेको होइन!’

जब पढाइ सुरु हुन्छ, विभिन्न बहानामा आन्दोलन हुन्छ। पठनपाठन ठप्प हुन्छ। व्यवस्थापनले तत्काल समस्या समाधान खोज्ने प्रयास गर्दैन। नियामक निकायका अधिकारी जानकार छन्। तर पनि कलेजले कोटा पाइरहेकै छ, विद्यार्थीहरु डाक्टरी पढ्न त्यहाँ पठाइएकै छन्।

नयाँ भर्ना लिने बेला म्यानेजिङ डाइरेक्टर एउटा हुन्छन्। उसले विद्यार्थीलाई काउन्सिलिङ गर्दा भन्छन्, ‘पहिलेका जस्तो हुँदैन। हामी अब्बल डाक्टर बन्ने ग्यारेन्टी लिन्छौं। सब सुध्रिइसक्यो।’

अहिलेको ब्याचका ४० जनालाई काउन्सिलिङ गरेर भर्ना लिने बेला म्यानेजिङ डाइरेक्टर अशोक पाण्डे थिए। कलेज बन्द भएपछि विद्यार्थीले उनलाई दुखेसो भरिएको म्यासेज पठाए। उनले म्यासेजमै प्रतिउत्तर दिए, ‘सरी, मैले कलेज छाडिसकेँ।’ अहिले जो त्यो पदमा छन्, उनी भन्छन्, ‘हामी समस्याको समाधान खोजिरहेका छौं। यो कलेजमा यस्ता समस्या छन् भन्ने थाहा थियो होला त। मैले भर्ना हुनु भनेको हो र!’

कलेजका सञ्चालकलाई फोन गर्छन् विद्यार्थीहरु। ‘म बैंकतिर पैसा खोजिरहेको छु। पैसा मिल्यो भने कर्मचारीलाई तलब दिने हो। खुलिहाल्छ,’ पाउने जवाफ यत्ति हो।

उक्त मेडिकल कलेजमा काम गर्ने अधिकांश फ्याकल्टी र डाक्टरको बानीसमेत बिग्रिसकेको विद्यार्थीहरु बताउँछन्। ‘हरेकको जनकपुरमा क्लिनिक हुन्छ। यता कलेज बन्द हुँदा त्यता समय दिन पाउँछन्,’ एक विद्यार्थीले भने, ‘प्राय: बिरामी धेरै हुअाइपिस नभएको माइक्रोस्कोपने सिजनमै कलेज बन्द हुनुमा कहीँ न कहीँ उनीहरुको हात पनि छ जस्तो लाग्छ।’

बर्खायाममा यसरी अनेक बहानामा बन्द हुने कलेज हिउँदका केही महिना जसोतसो खुल्छ। ‘जानकी मेडिकल कलेज हिउँदे डाक्टर उत्पादन गरिरहेको छ,’ एक विद्यार्थी व्यंग्य कस्छन्, 'हिउँदे डाक्टर भनेको हिउँदका केही महिना मात्रै पढ्ने र परीक्षामा चिट चोरेर पास गर्ने।'

गुणस्तरीय चिकित्सालाई आफ्नो जीवनमरणको एजेन्डा बनाइरहेका डा गोविन्द केसीप्रति पनि बेखुस लाग्छन् विद्यार्थीहरु। उक्त समूहको नेतृत्व गरिरहेका एक जना भन्छन्, ‘हामीले उहाँलाई फोन गर्यौं। म्यासेज पठायौं। कुनै रेस्पोन्स गर्नुभएन।’

जानकी मेडिकल कलेजको अवस्था कहिल्यै नसुध्रिएको बारे डा केसीलाई हेक्का नभएको पनि होइन। ७ वर्षदेखि विद्यार्थीको भविष्यमाथि भइरहेको खेलबाडविरुद्ध बोलिदिए हुन्थ्यो भन्ने आशा उनले पालेका छन्। डा केसीसँग सम्पर्क भएमा भेट्ने ‘सेड्युल’ पनि बनाएका छन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादव २ नम्बर प्रदेशकै भएकाले भेट्न पाए समाधान निस्किन्थ्यो कि भन्ने झिनो आशा पनि छ उनीहरुलाई। उनीहरुले मन्त्रीहरुलाई एउटै लाइन भन्न खोजिरहेका छन्, ‘तपाईंको धरातल जोडिएको प्रदेशको एक  मेडिकल कलेज सदाका लागि बन्द हुन लाग्दैछ। केही त गर्नुपर्यो।’

कलेजको अवस्था कस्तो छ भनेर भैंसी ओत लागिरहेको अस्पतालको इमर्जेन्सी, गाईबाख्रा चरिरहेका मेडिकल कलेजको चउर, डेट एक्सपायर्ड केमिकल र लेन्स नभएका दुरबिन हेर्नुपर्दैन। गुणस्तर बुझ्न अघिल्लो ब्याचको नतिजा काफी छ। ६८ विद्यार्थी सामेल परीक्षामा जम्मा दुई जना मात्रै उत्तीर्ण भए।

यस्तो बिजोग अवस्थामा पनि शैक्षिक कार्यक्रम भने रोकिएको छैन। जबसम्म मेडिकल काउन्सिल र आइओएमका अधिकारीहरु यसैगरी नजरअन्दाज गरिरहन्छन्, त्यो समयसम्म कलेजबाट हरेक वर्ष ‘हिउँदे डाक्टर’ उत्पादन भइरहनेछन्। ‘यसरी बनेका डाक्टर यही समाजमा आउँछौं। त्यसपछि हामीले दिने उपचार सेवा कत्तिको गुणस्तरीय होला?’ एक विद्यार्थीले आफैंमाथि निर्मम प्रश्न गरे।  

अहिले बन्द हुनुको देखावटी कारण १४ महिनादेखि बाँकी रहेको तलब माग गर्दै कर्मचारीले थालेको आन्दोलन हो। आन्दोलनपछि कलेजका दुइटै अस्पताल र क्यान्टिनसमेत बन्द छन्। काठमाडौं आइपुगेकामध्ये एक विद्यार्थीले भने, ‘पढ्ने होइन, बाँच्ने अधिकारबाट पनि वञ्चित गराइएको छ। हामीले खाना पनि खान पाएका छैनौं। क्यान्टिन बन्द हुँदा खाना खान जनकपुर पुग्नुपर्छ।’

कर्मचारी र प्राध्यापकहरु तालाबन्दी गरेर आन्दोलनमा उत्रिएपछि एमबिबिएस अन्तिम वर्षका विद्यार्थीको प्रयोगात्मक परीक्षा प्रभावित भएको छ । जेठ १९ देखि असार ३ गतेसम्म तोकिएको प्रयोगात्मक हुन नसकेपछि डाक्टर बन्नै लागेका ७० विद्यार्थीको भविष्य अन्योलग्रस्त बनेको छ।

विद्यार्थी भन्छन्, ‘कलेज व्यवस्थापन र कर्मचारीहरुको लडाइँ हो कि मिलेमतो, घानमा हामी मात्रै पिसियौं।’

उनीहरुसँगै आएका अभिभावकमा गुनासोसँगै आक्रोश पनि उस्तै छ, ‘कलेज बन्द गरेका कर्मचारीले काम नगरे पनि एक दिन पूरै तलब पाउँछन्। तर, पढ्न नपाएका विद्यार्थीहरुले कहिले पढ्न पाउँछन्?’

प्रथम वर्षमा भर्ना भएका विद्यार्थीले फागुन १४ देखि बैसाख २१ सम्म मात्रै बढ्न पाएका छन्। ३ सयभन्दा बढी विद्यार्थी छात्राबासमै बस्छन् तर बैसाख २१ यता सरसफाइसमेत भएको छैन।

कलेज स्थापना भएको १५ वर्ष बित्यो। ६ पटक व्यवस्थापन फेरिए। अवस्था सुध्रिन सकेको छैन। विद्यार्थीहरु सुध्रिने छाँट पनि देख्दैनन्। यसपल्ट काठमाडौं आएका विद्यार्थीहरुको एउटै माग छ, ‘हाम्रो भविष्यमाथि त खेलबाड भयो–भयो, आउने भाइबहिनीहरुमाथि नहोस्। कि राम्रोसँग चलाउने ग्यारेन्टी होस्, नभए कलेज बन्द गरियोस्।’

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live